रसुवा बाढीः २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन
काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म देशभर २ सय ५८ जनाको शव फेला परेको हो । यस्तै, ९ सय १० जना सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् । उनका अनुसार चितवनमा सबैभन्दा धेरै १ सय ८ वटा शव फेला परेका छन् । नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोरखामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२, तथा रसुवामा २ वटा शव फेला परेको उनले जानकारी दिइन् । यस्तै, नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छन् । रसुवाका अन्य १६१ जना नागरिक र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको तथ्यांक प्राप्त भएको उनले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण ३५ देशका ५ सय १७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १ सय २७ जना नेपाली पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिइन् । उनका अनुसार खोज तथा उद्धारका लागि नेपालका तीनवटै सुरक्षा निकायबाट ९ हजार २६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ७४२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन् । प्रवक्ता महतका अनुसार बिहीबार दिउँसो २ बजेसम्म हेलिकप्टरमार्फत ३ सय ५१ जना प्रभावितको उद्धार गरिएको छ । उद्धारका लागि बिहीबार मात्रै ६९ वटा हवाई उडान भएको उनले जानकारी दिइन् । उद्धार गरिएकामध्ये ४६ जना विदेशी नागरिक समेत रहेका छन् । प्राधिकरणले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल
बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न जेनेरेटर र प्राविधिक टोली परिचालन
काठमाडौं । बाढीका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा सुचारु गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरेको छ । रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर तथा ब्याट्री पठाएर आसपासका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन गरिएको छ । त्यस्तै, धुन्चेमा जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरी सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ। नुवाकोट र धादिङका मदनपुर, बट्टार, विदुर बसपार्क तथा बैरेनी–ठमेल डाँडालगायतका क्षेत्रमा पनि जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरी सेवा सुचारु गर्ने काम जारी रहेको छ। महत्त्वपूर्ण दूरसञ्चार साइटहरूमा सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जेनेरेटर, इन्धन र कर्मचारीको व्यवस्था गरिएको छ। साथै सञ्चालनमा रहेका मोबाइल नेटवर्क टावरमा नेटवर्क पहुँच, क्षमता वृद्धि तथा नेटवर्क व्यवस्थापन तथा सुधार गरी सेवा थप प्रभावकारी बनाइएको छ। यसैबीच बाढी तथा पहिरोबाट प्रभावित सेवाग्राहीलाई उपलब्ध गराइएको निःशुल्क दूरसञ्चार सुविधाको अवधि थप तीन दिन बढाइएको छ। अब भदौ १२, १३ र १४ गतेसम्म प्रभावित क्षेत्रमा फोन कल निःशुल्क हुनुका साथै प्रतिदिन २ जीबी डेटा इन्टरनेट र ५० वटा एसएमएस निःशुल्क उपलब्ध हुने व्यवस्था गरिएको छ। विपद्का कारण सञ्चार सम्पर्क प्रभावित भएका क्षेत्रमा उद्धार, राहत तथा समन्वयका लागि दूरसञ्चार सेवा महत्वपूर्ण हुने भएकाले नेटवर्कलाई यथाशीघ्र पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
बाढीपीडितका लागि कालिका कन्स्ट्रक्सनको १ करोड १ लाख सहयोग
काठमाडौं । कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । पाण्डे अध्यक्ष एवं प्रबन्ध निर्देशक रहेको कालिका कन्स्ट्रक्सन प्रालिले उक्त रकम बाढीपीडितको सहयोगार्थ उपलब्ध गराएको हो । पूर्वमन्त्रीसमेत रहेका पाण्डेले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम हस्तान्तरण गरेका हुन् । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाण्डेले गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पाण्डेले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।