रसुवा बाढी अपडेटः तीन प्रहरी युनिट बगायो, सञ्चार सम्पर्क टुट्यो

काठमाडौं । रसुवामा आएको बाढीले तीन वटा प्रहरीको युनिट बगाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद धमलाले बाढीले प्रहरीको तीन वटा युनिट बगाएको जानकारी दिए । उनले केही प्रहरीहरू सम्पर्कविहिन भएको जानकारी दिए । कति संख्यामा प्रहरी सम्पर्क भए यसको पूर्ण विवरण आउन नसकेको उनको भनाइ छ । 'सञ्चार युनिटसँग पूर्ण रुपमा सम्पर्क विच्छेद भएको छ,’ उनले भने,’ हाम्रो कसैसँग सम्पर्क हुन सकेको छैन । फोनमा बोलेको बुझिएको छैन ।' बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । 

बाढीपहिरोपछि चार जिल्लातर्फ जाने सवारीसाधन काठमाडौंमै रोकिए

काठमाडौं । रसुवामा ठूलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं हुँदै रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो । बाढीपहिरोका कारण ती जिल्लामा सडक तथा यातायातमा जोखिम बढेकाले सम्भावित दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको दुईवटा हेलिकोप्टर रसुवामा, स्वास्थ्य टोली अस्पतालमा परिचालित

काठमाडौं । नेपाली सेनाले रसुवाको बाढी पीडितलाई उद्धार गर्न दुई वटा हेलिकोप्टर पठाएको छ । रसुवा जिल्ला अस्पताललाई सहयोग पुर्‍याउन नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम एआइ- १७ त्यसतर्फ गइसकेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार  सेनाको टोली धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित इलाकामा खटिएका छन् । गजुरीस्थित नम्बर ६ बाहिनी अड्डाबाट विपत् व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ। क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।  बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय इलाकामा बसोबास गर्न सबैलाई सतर्कता अपनाउन प्रभावितहरूको उद्धारका लागि सहकार्य गर्न समेत नेपाली सेना अनुरोध गरेको छ । बुधबार बिहान ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्‍याएको सेनाले जनाएको छ ।