नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपाल र पाकिस्तानबीच व्यापार, लगानी तथा व्यावसायिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच सोमबार चेम्बर भवनमा भएको भेटवार्तामा दुई देशबीच आर्थिक सहकार्य बढाउने विषयमा छलफल भएको हो ।

भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गरे। उनले लामो समयदेखिको सम्बन्धलाई व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए।

सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापार विस्तार हुन नसकेको उनको भनाइ थियो। उनले सरकारी तहको संवादसँगै दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क, बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी बढाउनुपर्नेमा जोड दिए।

अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र प्रमाणीकरणमा ध्यान दिन सके पाकिस्तानी बजारमा राम्रो अवसर रहेको उनले बताए।

त्यस्तै, पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगको अनुभवबाट नेपालले लाभ लिन सक्ने उनको भनाइ थियो। औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान र संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने उनले बताए।

सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई पनि आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरिएको थियो। विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरी बाधक नहुने भएकाले तत्काल सहकार्य अघि बढाउन सकिने अग्रवालको धारणा थियो।

राजदूत खानले पाकिस्तानले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको बताए। ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध रहे पनि दुई देशबीच आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको उनको भनाइ थियो। नेपालसँग आर्थिक सम्बन्ध पुनः विस्तार गर्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनले बताए।

उनले दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो।

भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गरे। उनले पाकिस्तान सरकार र जनताका तर्फबाट नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाए।

भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग तथा हवाई र स्थल सम्पर्क विस्तारलगायत क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

भेटमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रालगायतको उपस्थिति थियो। 

Share News