काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनमा सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवर्क्स तथा विद्युतगृह निर्माणको ठेक्का प्रक्रिया रद्द गरिएपछि आयोजना निर्देशक कृष्णप्रसाद रिजालले त्यसप्रति असन्तुष्टि जनाएका छन् ।
निर्देशक रिजालले ऊर्जासचिव डा. जगदीश्वर कर्माचार्यलाई भेटेर सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अघि बढाइएको ठेक्का प्रक्रिया रद्द गर्ने निर्णयप्रति आफ्नो असहमति राखेका हुन् ।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा ठेक्का प्रक्रिया रद्द गरिएपछि रिजालले सचिव कर्माचार्यसँग भेट गरी निर्णयको औचित्यमाथि प्रश्न उठाएका थिए ।
रिजालले ठेक्का प्रक्रिया सुरु भइसकेपछि सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनलाई आधार बनाएर पुरानो प्रक्रियामा नयाँ व्यवस्था लागू गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार रिजालले प्रक्रिया सुरु हुँदाका बखत कायम रहेको कानुनी व्यवस्थाअनुसार अघि बढाइएको ठेक्का पछि भएको संशोधनका आधारमा रद्द गर्नु उचित नहुने बताएका थिए ।
सुनकोशी-मरिण आयोजनाको हेडवर्क्स तथा विद्युतगृह निर्माणका लागि गत जेठ २६ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो । तर, सार्वजनिक खरिद नियमावलीको सोह्रौं संशोधन त्यसपछि मात्र भएको थियो ।
ठेक्का प्रक्रिया अघि बढिसकेपछि संशोधित नियमावलीलाई आधार बनाएर त्यसलाई रद्द गर्ने निर्णयले सार्वजनिक खरिद प्रक्रियाको कानुनी निश्चितता र प्रशासनिक निर्णयको स्थायित्वमाथि प्रश्न उठ्ने रिजालको असन्तुष्टि रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशनमा भएको हस्तक्षेपले आगामी दिनमा सञ्चालन हुने अन्य सार्वजनिक ठेक्का प्रक्रियासमेत प्रभावित हुन सक्ने भन्दै रिजालले सचिवसँग चिन्ता व्यक्त गरेका थिए ।