८ वर्ष लाग्दासमेत सकिएन सुपर दोर्दी ख आयोजनाको काम

लमजुङ । तीन वर्षमै सम्पन्न गरिने भनी निर्माण थालिएको आठ वर्ष लाग्दासमेत ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजनाले अझैसम्म आफ्नो दायित्व पूरा गर्न सकेको छैन । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन पिपुल हाइड्रोपावर कम्पनीले तीन वर्षभित्रमा निर्माण गर्ने भनी निर्माणकार्य अघि बढाएको यस आयोजना यतिका वर्ष हुँदा अझै अपुरो रहेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं.२०७५ भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्म समयावधि बढाइएको थियो । सो अवधिमा निर्माण कार्यमा ढिलाइ भएपछि गत विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटकपटक म्याद थप्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । उक्त समयमा निर्माण सन्पन्न नभएपछि आगामी असोज महिनाभित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका साईट इन्चार्ज रमेश सिग्देलले बताए । उनका अनुसार हालसम्म जम्मा ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । टनेल, पावर हाउसलगायत अधिकांश काम सम्पन्न भएको छ । साईट इन्चार्ज सिग्देलले भने, ‘डिफेण्डर बनाउने काम, इनक्लाप साफ्टको ४६३ मध्ये २०० मिटर पेनस्टक पाइप इनपोइन्टमा राख्न बाँकी रहेको र सुरुङमा माटो थुप्रिएको सफा गर्ने तथा फिनिसिङ गर्ने कार्य मात्र बाँकी रहेको छ । अबको एक महिनाभित्रमा डिफेण्डरको काम सम्पन्न गरिने छ ।’ आयोजनाका अनुसार यतिबेला वर्षायाम भएकाले आयोजनाको ढुवानी गर्ने सवारी साधनलाई बाटोले समस्या बनाइरहेकाले समय बढी पनि लाग्न सक्ने भएको छ । करिब १० किलोमिटर सुरुङ मार्गमध्ये एक हजार ६०० मिटरको सुरुङ मार्गको भुइँको ढलान सम्पन्न भइसकेको र माथिपट्टिको काम भइरहेको छ । अर्को एक हजार ७०० मिटरको इनटेक सुरुङ र एक हजार ४०० मिटरको अर्को सुरुङको फिनिसिङ भइरहेको छ । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु भइसकेको छ । नाकाबन्दी, दोर्दी खोलामा आएको बाढीपहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिँदै गएको हुँदा यतिका वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको इन्चार्ज सिग्देलको भनाइ थियो । कूल आठ अर्ब ८० करोडको लगानीमा निर्माण अघि बढाइए पनि थप लगानी बढ्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका जिल्लावासीको मात्र २७ करोड लगानी रहेको छ । उक्त आयोजनाबाट सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए) सम्झौता भएको छ । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । यस आयोजनाबाहेक यस कोरिडोरमा निर्माणाधीन आयोजनाले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा पटकपटक म्याद थप गर्दै अघि बढिरहेको छ । रासस

विद्युत उत्पादन कम्पनीले माग्यो फुकोट–कर्णाली आयोजनासँग स्पष्टिकरण

काठमाडौं । विद्युत उत्पादन कम्पनीले कालिकोट जिल्लामा निर्माणधिन फुकोट–कर्णाली जलविद्युत आयोजनासँग स्पष्टिकरण माग गरेको छ । समयमा विद्युत निर्माणको काम सम्पन्न गर्न नसकेको भन्दै विद्युत उत्पादन कम्पनीले ७ दिने स्पष्टिकरण माग गरेको हो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै सो आयोजनको निर्माण कम्पनी फीवा आचार्य जेभी बागलुङसँग स्पष्टिकरण माग गरेको हो । विद्युत उत्पाद कम्पनीले लिमिटेडका अनुसार हालसम्म उक्त आयोजनाको काम ३७ प्रतिशतमात्र काम भएको छ । सो जलविद्युत आयोजनाको काम अगाडि बढाउनको लागि २०७७ साल साउन ११ गते निर्माण व्यवासायी फीवा आचार्य जेवी बागलुङसँग २०७९ साल ३ महिना ३० गतेसक्ने गरी ठेक्का संझौता भएको थियो । सो जलविद्युत आयोजनाको काम बैशाख ३ गतेदेखि रोकिएको कम्पनीले जनाएको छ । कम्पनिले बन्द रहेको सन्दर्भमा लिखित वा मौखिक निर्देशन दिदा समेत कार्य सुचारु हुन नसकेको भन्दै निर्माण व्यवासायिलाई स्पष्टिकरणको माग गरेको छ । उक्त जलविद्युत आयोजनाको कुल लागत ९२ अर्ब ३ करोढ रुपैयाँ रहेको छ ।

थाई स्माइलले शुरु गर्यो काठमाडौं-बैङ्कक उडान, दुवै देशको अर्थतन्त्रलाई उकास्ने विश्वास

काठमाडौं । सम्पूर्ण वायू सेवा सहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । काठमाडौं-बैङ्कक दुई तर्फी हवाई सेवा असार १७ गतेदेखि नै शुरु भएको हो । सोही मितिदेखि दैनिक रुपमा काठमाडौं-बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजको योजना रहेको छ । यस रुटको लागि तोकिएको एयरबस-३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ, जसमा अन-बोर्ड मिल सर्भिस (विमान भित्रै खानाको सुविधा) पनि रहेको छ । थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज ईन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ । आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ । थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले भने- ‘काठमाडौं-बैङ्कक हवाई सेवाको शुरुवातले निश्चित रूपमा बैङ्कक र एशियाका अन्य प्रमुख शहरहरू बीच बढ्दै गईरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउनेछ । हामीलाई विश्वास छ कि यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल-थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ, साथै हामीलाई यो पनि विश्वास छ कि यस रुटको शुरुवात सँगै नेपाल बिस्तारै मध्य-दक्षिण एसिया र अन्य एसियाली मुलुकहरुका लागि पनि पर्यटकिय आकर्षणको केन्द्र हुनेछ ।’ ‘सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको छ, यसको साथै यो उडानले दुवै देशको पर्यटन प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्नेछ,’ सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भने ।