उदयपुरमा करिब ८ हजार किलो गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ  उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८ सय २६ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको हो ।

 सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो तथा नं. ४ गण सुनसरी र नंं ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।

बरामद गरिएको गाँजा तथा ट्रक आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ । 

अभियानअन्तर्गत विभिन्न प्रकारका लागुऔषध ठूलो परिमाणमा नियन्त्रणमा लिनुका साथै लागुऔषधको दुर्व्यसन तथा अवैध कारोबार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

Share News