काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर गएको छ ।
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको हो ,
बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली-३ ‘ए’, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रलगायत संरचनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। विभिन्न वितरण संरचनामा समेत क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको हो ।
बाढीका कारण जनधनको ठूलो क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
विद्युत् प्रणालीमा परेको क्षति तथा प्रभावित आयोजनाबारे विस्तृत विवरण आउन अझै बाँकी रहेको छ ।