बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३८९ पुग्यो, ४६६ जनाको उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८९ पुगेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुका ९ बजेसम्म देशका ८ विभिन्न जिल्लाहरूमा गरी ३८९ जनाको शव फेला परेको हो ।  बाढीको बहावले बगाएकामध्ये सबैभन्दा धेरै चितवनस्थित नारायणी नदी किनारबाट १३७ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  यसैगरी धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पश्चिममा २७, रसुवामा १७, नवलपरासी पूर्वमा ७ र नुवाकोटमा २ जनाको शव फेला परेको प्रहरीको तथ्याङ्क छ । विनाशकारी बाढीपछि सयौं नागरिक अझै बेपत्ता रहेका छन् भने हालसम्म ४६६ जनाको सकुशल उद्धार गरिएको छ ।  उद्धार गरिएकाहरूमध्ये रसुवाबाट २८९ जना, नुवाकोटबाट ९० जना र धादिङबाट ३ जना रहेका छन् भने ८४ जनालाई उद्धार गरी उपचार तथा व्यवस्थापनका लागि काठमाडौं ल्याइएको छ । अहिले बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको तीव्र खोजी तथा बाँकी रहेकाहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूसँगै स्थानीय बासिन्दा र आफन्तहरू निरन्तर सक्रिय रूपमा खटिएका छन् । 

बाढीपीडितका लागि राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा १ लाखभन्दा बढी सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले बाढीबाट प्रभावित नागरिकहरूका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  बुधबार चीनतर्फबाट अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएपछि संघले ’राबिया नेपाल रिलिफ फण्ड’ मार्फत आम कर्मचारीहरूको तर्फबाट सो रकम सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो ।  संघका अध्यक्ष रविन्द्र प्रसाद चौलागाईं र महासचिव ऋषिराम ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीका कारण ठूलो संख्यामा नागरिकहरू विस्थापित हुनुका साथै पुगेको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।  संघले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको यथाशीघ्र उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । यसैगरी, बाढीबाट प्रभावित परिवारहरूलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, अस्थायी आवास लगायतका आधारभूत राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ ।  बाढीका कारण क्षति व्यहोरेका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय, कर्मचारी र उनीहरूका परिवारलाई आवश्यक राहत, सहयोग तथा पुनःस्थापनामा ध्यान पुर्‍याउन बैंक व्यवस्थापन तथा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै विपद्को यस दुःखद् घडीमा सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको संघले जनाएको छ ।

बाढीपीडितको राहतका लागि नेपाल बैंकद्वारा प्रधानमन्त्री कोषमा ३ करोड १ लाख सहयोग

काठमाडौं । बुधबार बिहान त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमार्फत उक्त रकम ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गरेको हो ।  अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।  हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले प्राकृतिक विपत्तिको कठिन समयमा बाढीपीडितका लागि ठूलो आर्थिक सहयोग पुर्‍याएकोमा नेपाल बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे ।  सञ्चालक समिति सदस्य लम्सालले महाभूकम्प, महामारी तथा विभिन्न राष्ट्रिय विपद्का बेला बैंकले गर्दै आएको सहयोगकै निरन्तरता स्वरूप यो सहयोग उपलब्ध गराइएको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए ।  साथै बैंकले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो ।