अब मेलम्ची खोला तर्न तुइनमा झुण्डिनु नपर्ने
सिन्धुपाल्चोक । गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए । उनका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवतजावत गरिरहेका थिए । स्थानीय बासिन्दाका साथै मुलुककै नमूनाको रुपमा चिनिने मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढाटाढाका साना विद्यार्थीलाई विद्यालय आउनजान कठिनाइ परेकोले प्राथमिकतामा राखी तीन महिनामै पुल निर्माण गरिएकोे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनले भने, ‘अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ । यस कार्यका लागी सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु। यस वर्ष पनि बाढीले पु¥याउन सक्ने क्षतिप्रति हामि सचेत छौँ ।’ अध्यक्ष शेर्पाका अनुसार उक्त पुल निर्माणपश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थी मात्र नभई मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाँइकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकको लागि पनि सहज भएको छ ।
दैनिक पाँच घण्टा बाटो बन्द गरेर मुग्लिन-पोखरा सडक विस्तार गरिँदै
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ स्थित याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागेका हौँ,’ उनले भने । आयोजनाको पूर्वी खण्डतर्फ सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्शनले पाएको छ । सडक विस्तारका लागि राजमार्ग आसपासका रुख काटिएका छन् । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् । मुग्लिङ–पोखरा सडक विस्तारकार्यअन्तर्गत पश्चिम खण्डबाट पनि काम सुरु भइसकेको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्शन कम्पनीले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाखमा र पश्चिम खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख छ । सडक चार लेनको बन्दा नयाँ पुल बनाउनुपर्ने छ । आँबुखैरेनीबाट पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन् । रासस
नेपालले भारतलाई बेच्न थाल्यो बिजुली, प्रतियुनिट १९ रूपैयाँ
काठमाडौं । नेपालले पुनः भारततर्फ बिद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात सूर गरेको हो । विद्युत उत्पादन बढेर खपत हुन नसकेपछि निर्यात सुरु गरिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स) मा प्रत्येक १५ मिनेटको ‘ब्लक’ मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको जानकार दिए । उनका अनुसार प्रत्येक ब्लकका बिजुली फरक–फरक मूल्यमा बिक्री हुनेछ । भारतले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात १९ रूपैयाँ २ पैसा मा खरिद–विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सोही मूल्य अनुसार प्राधिकरणले बिजुली बिक्रीका लागि रोखेको जनाएको छ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरिसकेको छ । प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्नेछ ।