कालो चिया खुवाउने भन्दै पत्रकार पक्राउ, प्रहरीले पत्रकारलाई भन्यो–प्रधानमन्त्री कार्यालयको आदेश छ

काठमाडौं । संसद्–इजलास र समाचार कक्षको स्वतन्त्रताको सम्मान गर्न माग गर्दै सञ्चारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेपाल पत्रकार महासंघको आयोजनामा सञ्चारकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले ‘वी वान्ट डेमोक्रेसी एन्ड प्रेस फ्रिडम’, ‘लोकतन्त्र पुनःबहाली’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद’, ‘प्रेसमाथिको दमन बन्द गर’, ‘प्रहरी दादागिरी मुर्दावाद’, ‘पत्रकारमाथिको धरपकड बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारको विरोध जनाएका हुन् ।

विरोध कार्यक्रममा बोल्दै शुक्रबार पक्राउ परी छुटेका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षमै पत्रकारलाई पक्राउ गर्नु दुःखद् भएको बताए । बिना औपचारिक पोसाक र बिना पक्राउ पुर्जी पक्राउ गरिएको उनको आरोप छ । सञ्चारमाध्यममाथि राज्यले आक्रमण सुरु गरेको भन्दै उनले यो प्रेस स्वतन्त्रतामाथिको हनन भएको जिकिर गरे ।

अर्का पत्रकार रामप्रसाद दाहालले राज्यले सञ्चार कक्षमै गएर पक्राउ गर्ने कार्य राज्यबाटै सिर्जित अपराध भएको दाबी गरे । सरकारले होसमा फर्किएर प्रेस स्वतन्त्रताको रक्षा गर्नुपर्ने उनले माग गरे । कानुनको परिधिभित्र सरकार नफर्किए थप कलंकित हुने र यस्ता कामले सरकारको पतन निश्चित रहेको उनले चेतावनी दिए । सञ्चारमाध्यमले सरकारको यो कामलाई त्यत्तिकै नछोड्ने चेतावनी दिँदै उनले सांकेतिक रूपमा मात्रै प्रदर्शन गर्न आएको बताए ।

अर्का पत्रकार शोभराज बरालले अनौपचारिक पोसाकमा सञ्चार कक्षमा पुगेका प्रहरीले कालो चिया पिउन भन्दै केरकार गरेको बताए । उनलाई साइबर ब्युरोमा लगेपछि माथिको निर्देशन र प्रधानमन्त्री कार्यालयको निर्देशनमा पक्राउ गरिएको तथा प्रहरीले आदेश मात्रै पालना गरेको बताइएको उनले जानकारी दिए ।

पक्राउ गरिएका पत्रकारहरूलाई शुक्रबार राति साढे ८ बजे छोडिएको उनीहरूले बताएका छन् । समाचार लेखिएकै भरमा पत्रकार पक्राउ गर्नु र त्रास फैलाउनुले सरकार तानाशाही बन्दै गएको आरोप आम नागरिकले लगाउन थालेका छन् । सरकारले यस्तै गतिविधि गरिरहे सरकारको पतन निश्चित रहेको आन्दोलनमा सहभागी पत्रकारहरूको भनाइ छ । 

Share News