अपर तामाकोशीको प्रसारण लाइन तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न स्थानीयको माग

<p>काठमाडौं । अपर तामाकोशी पीडित संघर्ष समिति र राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपाल (समान) नेपालले काठमाडौंको शंखरापुर नगरपालिकामा सरकारले निर्माण गर्न लागेको अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न माग गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा समानले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो माग गरिएको हो । उनीहरुले २९ [&hellip;]</p>

काठमाडौं । अपर तामाकोशी पीडित संघर्ष समिति र राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपाल (समान) नेपालले काठमाडौंको शंखरापुर नगरपालिकामा सरकारले निर्माण गर्न लागेको अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न माग गरेको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा समानले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो माग गरिएको हो । उनीहरुले २९ हजार तामाङ बस्तीलाई संकटमा पारेर विकासको नाममा सरकारले विनाशकारी परियोजना सुरु गरेको आरोप लगाएको छ ।

‘एमसीसी र एसियाली विकास बैंकको लगानीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको भनिएको अपरतामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माण कार्यमा जग्गा अधिकरणदेखि निर्माण कार्यसम्म डरधम्की र बलजफ्तिको भरमा अगाडी बढीरहेको छ’ समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको उक्त परियोजनाबाट ६ सयभन्दा बढि घरधुरी प्रभावित हुनुका साथै २ सय रोपनीभन्दा बढि जमिन अधिग्रहण गरिएको पनि समितिले जनाएको छ ।

अपर तामाकोशी पीडित संघर्ष समितिका संयोजक सुर्य तामाङले आलु खेती जोनको रुपमा सिफारिस भएको उर्वर भुमी तथा पर्यटकीय स्थानलाई यसरी अधिकरण गर्न कुनैपनि हालतमा नपाइने भन्दै तत्काल स्थानान्तरण गर्न सरकारसमक्ष आग्रह गरे ।

‘विगत दुई वर्षदेखि आदिवासी तामाङ जनजातिको वस्ती राज्यले राष्ट्रिय गौरवको आयोजना भन्दै कुनै जानकारी बिना सवस्टेसन निर्माण गर्न लागेको छ । जग्गा नदिने अडान लिएका स्थानीयहरुलाई डर र धम्की दिएर जग्गा लिने काम भएको छ । नगरकोट र चिसापानी जाने बाटो भएको हुँदा त्यो पर्यटकीय क्षेत्र पनि हो’, उनले भने ।

यस्तै, उनले घना वस्तीको बिचमा सरकारले विद्युतीय धराप ल्याउन लागेको भन्दै आक्रोश पोखे । ‘हामी सम्बन्धित् सबै निकायमा पुगेका छौं । तर, कुनैपनि निकायले हाम्रो माग पुरा गर्नेबारे चासो देखाएनन् । माग पुरा गर्नको साटो सरकारबाट प्रहरी प्रशासन लगाउने काम भइरहेको छ’, उनले भने ।

समान नेपालका संयोजक चन्द्रनारायण थारुले जनतालाई कुनैपनि जानकारी नदिएर दादागिरी शैलीमा सबस्टेसन बनाउने काम भएकोप्रति दुःख व्यक्त गरेका थिए । यस्तै, उनले विदेशी दलाल र सरकारको बीचको मिलोमतोमा उक्त काम भैरहेको पनि आरोप लगाए ।

Share News