रसुवा बाढी अपडेटः सयौं मानिस बेपत्ता, फोन सम्पर्क टुट्यो
काठमाडौं । रसुवामा आएको बाढीले सयौं मानिस बेपत्ता भएका छन् । रसुवा गाउँपालिका ६ का वडा सदस्य लाक्पा घलेले बिहान आएको बाढीले सयौं मानिस बेपत्ता भएको जानकारी दिए । ‘हाइड्रोपावरमा काम गर्ने र गाउँका धेरे मानिस सम्पर्कविहिन भएका छन्,’ उनले भने, ‘फोनको नेटवर्क नभएकाले कसैसँग सम्पर्क भएका छैनन् । हामीले सोचेभन्दा ठूलो क्षति भएको छ ।’ हाइड्रोपावरको मेसिनसमेत बगाएको उनले जानकारी दिए । बिस्तारै मौसम खुला हुँदै गएको उनले जानकारी दिए । बेपत्ता मानिसको खोजी कार्य जारी रहेको उनले बताए । ‘कति मानिस बेपत्ता त्यसको जानकारी आएको छैन,’ घलेले भने ।
बाढी प्रभावित क्षेत्रमा पदयात्री तथा पर्यटकलाई नजान गृह मन्त्रालयको आग्रह
काठमाडौं। गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा पदयात्रा तथा भ्रमण नगर्न स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अपिल गरेको हो । विशेष गरी त्रिशूली नदी करिडोर आसपासका रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका क्षेत्रमा भ्रमणमा रहेका वा बसोबास गरिरहेका पर्यटकहरूलाई विशेष सावधानी अपनाउन मन्त्रालयले ध्यानाकर्षण गराएको छ । नदी किनार, पुल तथा होँचा क्षेत्रहरूमा नजान, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशिका पालना गर्न र स्थिति सामान्य नभएसम्म सुरक्षित स्थानमा रहन गृह मन्त्रालयले अनुरोध गरेको छ। गृहमन्त्री सुदन गुरुङले सर्वसाधारण तथा यात्रीहरूलाई प्रभावित राजमार्ग र नदी करिडोरहरूमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरेका छन् । उनले भोटेकोशी र त्रिशूली नदी आसपास तथा मुग्लिनसम्मका तटीय क्षेत्रमा बस्ने बासिन्दा र पर्यटकहरूलाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक भीषण बाढी आउँदा ठूलो क्षति पुगेको छ । बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्तीहरूमा क्षति पुगेको छ भने भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रहरूमा उच्च जोखिम बढाएको छ । बाढी नुवाकोट र धादिङ हुँदै तल्लो तटीय क्षेत्र मुग्लिनतर्फ अघि बढिरहेको अनुमान गरिएको छ । उक्त क्षेत्रमा अहिले क्षतिको विवरण संकलन गर्नुका साथै आपत्कालीन उद्धार तथा राहत कार्यको समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढी : प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक
काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूसहित उच्चस्तरीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले उद्धार कार्यलाई तत्काल तीव्र बनाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेका छन् । सचिवालयका अनुसार विशेषगरी भोटेकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र जोखिम व्यवस्थापनका सबै संयन्त्र परिचालन गरेको जनाएको छ ।