हेलिकोप्टरबाट डोजर ढुवानी गरी हिमालको काखमा सडक निर्माण गर्दै एक पालिका
जाजरकोट । आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्रयाक खोल्नका लागि हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । नगरपालिकाले सिस्ने हिमालको काखमा सडक निर्माण गर्नको लागि डोजर ढुवानी गरेको हो । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो । नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो । सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ । वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो । नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ । हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ । आठबीसकोटभित्र हालसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भइसकेको छ ।
उज्यालो वीरगञ्ज अभियानको ५० प्रतिशत काम सकाए मेयर सरावगीले
काठमाडौं । वीरगञ्ज महानगरले सुरु गरेको उज्यालो बीरगञ्ज अभियानको ५० प्रतिशत काम सकिएको छ । महानगर प्रमुख विजयकुमार सरावगीले विद्युत नपुगेका सबै स्थानमा विद्युत पुर्याउनको लागि ‘उज्यालो वीरगञ्ज अभियान’ सुरु गरेका थिए । सो अभियान अन्तरगत महानगरभित्रका विभिन्न स्थानमा गरी १४ हजार एलईडी बत्ती जडान गर्ने कार्यक्रम राखिएको नगर प्रमुख सरावगीले जानकारी दिए । अभियान अन्तरगत अहिलेसम्म ५० प्रतिशत काम सकिएको र बाँकी ५० प्रतिशत काम आगामी २ महिनाभित्रमा गरिसक्ने उनले बताए । ‘महानगरको सबै सडक तथा चोकहरूमा अत्याधुनिक पोलमा बत्ती जडान गरी बीरगञ्जलाई बनाउने लक्ष्यले यो अभियान सुरु गरिएको हो, अहिलेसम्म हामीले आधाभन्दा बढी काम सकेका छौं, बाँकी काम २ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ,’ सरावगीले विकासन्युजसँग भने । नगर प्रमुख सरावगीका अनुसार २४ करोड रुपैयाँको लागतमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । हालसम्म बत्ती जडान गर्दा करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कार्यक्रम गत वर्ष नै सक्ने लक्ष्य महानगरको थियो । तर, कोभिड महामारीका कारण भएको लकडाउन, सटडाउन जस्ता कारणले काम ढिला भएको उनले बताए । १४ हजार एलईडी बत्ती जडान गर्ने कार्यक्रम रहेकोमा अहिलेसम्म ७ हजार बत्ती जडान भइसकेको छ । महानगरका २२ वटा वडामा बत्ती जडान भइसकेको छ भने अब १० वटा वडामा बत्ती जडान गर्न बाँकी छ । केही वडामा बत्ती जोड्ने काम भइरहेको छ । उज्याले वीरगञ्ज अभियान महानगरले आर्थिक वर्ष २०७५/७६ बाट सुरु गरेको थियो । सुरु गरेको तीन वर्षमा पूर्ण काम भने हुन सकेको छैन । बिजुलीको पोल, तार र त्यसमा प्रयोग हुने बत्ती र जडान खर्च समेत महानगरले गर्ने गरी सो अभियान सुरु भएको थियो । प्रत्येक महानगरवासीको घरसम्म बिजुली पुर्याउन पोल नभएको ठाउँमा पोल गाडेर बत्ती जडान गरी महानगरका सबै वडा उज्यालो पार्ने लक्ष्यका साथ अभियान सुरु गरिएको महानगरले जनाएको छ । जनप्रतिनिधि विहीन महानगर हुदा सो महानगर क्षेत्रमा सोलार बत्ती जडान गरेको थियो । सोलार बत्ती लामो समय नटिकेपछि महानगरपालिकाले यो अभियान सुरु सुरु गरेको हो ।
२६ करोडमा बन्याे रानीपोखरीको भित्री खण्ड, काठमाडौं महानगरलाई हस्तानतरण
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिकालाई रानीपोखरीको भित्री खण्ड हस्तान्तरण गरेको छ । भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानी पोखरीको भित्री खण्डको पुनः निर्माणको काम सम्पन्न भइसकेपछि प्राधिकरणले महानगरलाई हस्तान्तरण गरेकाे हो । प्राधिकरणले रानीपोखरीमा एक कार्यक्रम गर्दै महानगरलाई भित्र खण्ड हस्तान्तरण गरेको हो । २०७५ माघ १४ मा रानीपोखरी पुनः निर्माणको जिम्मा प्राधिकरणलाई दिइएको थियो । रानीपोखरीको पुनर्निर्माण काम प्राधिकरणले २ खण्डमा अगाडि सारेको थियो । उक्त खण्ड मध्ये भित्री भाग मात्र पुनः निर्माण गरिसकेकोले महानगरलाई हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ । रानीपोखरीको बाहिरी खण्ड काम पनि ९० प्रतिशत सकिएको छ र बाँकी काम गरी सके पछि सकेपछि सहरी विकास मन्त्रालयले नै उक्त खण्ड पनि महानरलाई हस्तान्तरण गर्ने प्राधिकरणले जनाएको छ । रानी पोखरीको क्षेत्रफल ३० हजार ७ सय ८ स्कवायार फैलिएको छ । पोखरीको गहिराई साढे ५ फिट छ । उपभोक्ता समितिबाट भित्री खण्डमा भएको काममा ८ करोड १५ लाख रुपैयाँ, भित्री भागमा रहेको बालगोपालेश्वर मन्दिर र पुलको खण्ड निर्माण १७ करोड ४५ लाख ३७ हजार रुपैयाँ गरी जम्मा २६ करोड रुपैयाँमा भित्री खण्डको काम सम्पन्न भएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले रानी पोखरी पुनर्निर्माणको काम महानगरपालिका आफैले गर्ने भनेर आटेको तर, झमेलाले गर्दा प्राधिकरणलाई दिएकाे बताए । यस्तै कार्यक्रममाले स्थानीय सरकार आइसकेपछि महानगरपालिका भित्रका सबै वडामा विकास भएको तर प्रष्ट रूपमा जनतालाई देखाउन नसकेको बताइन् ।