७ महिनामा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामान बरामद

काठमाडौं । सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदै सशस्त्र प्रहरीले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी र अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।

यस अवधिमा १७ थान अवैध हतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन् । 

त्यस्तै, लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन् । उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न ट्याब्लेट र इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका १६७ जनाको पनि उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् । यसमा संलग्न ९१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सीमा अतिक्रमण रोक्न पनि सशस्त्र प्रहरीले विभिन्न काम गरेको छ ।  दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ । त्यस्तै, १७ स्थानमा अतिक्रमण गरी खेती गरिएको ७.४४८ बिघा जमिन खाली गराइएको छ । सीमा क्षेत्रका २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्रमा सरसफाइसमेत गरिएको छ ।

सीमावासीसँगको सम्बन्ध सुधार र जनचेतना बढाउन यस अवधिमा २ हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको छ । सशस्त्र प्रहरीले सञ्चालन गरेका १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना र १३ वटा पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन् ।

Share News