रसुवाको नदी किनारमा रहेका बजार बाढीले बगायो

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले रसुवाको नदी तटीय ठूलो क्षेत्रमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अशोक थापाले ठूलो विनाशकारी बाढी आएको र कल्पना गर्न नसक्ने क्षति भएको बताए ।  नदी किनारामा रहेका सबै बस्ती र बजारमा पुरै क्षति पुर्‍याएको उनको भनाइ छ । उनले जनधनको ठूलो क्षति भएको अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरू बगाएको थापाले बताएका छन् ।  आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा तिब्बत क्षेत्रमा आकस्मिक बाढी आएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।

उद्धारमा दुई हेलिकप्टर, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार (आज) बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको जनाएको छ । बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।  तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सम्भावित जोखिममा रहेका अन्य नागरिकलाई पनि सुरक्षित स्थानतर्फ सर्न निरन्तर सूचना प्रवाह भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बाढीका कारण सडकमार्गसमेत जोखिमपूर्ण बनेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेंसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन आग्रह पनि गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल उद्धार, खोज तथा राहत कार्य अघि बढाउन निर्देशन दिएलगत्तै सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरेका हुन् । जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रले सक्रियता बढाएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएका छन् ।  नेपाली सेनाले पनि आफ्ना जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाएको छ । प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।  आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा खोजीमा प्रयोग गर्न निजी कम्पनीका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन् ।

रसुवा बाढीपछि उद्धारका लागि सेना, एपीएफ र प्रहरी परिचालन : बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत र विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आधिकारिक उद्धार सूचनाको प्रतीक्षा गर्न आग्रह गरेका छन्  । बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको उल्लेख गरेका छन् । प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति पठाउने प्रक्रिया सुरु भइसकेको उनले बताएका छन् । उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सक्रिय रूपमा समन्वयमा जुटेको छ । मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस लगायतका निकायसँग समन्वय गर्दै आवश्यक उद्धार र राहतका काम अघि बढाइएको छ । अतिरिक्त एम्बुलेन्स र स्वास्थ्यकर्मी पनि प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको उनले उल्लेख गरेका छन्  । बालेनले रसुवा र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिएका छन् । जोखिममा रहेका बासिन्दालाई एसएमएस र फोनमार्फत सतर्कता सूचना पठाउने काम पनि भइरहेको उनले बताएका छन् । सम्भावित उद्धारका लागि सबै सरकारी हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको र निजी हेलिकप्टर कम्पनीलाई समेत तयारी अवस्थामा रहन भनिएको बालेनले उल्लेख गरेका छन् । उनले केहीबेरमै आवश्यक निर्णयका लागि उच्चस्तरीय बैठक बस्ने जानकारी दिँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न र आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट आउने उद्धार अद्यावधिकको प्रतीक्षा गर्न आग्रह गरेका छन् । बालेनले राहत तथा उद्धारसम्बन्धी थप जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी पनि दिएका छन् ।