पहिरोका कारण ५ स्थानका सडक अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका प्रमुख सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । 

गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित बुढीगण्डकी नदीमा रहेको फलामे मोटरेबल पुल बाढीले बगाएपछि ती दुई वडाहरूबीचको सडक सम्पर्क विच्छेद भएको छ । 

यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित पिन्थली र वडा नं ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ भने सुर्खेतको बराहताल गाउँपालिका-७ स्थित औलिसेमा सुक्खा पहिरो खस्दा कर्णाली राजमार्गको यातायात सेवा पनि ठप्प भएको छ । 

यसैबीच, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्ति लोकपथमा रातिको समयमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

Share News