व्यवसायको नयाँ मोडल ‘आकाशमा पदयात्रा’
काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा । इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने प्रवद्र्धकहरुको प्रयासमा ‘आकाशमा पदयात्रा’ गराउने व्यवसाय शुरु भएको छ । त्यो पनि एकै पटक तीन ठाउँमा-कमलादी, भेडेटार र कन्याममा । प्रवद्र्धक कम्पनी फरक छन्, ठाउँ फरक छन्, संरचना फरक छन्, तर व्यवसायको प्रकृति एउटै हो । भूईबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने । हिड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । दायाबाँयाँ चारैतिर खुला र दुर दृष्य । तल जमिन । कही बगैचा । कहि पार्किङ । कही जंगल । कही चिया बगान । कमलादीको संरचनामा लिफ्ट चढेर सिधै माथि पुगिन्छ । टपको शीशामा हिड्दा ७८ मिटर तलको बगैचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी वगिरहेको देखिन्छ । काठमाडौं उपत्याकाको पुरै दृष्यावलोकन गर्न सकिन्छ । भेडेटारमा भ्यूटावर चढेर धरान तर्फको भिर माथिको आकाशमा पदयात्रा शुरु हुन्छ । पैताला अडिने शीशा मुनि ठूलो भीर, जंगल । अलि टाडा धरान । वेगमा आएको हावाको चाप, ध्वानी । आँखाको तेजले भ्यासम्मको दुरदृष्य । इलामको कन्याममा अलि फरक छ । टावर पनि सानो छ । हल्का उकालो हुँदै टावर चढिन्छ । इलामको चिया बगान आकाशबाट नियाल्न सकिन्छ । यसका प्रवद्र्धक सबै महिला हुन् । पढ्दा लाग्ला कल्पनाको खेती गरे जस्तो । साहित्यको पाना पढे जस्तो । तर प्रवद्र्धकले तिथिमिति तोकिसके आकाश पदयात्रा सञ्चालनमा ल्याउने बारे । भ्याएसम्म दशैंको घटस्थापनाको दिन व्यवसाय शुभारम्भ गर्ने कम्पनीको योजना छ । ढिलै भएपनि सन् २०२३ को जनावरीसम्ममा उद्घाटन गरिने स्काईवाक टावरका सञ्चालक तथा इन्जिनियर संजिव रोक्काले बताए । सहासिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको रोक्का बताउँछन् । वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काई वाक टावर बनाउँदैछ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको रोक्काले जानकारी दिए । फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । र, जग कंक्रिटले बनेको छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । यो टावर २६ तलाको हुन्छ । २६ औ तला स्काईवाक र सिटी भ्यूको लागि बन्दैछ । टावरको माथि सीमा हिँड्ने इस्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ । टावरको २ साइडमा लिफ्ट हुन्छ । लिफ्टबाट एकै चोटिमा ४८ जना तलमाथि गर्न सक्नेछन् । ७८ मिटर अग्लो टावरको माथि लिफ्टबाट २८ सेकेन्डमा पुग्न सकिन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । स्वास्थ्य लाभको हिसावले पर्यटकलाई भर्याङबाट यात्रा गर्न प्रोत्साहित गर्न झर्याङबाट हिड्दा आनन्दित हुने म्यूजिक सिस्टम राखिनेछ । साथै, भर्याङ प्रयोग गर्नेलाई टिकटमा १०० रुपैयाँ छुट दिने सोच प्रवद्र्धकले बनाएका छन् । ‘टावरको माथि चढेर हेर्नुको मज्जा बेग्लै छ, यसको जति वर्णन गरेर सम्भव छैन, माथिबाट काठमाडौंको सबै ठाउँ देखिन्छ, रातको समयमा झलमल्ल काठमाडौं देख्नुको आनन्द बेग्लै छ, अग्लो ठाउँमा पुगेर शीशामाथि हिँड्नु आफैमा अनौंठो कुरा हो, त्यसैले जब हामीले सिसामाथि टेकेर तल हेरिन्छ तब फरक अनुभूति मिल्छ,’ उनले भने । टावरको २४ र २५ तलामा रेस्टुरेन्ट रहनेछन् । सो रेस्टुरेन्ट लिजमा दिने हो कि आफै चलाउने भन्ने विषयमा प्रवद्र्धहरुबीच आन्तरिक छलफल भइरहेको उनले बताए । भूई तलको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ । २ अर्ब लगानी निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करिब २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । छोटो अवधिमा नै लगानी उठाउन सक्ने प्रवद्र्धकहरुको भनाई छ । टिकट प्रतिव्यक्ति १००० रुपैयाँ तोक्ने सोच बनेको तर अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माताहरुको छ । त्यसबाहेक टावरको वाहिरी क्षेत्रमा दुई तलाको भवन बन्दैछ । जहाँ दर्जनौ सटरहरु हुनेछन् । ‘सटरहरु भाडामा लगाउँछौं, रेष्टुरेन्टहरु पनि लिजमा दिन्छौं होला । यो प्रजेक्टको लगानी छिटै उठ्ने हाम्रो विश्वास छ’ एक प्रवद्र्धकले भने । ‘राष्ट्रको गौरवशाली आयोजनामध्ये यो पनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्त पनि उत्तिकै छौं,’ उनले भने । रोक्काका अनुसार जग्गा विनोद विक्रम सिंहसँग लिजमा लिएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ ।
साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट २५ मेगावाट बिजुली उत्पादन हुने
लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ । कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ । ‘यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ’, प्रवद्र्धक वस्तीले भने, ‘आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने छ ।’ यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिक रुपमा बिजुली उत्पादन हुनेछ । आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । रासस
बेनी–सिमखण्ड कालोपत्र भएपछि डेढ घण्टा यात्रा २० मिनेटमा छोटियो
फाइल फाेटाे म्याग्दी । बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका–२ सिमलचौरका अशोक पौडेलले यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्रा अवधि कालोपत्र भएपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । ‘म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवज जावतमा सहज भएको छ’, उनले भने, ‘ढुवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको ब्यापार व्यवसायमा पनि फरक हुन थालेको छ ।’ बेनी नगरपालिका–४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताए । ‘हिलो, धुलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाहे थियो’, १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आएका उनले भने, ‘सडकका कारण कुनै दिन बजारमा दूध पुर्याउन सकिँदैनथ्यो ।’ बेनीदेखि मङ्गला गाउँपालिका–२ सिमसम्मको सडक कालोपत्र भएपछि जिल्लाको पश्चिमी भेगमा पर्ने तीन पालिकाका बासिन्दा लाभान्वित भएका छन् । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि सिमखण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्र भएको हो । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–सिमखण्डको सडक कालोपत्र सकिएको जानकारी दिए । ‘पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ’, उनले भने, ‘११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।’ डिबिएसटी प्रविधिको कालोपत्र गरिएको हो । कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले गत चैत पहिलो हप्तादेखि थालिएको कालोपत्र गर्ने काम असार अन्तिम साता सकिएको बताए । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कालोपत्र भएको खण्डको ढुवानी र यात्रु भाडा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन् । जिल्लाको ‘लाइफलाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका श्रीराम पौडेलले बताए । यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ । मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन् । चार किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो । रासस