कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट उपत्यकामा ग्यास र इन्धन ल्याइँदै

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा वैकल्पिक मार्गबाट एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था मिलाएको छ ।

भाद्र १४ गते अर्थात् आइतबार त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक कटान गरेपछि यातायात तथा ढुवानी सेवा प्रभावित भएको हो । 

मुख्य राजमार्ग नै अवरुद्ध भई ढुवानीमा समस्या उत्पन्न भएपछि निगमले ग्यास उद्योगीहरूसँग छलफल गरी आपूर्ति सुचारु गर्ने नयाँ विकल्प तय गरेको हो । 

निगमका अनुसार अब काठमाडौं तथा आसपासका क्षेत्रमा ग्यास बिक्री वितरण गर्ने उद्योगहरूले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी लगायत आफूलाई पायक पर्ने जिल्लाका ग्यास उद्योगहरूसँग समन्वय गर्नेछन् ।

ती स्थानका उद्योगहरूमा आ-आफ्ना ग्यास बुलेट खाली गराई सिलिन्डर रिफिल गरिनेछ । कृष्णभीरको बाटो पूर्ण रूपमा नखुलेसम्म यसरी रिफिल गरिएका सिलिन्डरहरू ट्रकमार्फत वैकल्पिक बाटो हुँदै काठमाडौं उपत्यकामा ल्याएर बिक्री वितरण गरिने व्यवस्था मिलाइएको छ ।

यसैगरी, एलपी ग्यासका साथै अन्य पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर र ट्रकहरूलाई समेत स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंसम्म ल्याउने र आपूर्ति व्यवस्थालाई सहज बनाइराख्ने निगमले जनाएको छ ।

Share News