काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अत्यावश्यक अवस्थाबाहेक हेलिकप्टर उद्धारको माग नगर्न आग्रह गरेको छ ।
न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकप्टर उद्धारको माग बढ्न थालेपछि प्राधिकरणले सीमित हवाई साधनलाई अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्री ढुवानीमा केन्द्रित गर्न अनुरोध गरेको हो ।
प्राधिकरणले केही वैकल्पिक सडक मार्ग सञ्चालनमा आइसकेकाले सम्भव भएसम्म ती मार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ ।
हेलिकप्टरको स्रोत अत्यावश्यक कार्यमा मात्र प्रयोग हुने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
धादिङतर्फ धादिङबेसी–परैवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्तार (ह्याम्लेट रेष्टुरेन्ट) सम्मको मार्गबाट पृथ्वी राजमार्गमा जोडिन सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार रसुवातर्फ विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग)–कालिकास्थान–धुन्चे जाने मार्ग सञ्चालनमा आएको छ । यो बाटो हाल चारचक्के साना सवारीसाधन चल्न सक्ने अवस्थामा रहेको छ ।
प्राधिकरणले रसुवाको उत्तरगया, गोसाईँकुण्ड, आमाछोदिङ्मो र कालिका; नुवाकोटको तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी; धादिङको गल्छी, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक लगायतका क्षेत्रलाई बढी प्रभावित क्षेत्रका रूपमा सूचीकृत गरेको छ । गोरखा र तनहुँका विभिन्न वडाहरू पनि बढी प्रभावित क्षेत्रमा परेका छन् ।
प्राधिकरणका अनुसार हालसम्म हेलिकप्टरमार्फत २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपाली गरी ३ हजार ५९६ जनाको उद्धार भइसकेको छ।
विपद्को कठिन परिस्थितिमा धैर्य अपनाउँदै सरकारी संयन्त्रलाई सहयोग गर्न प्राधिकरणले आग्रह पनि गरेको छ । थप जानकारी तथा आवश्यक समन्वयका लागि टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।