रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई बाढी संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले  तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा ठूलो क्षति पुगेको छ ।

रसुवा बाढी अपडेटः घाइतेलाई उपचार गर्न वीर अस्पतालमा सय बेड तयार

काठमाडौं । बाढीमा घाइते भएकाहरूका उपचार गर्न वीर अस्पताल र ट्रमा सेन्टरमा सय वटा शय्या घाइतेका लागि छुट्याइएको छ । बाढीमा घाइते भएकाहरूको उपचार गर्न चिकित्सकहरू तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना डाक्टर र २ जना नर्स प्रस्थान गरेका छन् । स्काउटबाट पाँच जना डाक्टर र नौ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा छन् । स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रभावित क्षेत्रमा एक हजार जनालाई पुग्ने गरी आधारभूत औषधि र २४ स्क्वायर फिटका १५ वटा टेन्ट पनि पठाउने तयारी गरिसकेको छ । प्रभावितहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ । प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ ।  हाल नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन् । आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५मा सम्पर्क गर्न सकिन्छ । बुधबार बिहान ९ बजे रसुवामा आएको बाढीले क्षति गरेको छ ।

मौसम विभाग भन्छ– भोटेकोसी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम अझै कायमै रहेको जनाएको छ । चीनतर्फ नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले जोखिम अझै कायमै रहेको छ ।विभागलाई साढे १ बजे प्राप्त सूचनाअनुसार ताल अझै पनि पूर्ण रूपमा खुल्न सकेको छैन । विभागले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको आसपास तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रहसमेत गरेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको बहावमा आउने परिवर्तनप्रति सतर्क रहन र सम्बन्धित निकायले जारी गर्ने सूचनालाई पालना गर्न विभागले अनुरोध गरेको छ ।