सरकारले बनाउने पूर्वाधारमा ९० प्रतिशत एसियन कंक्रिटो प्रयोग

काठमाडौं । सरकारले बनाउने पूर्वाधारमा ९० प्रतिशतसम्म एसियन कंक्रिटोले उत्पादन गरेको निर्माण सामग्री प्रयोग हुन थालेको छ । नेपाल नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस) पाएपछि सो उद्योगले उत्पादन गरेको निर्माण सामग्रीको प्रयोग बढ्न थालेकोे हो । सरकारले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको प्रडक्टमात्रै प्रयोग गरेमा सरकारको अर्बाे रुपैयाँ वार्षिक मर्मत सम्भारबापत खर्च हुने रकम जोगिने एसियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले जानकारी दिए । उनका अनुसार विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रडक्ट बनेका थिएनन् भने उद्योग पनि लागिसकेका थिएनन् । ‘गुणस्तरयुक्त सामग्री नहुँदा सरकारले बाध्य भएर सरकारले गुणस्तरहीन प्रडक्ट प्रयोग गरिरहेको थियो । अब नेपालमै सरकारद्धारा बनाईएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरकल ब्लक बन्न थालिससकेका छन्, सरकारले पूर्वाधारमा एनएस प्राप्त उत्पादन लगाउनका लागि योजना अघि सार्नुपछर्’, उनले भने । उद्योगले उत्पादन गरेका कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फूटफाथदेखि शहरी क्षेत्रका भित्रि सडक बनाउन पनि प्रयोग हुँदै आएको छ । विश्वका कयौं मुलुकमा भित्री तथा शहरका मुख्य सडक नै इन्टरलक ब्लकबाट बनाईएका छन्, नेपालमा पनि यस्ता खाले गुणस्तरीय इन्टरलक ब्लकबाट भित्री तथा शहरी सडक बनाउँदा टिकाउ, दिगोपना, वातावरणमैत्री र मर्मतसम्भारमा लाग्ने खर्च समेत जोगाउन सकिने झाको भनाई छ । सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरिसकेको सुक्खाबन्दरगाहमा एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरलक ब्लक प्रयोग भइसकेको छ । चोभार सुक्खा बन्दरग्राह बनाउन थालिसक्दा नेपालमा यससँग सम्बन्धित न मापदण्ड नै थियो, न त उद्योग । विश्व बैंकका परामर्शदाताहरुले यस्ता किसिमका पूर्वाधारका लागि विश्वमा प्रचलित मापदण्ड अनुसार स्पेसिफिकेसन बनाएको देखिएको उनको भनाई छ । गत बैशाखमा सो कम्पनीले गुणस्तर विभागबाट एनएस पाएसगैँ ३० भन्दा बढी प्रकारका निर्माण सामग्री उत्पादन गर्न थालेको छ ।

महाराजगञ्जकाे केही घरहरु हटाएपछि मात्र चक्रपथको दोस्रो खण्डको काम सुरु हुने

काठमाडाैं । सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्कीदेखि चावहिल धोबीखोलासम्म) को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल खाली गर्न थालिएको दुई वर्षमा पनि अझै सकिएको छैन । सो सडकमा अझैसम्म कतिपय व्यक्तिगत घर र विद्युत्का खम्बा हटाउन बाँकी छ । विद्युत्का खम्बा हटाउने काम अन्तिम चरणमा पुगेको छ भने महाराजगञ्ज चोक आसापासमा रहेका घर हटाउन बाँकी रहेको सडक विभागले जनाएको छ । चक्रपथको पहिलो खण्ड निर्माण सम्पन्न भएसँगै दोस्रो खण्डको निर्माण शुरु गर्न खोजिए पनि वर्षौँसम्म निर्माणस्थल खाली हुन नसकेको हो । कहिलेसम्म निर्माणस्थल खाली भइसकेर हस्तान्तरण हुने भनेर टुङ्गो नभएको सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले बताए । समस्या भएको ठाउँ छाडेर बाँकी निर्माणस्थल चिनिँया टोलीलाई हस्तान्तरण गर्न प्रक्रिया अघि बढाइएको छ । उनले भने, ‘समस्या भएका ठाउँमा समाधान गर्दै अरु ठाउँमा विस्तार अघि बढाइनेछ ।’ सडक विस्तारको काम कहिलेबाट शुरु गर्ने भन्ने अन्योल रहेको छ । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर लम्बाइमा समस्या रहेकाले त्योबाहेक हस्तान्तरण गर्ने योजना बनाइएको प्रमुख पोखरेलले बताए । विभागले सो विषयमा मन्त्रालयमा फाइल पठाइएको थियो । अहिलेसम्म फाइल फर्किएर नआएकाले उनले बताए । उनले भने, ‘महाराजगञ्ज चोकमा पनि चक्रपथको बाहिरी भाग बुढानिलकण्ठतर्फ समस्या छ, बाँकी ठाउँमा काम अघि बढाउन सकिन्छ ।’ चीन सरकारले निर्माण गर्ने आठ लेनमा नै निर्माणस्थल खाली गर्न लागिएको हो । त्यसभन्दा बाहिरी भागमा समस्या भए पनि विस्तारै खाली गरिने विभागले जनाएको छ । विगतमा स्वयम्भु नजिकै रहेको स्तुपा निर्माणस्थलमा रहेकामा त्यसमा छलफल भइरहेको छ । महाराजगञ्ज क्षेत्रमा सडकको अधिकार क्षेत्रमा पर्ने घरधनीले सो स्थानमा रहेका संरचना हटाउन मुआब्जाको माग गरेका छन् । स्थानीयवासीले मुआब्जा माग गरे पनि विभागले पहिले नै सो जग्गा विभागको स्वामित्वमा रहेको बताउँदै आएको छ । विसं २०३० मा जग्गा सडकको स्वामित्वमा ल्याएको सूचना निकालिएकाले अहिले मुआब्जा दिनु नपर्ने विभागले भनेको छ । स्थानीयवासी भने मुआब्जा चाहिने बताउँदै आएका छन् । व्यक्तिगत सम्पत्तिको विषय भएकाले कागजात प्रष्ट भएपछि मात्रै मुआब्जा दिन मिल्ने वा नमिल्ने भन्ने टुङ्गो लगाइने उनले बताए । सडक विभागले चिनियाँ टोलीलाई डिजाइन प्रस्ताव गर्दा प्रत्येक किमीमा आकाशे पुल र सवारी चाप बढी भएका चोकमा ‘अण्डर पास’ र ‘ओभर पास’ को प्रस्ताव गरेको छ । विभागले गरेको प्रस्तावअनुसार नै हुने नहुने भनी उसको विस्तृत डिजाइन आएपछि मात्रै थाहा हुने बताइएको छ । विस्तृत डिजाइन आएपछि नै कति काम चिनियाँले गर्ने र कति सरकारले गर्ने भनी टुङ्गो हुने प्रमुख पोखरेलले बताए । चक्रपथको पहिलो खण्डमा पनि चीन सरकारले आठ लेन निर्माण र तीन आकाशे पुल बनाएको थियो । सडक विभागले छ स्थानमा आकाशे पुल र मुख्य सडकका दुवैतर्फ एकएक लेनको ‘सर्भिस ट्रयाक’ निर्माण गरेको थियो । उनले भने, ‘अहिले पनि उसले गरेर बाँकी काम हामीले नै गर्नेछौँ ।’ महाराजगञ्ज क्षेत्रमा रहेका व्यक्तिगत घरबाहेक यहाँका विद्युत्का खम्बा नहट्नु पनि समस्याका रुपमा रहेको छ । विद्युत्का खम्बा हटाउने काम छिट्टै गर्न नेपाल विद्युत् प्राधिकरणलाई भनिएको काठमाडौं चक्रपथ सुधार योजनाका प्रमुख अर्जुन सुवालले बताए । प्राधिकरणले केही दिन पहिले नै सकाउने लक्ष्य लिए पनि वर्षाका कारण अझै नसकिएको उनले जानकारी दिए । उनले भने, ‘वर्षा कम भएकाले अब धेरै समस्या नहोला ।’ विभागले एक महिना पहिले चिनियाँ टोलीलाई निर्माणस्थल खाली भएकाले विस्तार शुरु गर्न पत्राचार गरेको थियो । त्यसको लगतै टोलीले आएर स्थलगत भ्रमण पनि गर्याे । विद्युत्का खम्बाको फोटो देखाएर उसले निर्माणस्थल खाली नभएको प्रतिक्रिया दिएको थियो । प्रमुख पोखरेलले भने, ‘त्यो खाली हुनासाथ सडक हस्तान्तरण भएर काम शुरु हुनेछ ।’ पछिल्लो समयमा प्राधिकरणले एकदुई हप्तामा सबै खम्बा हटाइसक्ने भनेको थियो । वर्षा नहटेकाले तत्काल तार हटाएर खम्बा सार्न नसकिएको प्राधकिरणले बताउँदै आएको छ । निर्माणस्थलमा रहेका धेरै संरचना भने हटाइसकिएको छ । सडकमा रहेका रुख एक वर्ष पहिले नै हटाइएको थियो । अहिले पुनः पालुवा आएकाले त्यो हटाउनुपर्ने प्रमुख पोखरेलले बताउनुभयो । यहाँ रहेको खानेपानीका पाइप एक वर्ष पहिले नै खाली गरिएको थियो । विद्युत्का खम्बा पनि धेरै हटाइसकिएका छन् भने थोरै मात्र बाँकी छन् । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सडक निर्माण गर्दा त्यहाँ रहेका संरचना हटाउन नसकिँदा निर्माणमा ढिलाइ हुने गरेको छ । सडकमा रहेका संरचना र त्यसको व्यवस्थापनका विषयमा शहरी विकास मन्त्रालयले विधेयक बनाउने भने पनि अझै संसद्मा पेश भइसकेको छैन । अधिकांश स्थानमा निर्माणका लागि ठेक्का सम्झौता हुँदासम्म निर्माणस्थल खाली भएको हुँदैन । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलङ्की सडकमा पनि त्यहाँ रहेका संरचना(युटिलिटि) हटाउन समय लागेकाले ढिलाइ भएको थियो । निर्माण शुरु भएपछि समयमै सकाउन यो खण्डमा चिनियाँले पहिले निर्माणस्थल खाली गर्न भनेको छ । रासस

अब विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्छ: अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले अबकाे १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका छन् । बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशनको भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् । उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे । अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए । उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए । यस्तै अर्थमन्त्री शर्माले अब देशको विकास, समृद्धि र राजनीति देखेर युवामा नैराश्यता पैदा हुन नदिने आश्वासन समेत दिए । ‘आजको युवा पुस्ताले राष्ट्रको विकास र समृद्धिको जो अपेक्षा गरेका छन्, तर देशमा विकृति विसंगती, भ्रष्टाचार, राजनीतिक समस्या देख्दा युवा निराश हुने खतरा छ, म आह्वान गर्न चाहन्छु, अबको युवा पुस्ताले यो राष्ट्र निर्माण गर्ने हो, राजनैतिक परिवर्तनका एजेण्डाहरुमा हामी लड्यौँ, राजनीतिक एजेण्डाहरुमा धेरै सुधार भएका छन्, धेरै जनताका अधिकारहरु स्थापित भएका छन्, तर स्थापित भएका संविधानले स्थापित अधिकारहरुलाई अब कार्यान्वयन गरेर साँच्चिकै सुन्दर राष्ट्र बनाउने अभिभारा अबको युवा पुस्तामा छ, युवा पुस्ताले अब त्यसरी सोच्नुपर्छ, यहाँसम्म आइपुग्दाका समस्याहरुलाई समाधान गर्ने अब हाम्रो जिम्मेवारी हो भनेर सोच्नुपर्छ,’ उनले भने ।