आज विजया दशमी, बिहान १०ः२६ बजे टीकाको उत्तम साइत

काठमाडौं । नेपालीहरूको प्रमुख चाड बडादशैंको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा घरपरिवार तथा आफन्तजन एकत्रित भएर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दैछन् ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ । समितिका अनुसार देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिन्छ । तर, शुभ साइतमा टीका ग्रहण गर्न चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय उपयुक्त रहेको उनले बताएका छन् ।

टीका लगाउँदा कुन दिशातर्फ फर्किने ?

समितिका अनुसार शुभ साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने परम्परा छ ।

दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने धार्मिक मान्यता छ । विजया दशमीका दिन परिवारका सदस्य तथा आफन्त एकै ठाउँमा भेला भएर ठूलाबडाबाट टीका थाप्ने र सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको आशीर्वाद लिने चलन छ ।

रोजगारी, अध्ययन र पेसा–व्यवसायका कारण घरपरिवारबाट टाढा रहेका नेपाली पनि दशैं मनाउन आफ्नो जन्मथलो फर्किने भएकाले यो पर्व पारिवारिक भेटघाट र पुनर्मिलनको विशेष अवसरसमेत बन्दै आएको छ ।

नेपालमा राष्ट्रिय पर्वका रूपमा मनाइने बडादशैंको मुख्य दिन आज टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । कतिपय समुदाय तथा स्थानमा भने कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन कायम छ ।

Share News