प्रधानमन्त्री कार्यालयको चासोः मिडिया ‘हाउस’ र पत्रकारमाथि प्रहरीको धरपकड

नयाँ पत्रिकाको कार्यालयमा नवराज मैनालीलाई खोज्न पुगेका प्रहरी

काठमाडौं । प्रधानमन्त्री कार्यालयले चासो राखेपछि नेपाल प्रहरीले मिडिया हाउस र पत्रकारमाथि धरपकड गरेको खुलेको छ । नेपाल प्रहरीविरुद्ध भ्रामक र गलत समाचार लेखिएकाले प्रधानमन्त्री कार्यालयले चासो राखेपछि मिडिया हाउसमाथि र पत्रकारमाथि धरपकड गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अबीनारायण काफ्लेले प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धान लगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने भएकाले प्रधानमन्त्री कार्यालयको चासोले प्रहरीले सञ्चारकर्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नुपरेको बताएका छन् ।

सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्यूरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाइ प्रहरीको कार्यसम्पादन अन्तर्गत सोधपुछ गरेको उनले बताए ।

'सत्य र तथ्य सूचनाले सुरक्षित समाजको निर्माण गर्न जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ,’ प्रवक्ता काफ्लेले भने,’ राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध  छ ।'

नेपाल प्रहरी विरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा निरन्तर प्रचार भइरहेको उनले बताए । प्रहरीविरुद्ध झूठा सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारण प्रतिको विश्वास,सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धान लगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने काफ्लेको भनाइ छ ।

त्यसैगरी, तर पत्रकार पक्राउ परेपछि प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दिपा दाहालले पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री र सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको बताएकी थिइन् ।

पत्रकार पक्राउको विषयमा पूर्वजानकारी समेत प्राप्त नभएको उनले प्रस्ट पारेकी थिइन् । पत्रकार पक्राउको जानकारी भएपछि प्रधामन्त्री शाहले  नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएकी थिइन् ।

त्यसैगरी,  प्रहरीले शुक्रबार साँझ नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो । यस्तै, नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयमा पनि पुगेको थियो । पत्रिकाको कार्यालयमा पुगेर पत्रकार नवराज मैनालीलाई खोजिरहेको थियो । 

यसैगरी डीएनए खबरका धिरज बस्नेत र मोटिभेटन्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि प्रहरीले पक्राउ गरेको थियो । दियोपोस्टको कार्यालयमा समेत प्रहरी पुगेका थिए। पत्रकार पक्राउको चौतर्फी विरोध भएपछि पक्राउ भएका सबै सञ्चारकर्मीहरू रिहा भएका थिए ।

null

Share News