काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमा गेम विकास (गेम डेभलपमेन्ट) उद्योगलाई सहज बनाउन आवश्यक नीतिगत सुधार गर्ने बताएका छन् । उनले नेपाली गेमिङ उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै नेपालबाटै विश्वस्तरका कम्पनी विकास गर्न सरकार लाग्ने बताएका हुन् ।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालीले विकास गरेका गेमले विश्वभर लोकप्रियता हासिल गरेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकारले आवश्यक पहल गर्ने बताएका छन् ।
उनका अनुसार विश्वभर चर्चित लुडो गेमले करिब २० करोड डाउनलोड पाएको छ भने कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ । यी दुवै गेम नेपालीले नै विकास गरेका हुन् । अहिले पनि नेपालका सयौँ युवा गेमिङ एप निर्माणमा सक्रिय रहेको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले गेम विकासमा संलग्न कम्पनी तथा युवाहरूसँग छलफल गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिइसकेको उल्लेख गरेका छन् । गेम विकास क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा अघि बढाउन आवश्यक कामको गृहकार्यसमेत सुरु गरिएको उनको भनाइ छ ।
नेपालबाटै विश्वस्तरका ठूला प्रविधि कम्पनी (ग्लोबल युनिकर्न) निर्माण गर्न सहज हुने गरी आवश्यक नियम, नीतिगत व्यवस्था र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने उनले बताएका छन् ।
त्यस्तै, सूचना प्रविधि क्षेत्रका उत्पादन तथा निर्यातको सम्भावना बढ्दै गएको उल्लेख गर्दै सरकारले यस क्षेत्रका कम्पनीलाई सहज रूपमा आम्दानी गर्न र पुनः लगानी गर्न सक्ने वातावरण बनाउने उनको भनाइ छ । यसका लागि करसम्बन्धी व्यवस्था सहज बनाउने, नीतिगत सुधार गर्ने तथा अन्तर्राष्ट्रिय आम्दानीसँग सम्बन्धित केही जटिल नियमलाई थप सहज बनाउने उनले बताएका छन् ।
यसका साथै गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा सूचना प्रविधि क्षेत्रका कार्यक्रमलाई सरकारले लगानी र प्रोत्साहन गर्ने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
सूचना प्रविधि क्षेत्र, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित छलफल तथा अन्तरक्रियाको व्यवस्था गरिने पनि उनले बताएका छन् । समग्र सूचना प्रविधि उत्पादन तथा गेमिङ उद्योगको विकासमा सहयोग पुग्ने वातावरण निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ छ ।