शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरे कर्णाली रङ्गशालाको अनुगमन
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको अनुगमन हुन् । अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाडै तोक्ने योजना भएको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले मन्त्री पोखरेललाई रंगशालामाको हालको अबस्था बारे जानकारी गराएका थिए । निरीक्षणको क्रममा मन्त्री पोखरेलले कर्णालीको खेलकुदमा भौतिक संरचनाको कमि भएकाले सरकारले यसमा ध्यान दिने बताए ।
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार (आज) बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको दूतावासले जनाएको छ । नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै असरमा उनले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए । सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो । मन्त्री खनालले आजै बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । त्यस्तै, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गरेका थिए । नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल-चीन मित्रताको प्रतीक हुनाका साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तरराष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण हो । मन्त्री खनालले आज नै चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालमा नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गरेका थिए । उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए । मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
रास्वपाको राष्ट्रिय महाधिवेशन भरतपुरमा सर्यो, यस्तो छ तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो । यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ । बन्द सत्र उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ । पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्नेगरी तयारी गरिएको गौतमले बताए । उनले भने, “केन्द्रीय सभापतिज्यूको निर्देशनअनुसार ठाउँ परिवर्तन गर्न लागिएको हो ।” उद्घाटन सत्रमा ठूलो सङ्ख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुने आकलन गरिएको छ । साथै चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेण्टमुनि कठिन हुन सक्ने भएकाले ठाउँ परिवर्तन गर्न लागिएको उनले बताए । रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चर्को गर्मीका कारण ठाउँ परिवर्तन गर्न सोमबार जिल्लामा बैठक बसी केन्द्रमा पत्राचार गरिएको बताइन् । यस लगत्तै उद्घाटन सत्र गर्ने गेष्टहाउस चौरको व्यवस्थापन शुरु गरिएको छ । उद्योग संघलाई प्रदर्शनी केन्द्र माग गरी पत्राचार गरिएको उनले बताइन् । उद्घाटन सत्रमा ५० हजार हाराहारी उपस्थित हुने अनुमान गरिएको भन्दै उनले त्यसको व्यवस्थापनका लागि जुटेको बताइन् । पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको छ । महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आ-आफ्नो काममा व्यस्त रहेको उनले बताइन् । पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् ।