पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन सुरु

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी निधन भइ पोखरा लगिएका १०२ जनाको पोस्टमार्टम प्रक्रियासम्पन्न भएको छ । पोस्टमार्टम गरिएकामध्ये पहिचान हुन नसकेका ७८ वटा शवलाई जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाको समन्वयमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको हो ।

पोखरामा राखिएका १०२ वटा शवहरूमध्ये पूर्वी नवलपरासीका ४१, धादिङका २७, तनहुँका २४ र गोरखाका ११ वटा रहेका थिए । तीमध्ये २४ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी ७८ वटा शव पहिचान हुन बाँकी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी नविन कार्कीका अनुसार पहिचान हुन नसकेका शवहरूको पोस्टमार्टमका क्रममा नै डीएनएन नमूना संकलन गरिसकिएको छ । 

संकलित नमूनाहरूलाई विधि विज्ञान प्रयोगशालामा पठाइने र भविष्यमा आफन्तको सम्पर्क आएमा डीएनए म्याचिङ गराई शव पहिचान गरिने व्यवस्था मिलाइएको छ । बेपत्ता भएका व्यक्तिका आफन्तले नजिकको प्रहरी कार्यालयमा समन्वय गरी रगतको नमूना उपलब्ध गराउन सक्ने र डीएनए मिलेको खण्डमा शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । 

पहिचान नभएका शवहरूलाई पोखरा महानगरपालिका र विपद् व्यवस्थापन समितिले तोकेको सुरक्षित स्थानमा व्यवस्थापन गर्न लागिएको हो । 

उक्त स्थानलाई तारजालीले घेराबारा गरी सुरक्षित राखिने र अनधिकृत व्यक्तिहरूको प्रवेशमा पूर्ण रोक लगाइने एसपी कार्कीले जानकारी दिए । प्रत्येक शवमा ‘युनिक आइडेन्टिफिकेसन ट्याग’ लगाइएको छ, जसले गर्दा भविष्यमा पहिचान भएमा उत्खनन गर्न सहज हुनेछ ।

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण मृत्यु भएका र अंगभंग भएका कारण पहिचान हुन नसकेका शवहरूलाई कास्की ल्याइएको थियो । 

शवहरूको अन्त्येष्टि नगरी सुरक्षित तवरले व्यवस्थापन मात्र गरिएको स्पष्ट पार्दै प्रहरीले यस प्रक्रियालाई वैज्ञानिक र कानूनी विधिअनुसार अगाडि बढाइएको जनाएको छ । –न्युज एजेन्सी नेपाल

Share News