भोटेकोशीमा ताल बन्यो, फुट्ने जोखिम हुँदा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा ताल बनेको छ । फुटेको नदी थुनिएर ताल बनेको फुट्ने जोखिम देखिएपछि उच्च सतर्कता अपनाउन चीनले नेपाललाई आग्रह गरेको छ । चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भोटेकोशी नदीमा बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर ताल बनेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएपछि ताल बनेको र उक्त तालको आकार बढ्दै गएको सूचनामा उल्लेख गरिएको छ। यस अवस्थालाई ध्यानमा राख्दै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। ताल फुटेमा तल्लो तटीय क्षेत्रमा थप जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायको सूचना पालना गर्दै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
गोदावरी नगरपालिकाले बाढी पीडितलाई ५० लाख आर्थिक सहयोग गर्ने
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले हालै रसुवा र नुवाकोट जिल्लामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको बिहीबार आयोजित कार्यपालिका बैठकले विपद्को यो कठिन घडीमा मानवीय सहायता स्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । विपदमा परेका जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिमा मलम लगाउन र आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन यो सहयोग रकम प्रदान गर्न लागिएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले कार्यपालिका बैठकपछि जानकारी दिँदै भने, ‘रसुवा र नुवाकोटमा गएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । यस्तो संवेदनशील र दुःखद समयमा एक स्थानीय सरकारले अर्को जिल्लाका नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक तथा मानवीय दायित्व हो ।’ प्रमुख महर्जनका अनुसार घोषित ५० लाख रुपैयाँ रकममध्ये दुवै जिल्लाका अति प्रभावित क्षेत्र र पीडित परिवारको पुनरोत्थान तथा राहत कार्यका लागि आवश्यकता अनुसार समन्वय गरी वितरण गरिनेछ । पछिल्लो समय परेको अविरल वर्षाका कारण रसुवा र नुवाकोटका धेरै बस्तीहरू जोखिममा पर्नुका साथै ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । गोदावरी नगरपालिकाले अन्य स्थानीय तह तथा संघसंस्थालाई पनि यस विपद्को समयमा आफ्नो तर्फबाट सहयोगको हात बढाउन अपिल गरेको छ ।
हाइड्रोका सयौं कर्मचारी अझै सम्पर्कविहीन, सुरुङभित्रै ६० जना थुनिए
काठमाडौं । बुधबार बिहान तिब्बतबाट आएको बाढीले मुलुकको जलविद्युत क्षेत्रमा गम्भीर असर परेको छ । बाढीका कारण हालसम्म १५ वटा जलविद्युत तथा सोलार आयोजनाहरू प्रभावित भएका छन् भने ४०० मेगावाट विद्युत राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीले सञ्चालनमा रहेका ९ वटा र निर्माणाधीन ५ वटा आयोजनामा क्षति पुर्याएको हो । यसैगरी, नेपाल विद्युत प्राधिकरणको सोलारमा पनि क्षति पुगेको छ । बाढीले कतिपय आयोजनाका सब-स्टेसनहरूमा क्षति पुर्याएको छ भने कतिपय आयोजनाहरू बाढीको जोखिमका कारण बन्द गर्नुपरेको छ । विभिन्न आयोजनाबाट प्राप्त विवरणअनुसार सयौं जना अहिले पनि सम्पर्कबाहिर छन् भने केही उद्धारको पर्खाइमा रहेका छन् । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा मात्रै ९४ जना सम्पर्कविहीन भएका छन् । आयोजनामा काम गरिरहेको एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन छन् । तीमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन् । उनीहरूमध्ये ८ जना आयोजनामा कार्यरत कोरियन नागरिक हुन् । त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ । आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा पावर हाउस क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको जनाइएको छ । आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने अपुष्ट खबर प्राप्त भए पनि यसको यकिन विवरण आउन बाँकी रहेको इप्पानले जनाएको छ । त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन भएका छन् । टिमुरे क्षेत्रमा रहेका तीन जनाले अग्लो स्थानमा उक्लिएर ज्यान जोगाएको बताइएको छ । उनीहरूसँग समेत अहिलेसम्म सञ्चार सम्पर्क स्थापित हुन नसकेको खबर छ । ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको पावर हाउसमा कार्यरत ८ जना कर्मचारी बुधबारदेखि सम्पर्कविहीन छन् । उनीहरूसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन । हेलिकप्टर व्यवस्थापन गरी आयोजनास्थलको अवलोकन तथा सम्भावित उद्धारको प्रयास भइरहेको जनाइएको छ । १२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका २ जना सम्पर्कविहीन भएका छन् । अन्य ५ जना भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरूमध्ये ३ जना चिनियाँ र २ जना नेपाली नागरिक रहेको बताइएको छ । गाउँमा शरण लिएर बसेकाहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरूको उद्धारका लागि हेलिकप्टर लैजाने तयारी भइरहेको जनाइएको छ । लाङटाङ खोलामा सुरुङभित्रै ६० जना थुनिए २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सुरुङभित्र थुनिएका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । बुधबारदेखि सम्पर्कविहीन उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार रहेको बताइएको छ । उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ । उनीहरूको उद्धारका लागि विकासकर्ता कम्पनीका प्रतिनिधिहरू आयोजनास्थलमा पुगेर प्रयास अघि बढाए पनि हेलिकप्टरको व्यवस्था हुन नसक्दा उद्धारमा कठिनाइ भइरहेको छ । बाढीका कारण रसुवाका जलविद्युत आयोजना क्षेत्रमा उद्धार तथा सञ्चार सम्पर्क स्थापना गर्न चुनौती देखिएको छ । सम्पर्कविहीनहरूको वास्तविक अवस्था यकिन हुन नसक्दा आयोजनामा कार्यरत कर्मचारी, कामदार र उनीहरूका परिवारमा थप चिन्ता बढेको छ । बाढीका कारण विभिन्न आयोजनामा कार्यरत सयौं कर्मचारी र कामदारहरू सम्पर्कविहीन भएका छन् । प्राप्त जानकारीअनुसार लाङटाङ जलविद्युत आयोजनाका मात्रै ६० देखि ७० जना कर्मचारीहरू सम्पर्कविहीन छन् । त्यसैगरी, एउटा निर्माण कम्पनीका करिब १२५ जना र नेपाल विद्युत प्राधिकरण का ३५ देखि ४० जना कर्मचारीहरू पनि सम्पर्क बाहिर रहेका छन् । विद्युत आयोजनाका कर्मचारी मात्र नभई बैंकका प्रतिनिधि र स्थानीय बजारका मानिसहरू पनि ठूलो संख्यामा बेपत्ता भएकोले स्थिति थप भयावह देखिएको छ । कतिपय कामदारहरू सुरङभित्र फसिरहेको र उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बुझिएको छ । बाढी केवल पानीको मात्र नभई ढुङ्गा र लेदोसहितको भएकाले आयोजनाका इन्टेक र अन्य संरचनाहरू पुरिएका छन् । ती संरचनाहरू सफा नगरेसम्म भौतिक र आर्थिक क्षतिको यकिन विवरण आउन नसक्ने इप्पानले जनाएको छ । क्षतिको पूर्ण विवरण संकलन गर्न अझै एक हप्ता जति लाग्ने अनुमान गरिएको छ । केही आयोजना सुरक्षित बाढीको चपेटाका बीच १०२ मेगावाटको त्रिशूली आयोजनाका संरचनाहरूमा भने खासै क्षति नपुगेको जानकारी इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले दिए । उक्त आयोजनाले बाढीलाई केही हदसम्म नियन्त्रण गरेका कारण तल्लो तटीय क्षेत्रमा हुन सक्ने थप क्षति कम भएको उनको भनाइ छ । हालको प्राथमिकता टनेलमा फसेका र सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा रहेको अध्यक्ष डाँगीले बताए । यसैबीच इप्पानले आकस्मिक बैठक बोलाएर राहत र उद्धार कार्यलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरेको छ ।