प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अपि पावरले दियो ३५ लाख
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भदौ १० गते आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको तत्काल राहत र उद्धार कार्यमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ । अपि पावरकी अध्यक्ष सिर्जना खड्काले यो सहयोगले प्रभावित नागरिकको खोज तथा उद्धार अभियानमा तत्काल टेवा पुग्ने विश्वास व्यक्त गरिन् । खोज तथा उद्धार कार्यपछि आवश्यकताअनुसार दीर्घकालीन पुनर्स्थापनामा पनि कम्पनी थप सहयोग गर्न तयार रहेको उनले बताइन् । कम्पनीले बाढीका कारण विभिन्न जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । अपि पावरले विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसहित बेपत्ता भएका नागरिकको तत्काल खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट अधिकतम सावधानी अपनाउँदै खोज, उद्धार र राहत अभियानमा सहयोग गर्न कम्पनीले अपिल गरेको छ । हाल अपि पावरले ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजना र ६ मेगावाट क्षमताको सौर्य आयोजना सञ्चालन गरी नियमित विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले सहायक कम्पनीहरूमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा पनि लगानी र काम गर्दै आएको जनाएको छ ।
दुई नदीको संगम नजिकै बन्यो ‘खतरनाक ताल’, ३ दिनभित्र फुट्न सक्ने चीनको चेतावनी
काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालको छोछेन खोला र प्युरेपु त्साङपो नदीको संगम नजिकै ठूलो अवरोध ताल (बेरिअर लेक) बनेको जनाएको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र ताल भरिएर पानी बाहिरिन थालेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ । मन्त्रालयका अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ । सोही कारण ताल फुट्ने जोखिम उच्च रहेको चेतावनी दिइएको छ । चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ । सम्भावित रूपमा ताल फुटेमा आउन सक्ने बाढीको अवस्था पहिल्यै आकलन गर्न बाढीसम्बन्धी सिमुलेसन तथा विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ । यसबाट सम्भावित आपत्कालीन उद्धार तथा राहत कार्यका लागि आवश्यक तयारी र सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ । यसैबीच, नेपाल–चीन सीमाको नेपाली क्षेत्रमा आएको विनाशकारी पहिरो तथा बाढीले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाह (ज्यारोङ पोर्ट) मा ठूलो क्षति पुर्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न तहबाट उद्धार टोली परिचालन गरेका छन् । आपत्कालीन उद्धारकर्मी, जनमुक्ति सेना (पीएलए), इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले विपद् प्रभावित क्षेत्रमा जनशक्ति, हेलिकप्टर तथा अन्य विमान, उपकरण र राहत सामग्री पठाइरहेका छन् । कठिन भौगोलिक अवस्था, निरन्तर भइरहेको वर्षा र थप प्राकृतिक विपद्को बढ्दो जोखिमबीच उद्धार कार्य तीव्र पारिएको छ । बिहीबार बिहानसम्म घटनामा तीन जनाको मृत्यु पुष्टि, दुई जनाको उद्धार र ५५८ जना बेपत्ता रहेको चिनियाँ पक्षले जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।
विपद् व्यवस्थापनमा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटको सामना गर्न उद्धार, राहत तथा पुनःस्थापनाका काममा एकजुट हुन सबैमा अपिल गरेकी छन् । बुधबार बिहान भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै डंगोलले उद्धारको पर्खाइमा रहेका व्यक्ति तथा परिवारलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन आग्रह गरेकी हुन् । उनले बाढीका कारण विस्थापित परिवारलाई पुनःस्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई सुरक्षित र भयमुक्त वातावरण प्रदान गर्ने तथा आवश्यक मानवीय सहयोगका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । संकट व्यवस्थापनमा महानगरपालिका आफ्नो दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै डंगोलले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समन्वयात्मक रूपमा परिचालन हुन आग्रह गरेकी छन् । ‘यो दुःखलाई केवल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन। हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ, उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु,’ उनले भनेकी छन् । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि कार्यवाहक प्रमुख डंगोलले आग्रह गरिन् । भूगोलले छुट्याए पनि मानवीय संवेदनाका आधारमा विपद्को समयमा सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिका बाढी प्रभावित नागरिकलाई संकटबाट उकास्न आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्ध रहेको उनले जनाइन् । डंगोलले जीवन बचाउने र प्रभावित परिवारमा आशा जगाउने अभियानमा सबैलाई हातेमालो गर्न आह्वानसमेत गरिन् ।