काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले अबकाे १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताएका छन् । बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशनको भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् ।
उनले अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने धारणा व्यक्त गरे । अबको एक दशक नेपाल राष्ट्रको लागि महत्वपूर्ण घडी भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरुलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्ने बताए । उनले प्रकृतिले दिएको सुन्दर उपहारले नेपाल भरिपूर्ण भएकोले शैक्षिक र सक्षम जनशक्ति तथा श्रोतको एकताबाट मात्रै देश विकास सम्भव हुने बताए ।
यस्तै अर्थमन्त्री शर्माले अब देशको विकास, समृद्धि र राजनीति देखेर युवामा नैराश्यता पैदा हुन नदिने आश्वासन समेत दिए ।
‘आजको युवा पुस्ताले राष्ट्रको विकास र समृद्धिको जो अपेक्षा गरेका छन्, तर देशमा विकृति विसंगती, भ्रष्टाचार, राजनीतिक समस्या देख्दा युवा निराश हुने खतरा छ, म आह्वान गर्न चाहन्छु, अबको युवा पुस्ताले यो राष्ट्र निर्माण गर्ने हो, राजनैतिक परिवर्तनका एजेण्डाहरुमा हामी लड्यौँ, राजनीतिक एजेण्डाहरुमा धेरै सुधार भएका छन्, धेरै जनताका अधिकारहरु स्थापित भएका छन्, तर स्थापित भएका संविधानले स्थापित अधिकारहरुलाई अब कार्यान्वयन गरेर साँच्चिकै सुन्दर राष्ट्र बनाउने अभिभारा अबको युवा पुस्तामा छ, युवा पुस्ताले अब त्यसरी सोच्नुपर्छ, यहाँसम्म आइपुग्दाका समस्याहरुलाई समाधान गर्ने अब हाम्रो जिम्मेवारी हो भनेर सोच्नुपर्छ,’ उनले भने ।