ट्रेड युनियन संरचना हटाउने सरकारी निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियनका संरचना हटाउनेगरी सरकारले जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो । सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ संशोधन गर्दै निजामती कर्मचारीको ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको थियो । सोही संशोधनका आधारमा विभिन्न निकायमा ट्रेड युनियनका संरचना हटाउन सरकारले परिपत्र तथा सूचना जारी गरेको थियो । तर, सर्वोच्चले उक्त अध्यादेश संसदबाट निष्क्रिय भइसकेको भन्दै त्यसका आधारमा जारी गरिएका सरकारी सूचना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । इजलासका अनुसार सरकारले वैशाखमा ल्याएको अध्यादेश संसदमा पेस नै नगरेको र ६० दिनपछि उक्त अध्यादेश निष्क्रिय भएको देखिएको छ । सर्वोच्चले यसअघि नै अध्यादेश निष्क्रिय भएपछि त्यसले संशोधन गरेको पुरानो ऐन स्वतः सक्रिय हुने व्याख्या गरिसकेको छ । सर्वोच्चले दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्न आगामी भदौ २२ गतेका लागि पेसी तोकिएको छ । यससँगै सरकारले अध्यादेशका आधारमा अघि बढाएको ट्रेड युनियनका संरचना हटाउने प्रक्रिया तत्कालका लागि रोकिएको छ ।
११४ जनाको हवाई उद्धार
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हालसम्म ११४ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका हुन् । नेपाली सेनाका अनुसार टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूलीबाट काठमाडौं तीन जनाको हवाई उद्धार गरिएको छ । त्यसैगरी, निजी क्षेत्रका हेलिकप्टर कम्पनीले पनि बाढी प्रभावितको उद्धारमा सक्रियता देखाएका छन् । कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल पाँच जना, सिम्रिकले रसुवाबाट तीन जना र अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल चार जनाको उद्धार गरेका छन् । यस्तै, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल पाँच जना, सिम्रिकले रसुवाबाट टिचिङ अस्पताल दुई जना, फिसटेलले रसुवाबाट टिचिङ अस्पताल पाँच जना र एभरेष्ट हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल दुई जनाको उद्धार गरेका छन् । प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पतालमा थप दुई जनालाई समेत उद्धार गरेको छ । बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ । उद्धार गरिएका घाइते तथा प्रभावितलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा ल्याइएको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह– बाढीबाट क्षति पुगेको सम्पत्तिको बीमा दाबी गर्नूहोस्
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले त्रिशूली नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका आफ्ना सम्पूर्ण बीमितलाई तत्काल कम्पनीलाई जानकारी गराउन आग्रह गरेको छ । कम्पनीले बीमा गरिएका भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा बाढीबाट क्षति पुगेको भए सम्बन्धित बीमितले तत्काल कम्पनीमा सम्पर्क गरी बीमा दाबी भुक्तानी प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरेको हो । कम्पनीले बीमा गरिएको सम्पत्ति तथा सवारीसाधनमा क्षति पुगेका सम्पूर्ण बीमितलाई आफ्नो क्षतिको विवरण कम्पनीमा उपलब्ध गराउन आग्रह गरेको छ । साथै बीमाबाट रक्षावरण भएको सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले दाबीसम्बन्धी आवश्यक प्रक्रियाका लागि सम्बन्धित सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीमा बीमासेवा लिएका ग्राहकले आफ्नो क्षतिको जानकारी कम्पनीले उपलब्ध गराएका सम्पर्क नम्बर तथा इमेलमार्फत गराउन सक्नेछन् । क्षतिको विवरण तथा आवश्यक जानकारीका लागि सुबोध कर्माचार्य, अमिता त्रिपाठी, आदर्श श्रेष्ठसँग सम्पर्क गरी क्षतिको विवरण जानकारी गराउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले कठिन परिस्थितिमा ग्राहक तथा सरोकारवालाहरूलाई सुरक्षामा उच्च प्राथमिकता दिन भनिएको छ ।