एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्दै, प्रथमलाई डेढ लाख रुपैयाँ पुरस्कार
काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यान नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि सो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्ने कम्पनीका महाप्रबन्धक बिमलराज गोसाईले जानकारी दिए । उक्त भिडियो टिकटकमा यही साउन ६ गतेदेखी आगामी भदौ ६ गतेसम्म पोष्ट गरिसक्नुपर्नेछ । कम्पनीका अनुसार पहिलो विजेताले डेढ लाख रुपैयाँ पाउने छन् । यस्तै, कम्पनीले दोस्रो हुने दुइ जनालाई प्रतिव्यक्ति १(१ लाख नगद रुपैयाँ, तेस्रो हुने ३ जना छानी प्रतिव्यक्ति ७५(७५ हजार, चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार र पाचौं हुने ५ जनालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद दिइने जनाएको छ । कम्पनीको अनुसार प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूलाई छनौट ३० प्रतिशत लाइकको आधारमा, ४० प्रतिशत सिर्जनात्मक तथा निर्णायकको आधारमा र ३० प्रतिशत धेरै भिउज, धेरै शेयर र कमेन्टको आधारमा गरिनेछ । छनोट भएका प्रतियोगिहरुलाई भदौ १० गते पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।
अघि बढ्दै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको काम, विज्ञ टोली गठन गरिने
काठमाडौं । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडी बढाउन विज्ञ टोली गठन गर्ने भएको छ । सोमवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोमवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिस अनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्ने सम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्मा लौजाने तयारी गरेको जानकारी दिए । उनले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश अनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए । मन्त्री श्रेष्ठले विज्ञ टोलीबाट आएका प्रतिवेदन अनुसार नै अगाडी बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए । उनले प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीहरुसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा हाल प्रस्तावित स्थानमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको पनि बताए । मन्त्री श्रेष्ठले विमानस्थलको प्रश्तावित रन वे र टर्मिनल भवन निर्माण गर्ने ठाउँ खालि मैदान रहेको जिकिर गर्दै विमानस्थल निर्माणका लागि धेरै रुख कटान गर्नुपर्ने अवस्था नरहेको समेत जनाए । उनले २०७२ सालको आँकडाका आधारमा मात्रै अहिले बाहिर आएको भन्दै वास्तविकतामा वातावरणको क्षति हुने अवस्था नहरकोसमेत दाबी गरे । त्यस्तै समितिको बैठकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विगतमा भएका केही त्रुटीलाई छोडेर अब सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडी बढ्न सुझाव दिए । उनले अन्य विमानस्थल निर्माण गर्दा पनि आवश्यकताको अध्ययन गरेर मात्रै निर्माणको काम अगाडी बढाउनु पर्ने बताउँदै सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउनको लागि अवरोध नभएर निर्माण कार्य अगाडि बढाउने ढोका खोलिदिएको दाबी गरे । त्यस्तै नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले ठोस योजनाका साथ निजगढ विमानस्थल निर्माणको काम अगाडी बढाउन उचित हुने बताए । सरकार विमानस्थल बनाउनको लागि रकम पनि विनियोजन गर्नुपर्ने र त्यसै अनुसार कामलाई तीब्र रुपमा अगाडी बढाउनुपर्ने उनको भनाई छ । बैठकमा समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले वातावरणको अध्ययन र श्रोतको सुनिश्चतता बिना वाहवाही बटुल्नका लागि मात्रै निर्माणको काम अगाडी नबढाउन सुझाव दिए । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले मन्त्रीपरिषद्ले केही दिनमा विज्ञ समूह गठन गरेपश्चात अदालतको फैसला अनुसार पुनः अध्ययन गरेर निजगढ नै उपयुक्त भनेमा विमानस्थल बनाउनुपर्ने बताए । उनले अदालतको फैसलाअनुसार कसरी विमानस्थल बनाउने भनेर प्राधिकरणले पनि काम गरिरहेको जानकारी गराए । सरकारले चालु आर्थिक वर्षको बजेटमाफत पनि निजगढ विमानस्थल निर्माणको काम अगाडी बढाउने घोषणा गरेको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै विमानस्थल र्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने घोषणा गरेका थिए । तर यता सर्वोच्च अदालतको बहुमत न्यायाधीशहरुको रायले लेखेको फैसलाको पूर्णपाठमा वन, वातावरण, वन्यजन्तु, हवाई व्यवस्थापन, समाजशास्त्री, अर्थशास्त्री र अन्य आवश्यक क्षेत्रसँग सम्बन्धीत विज्ञ समूह गठन गरी उपयुक्त स्थानको पुनः पहिचान गरी वातावरणीय क्षति कम हुने गरी विमानस्थल निर्माण गर्न भनिएको छ ।
तनहुँ जलविद्युत् आयोजनाकाे भूमिगत विद्युत्गृहको सुरुङ खन्ने काम सकियो
काठमाडाैं । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत विद्युत्गृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले आज विद्युत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो । ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृहको सुरुङ खन्ने काम सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । ‘मुख्य चुनौतीपूर्ण रहेको भूमिगत विद्युत्गृहको सुरुङ खन्ने काम सफलतापूर्वक सम्पन्न भएको छ’, भण्डारीले भने, ‘अब विद्युत्गृहभित्र पूर्वाधार निर्माणको काम सुरु हुन्छ ।’ विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । ‘यहाँको ढुङ्गा कमजोर रहेकाले यो चुनौतीपूर्ण काम थियो, अब भूमिगत सुरुङभित्र पूर्वाधारको काम पनि छिट्टै सुरु गर्ने तयारी छ’, भण्डारीले भने । आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार ४५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३५० मिटर खनिसकिएको छ । इन्टेकको काम भने गर्न बाँकी रहेको भण्डारीले जानकारी दिए । प्याकेज एकअन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ । पहुँच सुरुङ १०० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ । प्याकेज तीनअन्तर्गत प्रसारण लाइनमा हालसम्म ४८ ‘फाउण्डेशन’को कार्यसम्पन्न भएको छ । प्रसारण लाइन निर्माणका लागि २५ टावर जडान भइसकेको आयोजनाले जनाएको छ । चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइएको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रसारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका ४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । तनहुँ जलविद्युत्् आयोजनाको मुख्य कार्यलाई तीन चरणमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ बाट कार्यान्वयनमा आएको छ । सोङ दा–कालिका जेभीले अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य गरिरहेको छ । आयोजनाको दोस्रो चरणअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । आयोजनाको तेस्रो चरणअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस