फिदिम, चौरजहारी, साँफेबगर र डुम्रेमा बन्दै छन् १५ करोड लागतको पार्क
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने शहरी विकास तथा भवन निर्माण विभाग आगामी आर्थिक वर्ष २०७९/८० मा ४ वटा नयाँ पार्कको निर्माण गर्ने भएको छ । विभागले नयाँ शहर आयोजना अन्तर्गत सुन्दर पार्क निर्माण गर्न लागेको हो । पार्क निर्माणको गर्नको लागि आवश्यक तयारी गरी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको शहरी विकास तथा भवन निर्माण विभागले जानकारी दिएको छ । यस्ता पार्कहरु पाँचथरको फिदिम, रुकुमको चौरजहारी, अछामको साँफेबगर नगरपालिका र तनहुको डुम्रे भन्सारमा पार्क निर्माण हुनेछ । पार्क निर्माणको काम नयाँ शहर आयोजना कार्यालयहरुबाट अगाडि बढ्ने छन् । सो कार्यालयको सामाजिक पूर्वाधार कार्यक्रम अन्तर्गत पार्क निर्माण हुने विभागकी सूचना अधिकारी रमिता तचामोले बताइन् । पार्क नयाँ शहरको कामसँगै अगाडि बढ्ने छ । कुन पार्कका लागि कति बजेट ? चार वटा नयाँ पार्क निर्माण गर्नको आगामी आर्थिक वर्षको लागि १४ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ । पार्क निर्माणासँगसँगै सो बजेट भित्रनै अन्य काममा पनि गर्नुपर्ने हुन्छ । पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ मा गणेशमान पार्क निर्माण गर्नको लागि ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ । उक्त बजेटभित्र नै फिदिमको पौवा भन्ज्याङदेखि सुकेपोखरी पार्कसम्मको सडक र सुकेपोखरी पार्कको गुरुयोजना तयार गरी पहिलो चरणको डीपीआर बमोजिम कार्यान्वयन गरी ल्याण्डफिल साईट तथा पहुँचमार्ग निर्माण र फिदिम नगरपालिकाको वडा नं. ५ मा खेल मैदान तथा पहुँचमार्ग निर्माण गर्ने योजना विभाले बनाएको छ । यस्तै, रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा पनि आगामी आर्थिक वर्षबाट हरितपार्क सहितको बसपार्क निर्माण, चौरजहारी पार्क, रामजानकी पार्क, सामुदायिक भवन निर्माण र सोलार सडक बत्ती जडान गर्ने कार्य हुने छ । सो कामको लागि २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रुकुम जिल्ला अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला र निर्वाचान क्षेत्र रहेको जिल्ला पनि हो । यसै गरी अछाम जिल्लाको साँफेबगर नगरपालिकामा बजैनाथ पार्क निर्माण तथा खेलकुद मैदान निर्माण हुने छ । उक्त ठाउँमा पार्क निर्माण गर्नको लागि ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । डुम्रे भन्सार नयाँ शहर आयोजना समन्वय कार्यालय अन्तर्गत आगामी आर्थिक वर्षबाट तनहुको बन्दिपुर गाउँपालिकामा पार्क निर्माण गर्ने योजना छ । पार्क निर्माण गर्नको लागि २ करोड २० लाख रुपैयाँ बजेट छुट्याएको छ । सो बजेटमा नै बन्दिपुरको शिखरडाँडाबाट बागदले स्टोन पार्कसम्म ढुङ्गा छाप्ने र गाउँपालिका वडा नं. ४ क्लवको खेलमैदान निर्माण गर्ने विभागको योजना छ । निर्माण सुरु भएको भएपछि पार्क निर्माणको काम छिटै सक्ने योजना रहेको विभागले जनाएको छ । तनहु जिल्ला नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला र निर्वाचन क्षेत्र पनि रहेको जिल्ला हो । अहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेका छन् भने वरिष्ठ नेता पौडेल र सभापति देउवाबीच सम्बन्ध सुमधुर रहेको बताइन्छ । यी हुन् निर्माण सुरु भएका पार्क विभाग अन्तर्गत ३ वटा पार्क निर्माणाधीन अवस्थामा छन् । उक्त पार्क निर्माणको कामलाई निरन्तरता दिनको बजेट पनि छुट्याएको छ । तीन वटा निर्माणाधीन अवस्थामा रहेका पार्कलाई निरन्तरता दिन आगामी आर्थिक वर्षका लागि १ करोड ८० लाख रुपैयाँ बजेट रहेको छ । धादिङ्ग जिल्लामा सघन शहरी तथा भवन निर्माण आयोजनामा अन्तर्गत स्याब्रुबेसी हिमाली शहरको ‘मार्फाेलोजिकल रिटेनमेन्ट एण्ड इन्हान्समेन्ट प्लान’ अनुसार बाहुडाँडामा पार्क निर्माणलाई निरन्तरता दिन ५० लाख रुपैयाँ बजेट छ । बैतडीको पाटन नयाँ शहर आयोजना अन्तर्गत निर्माण हुँदै गरेको हीरापुर डाडाबाघ मनोरञ्जन पार्क तथा भ्यु टावर निर्माणको कामलाई निरन्तरताको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै, राकम कर्णाली दैलेखमा मनोरञ्जन पार्क पनि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेको सो पार्कको काम अघि बढाउन ८० लाख रुपैयाँ बजेट छुट्याएको छ । सुचारु र नयाँ पार्क गरी जम्मा ७ वटा पार्क छन् । सो पार्कको कुल बजेट १६ करोड ५० लाख रुपैयाँ छ ।
दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने
लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो । आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीले भने, ‘हामीले आठ–दश दिनअघि नै आयोजनाको सम्पूर्ण निर्माण सम्पन्न गरेर भोलि शनिबारदेखि पाँच दिन जति बिजुली उत्पादन परीक्षण गर्न लागेका छौँ । पावरहाउससम्म पानी ल्याएर टर्वाइन सबै घुमाएर कतै केही छ कि भनेर जाँच गर्छौँ, हुन त हामीले तीन महिना पहिला पनि युनिट–१ को सफल परीक्षण गरिसेकेका थियौँ, अहिले आयोजनाको तीनवटै टर्वाइन जाँच गर्नेछौँ, यसमा हामी सफल हुने अपेक्षाका साथ अघि बढेका छौँ ।’ सफल परीक्षण भए पनि व्यावसायिकरूपमा बिजुली उत्पादन हुन भने केही समय लाग्ने भएको छ । आयोजनाबाट उत्पादिन बिजुली उदिपुरमा रहेको २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भइनसकेकाले राष्ट्रिय प्रसारण लाइनमा जोडिहाल्न नसकिने हुँदा बिजुली खेर जाने भएको आयोजनाले जनाएको छ । उक्त प्रसारण लाइनको ट्रान्समिसन एक–डेढ महिनामामै सम्पन्न हुने बताइए पनि कहिले सम्पन्न हुन्छ, हामी त अन्योलमै छौँ, आयोजनाका साइट इन्चार्ज ज्ञवालीले भने । ट्रान्समिसन लाइन दुई–चार महिनासम्म पनि बनेन भने पनि निर्माण सम्पन्न नहुञ्जेल नै राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोड्न पर्खेरै बस्नुपर्छ । यस आयोजनाले विभिन्न समयमा म्याद थप गर्दै हालै निर्माण पूरा गरेको हो । इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न भइसकेको छ । ती सबैको सफल परीक्षणसमेत भइसकेको छ । त्यस्तै पाइप बिच्छ्याउने, सुरुङ खन्नेलगायत निर्माण पनि पूरा भएको छ । पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप विच्छ्याउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सबै सम्पन्न भइसकेको छ । आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा पावरहाउस बनाइएको छ । विसं २०७२ फागुनदेखि निर्माण सुरु गरिएकोे यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोे थियो । तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत्गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसेरेनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले पनि निर्माणमा ढिलाइ हुँदै आएको र निर्धारित समयमा काम सम्पन्न हुन नसकेर पटक–पटक म्याद थप्दै निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ । पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि असारसम्म सक्ने गरी म्याद बढाइएकोे थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको थियो । सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि विसं २०७७ चैत महिनासम्मको भाका राखिएकामा २०७८ जेठको पहिलो हप्तामा बल्ल निर्माण सम्पन्न भएको थियो । सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले चार अर्ब ६४ करोडसम्म खर्च भएको हुनसक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाका अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ ।
१३ जिल्ला जोड्ने चक्रपथ निर्माण यसै वर्षदेखि हुने
काठमाडौं । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक महत्वका आयोजनाको विकास र विस्तारका लागि विशेष महत्व दिएको छ । प्रदेश सरकारको विशेष प्राथमिकतामा राखेको १३ जिल्ला जोड्ने चक्रपथ निर्माणलाई यसै वर्षदेखि सुरु गर्ने भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेका अनुसार यसै वर्षभित्र वाग्मती प्रदेश चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम सम्पन्न गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । उक्त चक्रपथले वाग्मती प्रदेशभित्रका १३ वटै जिल्लाको यातायातको सहजप्रबन्धदेखि नागरिकको अपेक्षालाई समेत सम्बोधन गर्नेछ । प्रदेशका सबै जिल्लालाई जोड्नको लागि र यातायातमा सहज वातावरण निर्माण गर्नको लागि उक्त चक्रथप यसैवर्षभित्र निर्माण सुरु गरिने मुख्यमन्त्रीको भनाइ छ । सो परियोजनालाई प्रदेशको गौरवका आयोजनाका रुपमा समेत चित्रण गरिएको छ । दोलखाको गौरीशङ्कर, धादिङको तिप्लिङ, चितवनको फाँटदेखि मकवानपुरसम्म, सिन्धुलीदेखि रामेछापसम्म अटाएको यस प्रदेशको विकास, समृद्धि र यहाँका नागरिकको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने प्रयास प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । आर्थिक वर्ष २०७९/८० भित्र नै प्रदेशको राजधानी हेटौंडालाई सङ्घीय राजधानी काडमाडाैं जोड्ने हेटौँडा—कुलेखानी—काठमाडौं सडक दुई लेनको निर्माण गरिने जानकारी दिए । त्यस्तै, प्रदेश सरकारले सडकका अलावा सुरुङ निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । यस प्रदेशभित्र चार वटा सुरुङ निर्माणको लागि तत्कालका लागि ६० करोड बजेट विनियोजन गरिने उनको भनाइ छ । ती सुरुङमध्ये चोभार—हेटौँडा, खुर्कोट—चियाबारी, ताल्ती—लोथर र हुदी—शक्तिखोरको डिपिआर सम्पन्न गरिनेछ । त्यसलगत्तै सुरुङ निर्माणको काम प्रारम्भ गरिनेछ । प्रदेश सरकारको प्राथमिकतामा सुरुङमार्ग छ । सुरुङ निर्माणमा सङ्घीय सरकारको समेत उत्तिकै चासो छ । सङ्घीय सरकारले काठमाडौं–मकवानपुर–चितवन द्रुर्तमार्ग निर्माण गर्ने गरी आगामी आवको बजेटमा कार्यक्रम समावेश गरेको छ । सो मार्गको काम अगाडि बढ्दा त्यसको केन्द्रमा वाग्मती प्रदेश सरकार नै रहन्छ । प्रदेश सरकारले पनि सोही अनुसार प्रक्रिया अगाडि बढाएको तथा सुरुङ तथा द्रुर्तमार्ग निर्माणमा पनि उत्तिकै चासोका साथ योजना तय गर्ने, बजेट विनियोजनसमेत गरेको छ । रासस