मन्त्रीनिवास निर्माणको अवरोध हटाउन संसदीय समितिले निर्देशन दिने

<p>काठमाडौं । संसदीय समितिले ललितपुरको भैंसेपाटीमा निर्माणाधिन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने भएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले सो आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने स्थानीयको माग सम्बोधन गर्नका लागि सम्बन्धित पक्षलाई [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । संसदीय समितिले ललितपुरको भैंसेपाटीमा निर्माणाधिन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने भएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकले सो आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने स्थानीयको माग सम्बोधन गर्नका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो ।

स्थानीयले सो आवासको तीनतिर ११ मिटर बाटो तय गरिएको तर एकातिर भने ८ मिटर मात्रै भएकाले त्यसलाई पनि फराकिलो बनाउनुपर्ने माग गरिरहेको छन । स्थानीयको सो मागलाई सम्बोधन हुने गरी सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिन लागिएको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिईन ।

बैठकले सिंहदरवारस्थित निर्माणाधिन संसद भवन परिसर भित्रको जीर्ण अवस्थामा रहेको नानीगंज भवनको पुनर्निर्माण तथा ढल निकाससम्बन्धि समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

बैठकमा स्थानीय मोहन खरेलले स्थानीयलाई न्याय हुने गरी सो आवास निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले बाटो साँघुरो हुँदा त्यसको असर स्थानीयलाई मात्रै नभई सरकारलाई समेत हुने बताए ।

यता, सांसदहरुले स्थानीय तहका जनप्रतिनिधिहरुसँग आवश्यक छलफल गरेर मात्रै निर्माणाधिन सो आवासको कामलाई अघि बढाउन सरकारसँग माग गरे । सांसद दिनानाथ शर्माले स्थानीयको मागबारे त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग बुझेर सो आवास निर्माणमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

सांसद चक्रप्रसाद स्नेहीले स्थानीय जनताको माग अनुसार बाटो फराकिलो बनाएर सो आवास निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए । यस्तै, सांसद कविता बोगटीले सो आवास निर्माणमा देखिएको अवरोध हटाउनका लागि स्थानीयको भन्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरुको राय लिन उपयुक्त हुने धारणा राखिन ।

सांसदहरुले सो आवास निर्माण भईरहँदा स्थानीयको मागलाई बेवास्ता गर्न नमिल्नेतर्फ सरकारलाई सचेत गराएका थिए । समितिले यसअघि निर्माणाधिन संघीय संसद भवन तथा मन्त्री, प्रदेश प्रमुख र मख्यमन्त्री आवासको अनुगमन गरेको थियो ।

Share News