काठमाडौं । सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको छ ।
आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरिएको जानकारी दिएको हो ।
नयाँ ठेक्का प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये प्राविधिक रूपमा योग्य ठहरिएका तीनवटा कम्पनीको आर्थिक प्रस्ताव आगामी सोमबार (कात्तिक १६ गते) खोल्ने अन्तिम तयारी भइरहेका बेला आयोजनाले यो अप्रत्यासित निर्णय लिएको हो ।
आयोजनाद्वारा प्रकाशित सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) बमोजिम बोलपत्र रद्द गरिएको उल्लेख गरिए पनि ठेक्का रद्द गर्नुको विस्तृत र स्पष्ट कारण भने खुलाइएको छैन ।
यसअघि बाँध र विद्युत् गृह निर्माणको जिम्मा पाएको रमण-पटेल संयुक्त उपक्रमले काममा अपेक्षित प्रगति गर्न नसकेको भन्दै आयोजनाले २०८२ कात्तिक २५ गते साविकको ठेक्का तोडेको थियो ।
त्यसपछि बाँकी रहेका अधूरा कामहरूलाई निरन्तरता दिनका लागि पुनः नयाँ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए तापनि सो प्रक्रिया समेत रद्द भएपछि आयोजना निर्माण कार्य थप अन्योलमा परेको छ ।
उक्त आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाल र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरियालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो ।
