जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

फाइल तस्बिर ।

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले नाम फिर्ता लिएका छन् ।

सोमबार (आज) बसेको सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिएको जानकारी गराए ।

स्वार्थ बाझिने भएकाले आफ्नो नाम फिर्ता लिएको थापाले समितिलाई जानकारी गराएका हुन् ।

थापाको परिवार हाल जापानको स्थायी बासिन्दा रहेकोमा समिति सदस्यहरूले प्रश्न उठाएका थिए ।

उनीविरुद्ध जापानको पीआर लिएको उजुरी परेको थियो । त्यसबारे संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारलाई पत्राचार गरेको थियो ।  

त्यससँगै थापाको जापानको स्थानीय सरकारमा बसेका काम गरेको विषयमा पनि दोस्रो पटक पत्राचार गरेको थियो । 

सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशको राजदूतका लागि प्रस्ताव गरेकोमा १० जनालाई समितिले स्वीकृत गरिसकेको छ । 

त्यस्तै, समितिले दुई जनालाई अस्वीकृत गरिसकेको छ । 

Share News