नेपाली सेनाको हेलिकोप्टरद्वारा २३ जनाको उद्धार

काठमाडौं ।  नेपाली सेनाले हेलिकोप्टरमार्फत २३ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार मंगलबार बिहान ११ बजेसम्म हेलिकोप्टरमार्फत थप २३ जनाको उद्धार गरेको सेनाले जनाएको छ ।

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाका टनेलभित्र विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको सेनाले जनाएको छ ।

चिलिमे हाइड्रोपावरको टनेलभित्र करिब ५० मिटरसम्म प्रवेश गरी खोजी कार्य जारी राखेको सेनाले उल्लेख गरेको छ । लाङटाङ हाइड्रोपावरमा करिब १५० मिटरसम्म पुगेर खोज तथा उद्धार कार्य गरिएको सेनाले बताएको छ ।

त्यसैगरी, अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा संयुक्त टोली टनेलभित्र करिब २०० मिटरसम्म प्रवेश गरेको छ । त्रिशूली–३ ए मा टनेलको हेड फेला परेपछि कम्प्रेसरमार्फत हावा पठाउने तथा टनेलभित्रको पानी निकालिरहेको सेनाले जानकारी दिएको छ । 

तीन वटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटरसम्म खोलिएको छ। रक ब्रेकरको सहायताले टनेलभित्र प्रवेश गर्न आवश्यक स्थानमा ढुंगा फुटाइरहेको सेनाले बताएको छ ।

त्यस्तै, त्रिशूली–३बी मा विज्ञसहितको टोली परिचालन गरी टनेलको प्रवेशद्वार पत्ता लगाउने तथा एक्स्काभेटर प्रयोग गरेर भित्रतर्फ खन्ने काम भइरहेको सेनाले उल्लेख गरेको छ ।

विभिन्न जलविद्युत् आयोजनाका क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
उद्धार गरिएकामध्ये रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ए बाट २२१ जना, माथिल्लो त्रिशूली–३बी बाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना तथा देवघाट जलविद्युत् आयोजनाबाट ५ जनालाई उद्धार गरिएको थियो।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्।

Share News