बाढीले ४१ पुल पूर्ण रूपमा क्षतिग्रस्त, वेत्रावतीमा बेलिब्रिज राखिने
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी-रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द अवस्थामा रहेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । ‘पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको छ’, मन्त्रालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारसँग ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज छन् । आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ । पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ। त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । वेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन । सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग
काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । सरकारले बाढीपीडितका लागि प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्न थालेको हो । पछिल्लो ६ घण्टामा विभिन्न दाता तथा कम्पनीबाट २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि परिचालन गरिनेछ । बाढीबाट रसुवालगायत प्रभावित जिल्लामा ठूलो जनधनको क्षति भएपछि निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले सरकारको राहत कोषमा सहयोग गर्ने क्रम बढेको छ ।
बाढी प्रभावित क्षेत्रमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारेको छ । बाढी प्रभावित नागरिकको उद्धार र सुरक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ । गृह प्रशासनका अनुसार नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा खटिएका छन् । सडक सञ्जाल अवरुद्ध भएका कारण कतिपय क्षेत्रमा उद्धार टोलीलाई स्थलमार्गबाट पुग्न कठिन भएपछि हवाई तथा पैदल मार्गबाट उद्धार अभियान सञ्चालन भइरहेको छ । विशेषगरी स्थलगत पहुँच कठिन र जोखिमपूर्ण स्थानमा हेलिकप्टरमार्फत उद्धारलाई प्राथमिकता दिइएको छ । नेपाली सेना तथा निजी हवाई कम्पनीका हेलिकप्टरले हालसम्म ६९ पटक उडान भरेर ३५१ जना नागरिकको हवाई उद्धार गरेका छन् । सुरक्षाकर्मीहरूले ज्यान जोखिममा राखेर उद्धार कार्यलाई निरन्तरता दिएका छन् । स्थानीय प्रशासन तथा सुरक्षा निकायले प्रभावित क्षेत्रको खोजी, उद्धार र राहत वितरणलाई थप प्रभावकारी बनाउँदै लगेका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि जोखिम कायम रहेकाले बेपत्ता तथा जोखिममा रहेका नागरिकको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ ।