धरौटीको रकम फिर्ता लैजान १५ दिनको ताकेता

काठमाडौं । काठमाडौं जिल्ला अदालतले विभिन्न मुद्दामा धरौटीबापत जम्मा भएको रकम फिर्ता लैजान १५ दिनको समय दिएको छ । 

अदालतका अनुसार विगतदेखि आर्थिक वर्ष २०८१/८२ सम्म विभिन्न मुद्दाको कारबाहीका क्रममा धरौटी खातामा जम्मा गरिएको रकम फिर्ता पाउने गरी आदेश वा फैसला भई मुद्दाको अन्तिम किनारा समेत भइसकेको जनाएको छ । तर, सम्बन्धित पक्ष रकम फिर्ता लिन नआएको अदालतले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६६ को उपनियम (२) अनुसार मुद्दाको अन्तिम किनारा भएको मितिले एक वर्षभित्र धरौटी जम्मा गरेको प्रमाणसहित सम्बन्धित व्यक्ति वा संस्थाले रकम फिर्ताका लागि निवेदन दिनुपर्ने व्यवस्था छ ।

तोकिएको अवधिभित्र दाबी नपरेमा नियम ६८ तथा प्रचलित कानुनबमोजिम त्यस्तो रकम सदरस्याहा गर्नुपर्ने कानुनी व्यवस्था रहेको अदालतले जनाएको छ ।

अदालतमा दर्ता भई २०८२ साल असार मसान्तसम्म अन्तिम किनारा भएका मुद्दाका पक्षले सम्बन्धित मुद्दामा जम्मा गरेको धरौटी रकम हालसम्म फिर्ता नलिएको भए आवश्यक कागजात तथा प्रमाणसहित १५ दिनभित्र अदालतमा सम्पर्क गरी रकम फिर्ता लिन सक्नेछन् । तोकिएको १५ दिने म्यादभित्र धरौटी रकम फिर्ता लिन नआएमा म्याद नाघेका धरौटी रकम प्रचलित कानुनबमोजिम सदरस्याहा गरिने अदालतले जनाएको छ ।  

Share News