जिउँदो मान्छेलाई मृतक बनाएर भत्ता असुली

काठमाडाैं । आँगनमा पतिको उपचार चलिरहेको छ, उनी बिरामी भएर खाटमा थलिएका छन् । तर, वडा कार्यालयको कागजमा भने ती पति मृत भइसकेका छन् । कागजी पन्नामा श्रीमती एकल महिला वा विधवा बन्छिन् र राज्यको ढुकुटीबाट सुटुक्क भत्ता निकासा हुन्छ । उता ७० वर्ष उमेर नपुगेका मानिसहरू एकाएक कागजमै वृद्ध बन्छन् ।  यो कुनै चलचित्रको काल्पनिक कथा होइन, रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ (मत्सरी) मा वर्षौंदेखि निर्वाध चलेको एउटा भयानक सामाजिक र प्रशासनिक अपराधको यथार्थ कथा हो ।  आर्थिक वर्ष २०७४/०७५ मा स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधिहरू चुनिएर आए । स्थानीय सरकार आएपछि गाउँमै सिंहदरबार पुग्ने र नागरिकले झन्झटमुक्त सेवा पाउने आशा थियो । तर, दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा भने स्थानीय सरकारले चलाएको सामाजिक सुरक्षा कार्ड संकलन शिविर नै भ्रष्टाचारको मुख्य अखडा बन्न पुग्यो ।  शिविर सञ्चालनका क्रममा वडा कार्यालयले सर्वसाधारणसँग नागरिकताको फोटोकपी मागेको थियो ।  न त मृत्यु दर्ताको प्रमाणपत्र गहन रूपमा जाँचियो, नत परिवारको स्थलगत वस्तुस्थिति नै बुझियो । सोझा र अनपढ गाउँलेहरूबाट नागरिकता बोकेर वडाका जनप्रतिनिधि र पञ्जीकरण अधिकारीले कागजी रूपमा जीवित पतिलाई नै मृत ठहर गराए । गाउँमै बसिरहेका, खेतीकिसानी गरिरहेका वा औषधि उपचार गराइरहेका पुरुषका श्रीमतीहरूलाई किर्ते कागजातका आधारमा विधवा भत्ता पाउने सूचीमा चढाइयो । यस घोटालामा चार मुख्य तरिका अपनाइएको अनुसन्धानबाट खुलेको छ । पहिलो, घरमै पतिको उपस्थिति हुँदाहुँदै पनि वडाध्यक्ष र सचिवको सिफारिसमा श्रीमतीलाई विधवा बनाएर कार्ड जारी गरियो । दोस्रो, ७० वर्ष नपुगेका नागरिकहरूलाई कागजातमा उमेर बढाएर÷सच्याएर ज्येष्ठ नागरिक भत्ताको सूचीमा राखियो । तेस्रो, फरक–फरक व्यक्तिहरूको भुक्तानी भरपाईमा एउटै बिचौलियाको औंठाछाप प्रयोग गरियो । र चौथो, गाउँपालिकाका पूर्व निमित्त कार्यकारी अधिकृतको युजर आईडी दुरुपयोग गरी कम्प्युटर प्रणालीमा नियम विपरीतका नामावली प्रविष्टि गरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले यो घोटालामा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी र बिचौलियाको स्पष्ट त्रिकोण फेला पारेको छ । वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले मापदण्ड र सक्कल कागजात नपुगेका व्यक्तिहरूलाई भत्ता कार्डमा हस्ताक्षर गरी कानुनी मान्यता दिएका थिए । वडा सचिव तथा पञ्जीकरण अधिकारी उमेश चौधरीले लाभग्राही सूची रुजु नगरी भुक्तानी भरपाई तयार पारेर किर्ते विवरण स्वीकृत गराएका थिए ।  त्यसैगरी तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरले कम्प्युटर प्रणालीमा आफ्नो युजर आईडी दुरुपयोग हुन दिई सुपरीवेक्षण नगरेको पाइएको छ ।  घोटालाको निष्पक्ष पुष्टि गर्न अख्तियारको टोलीले शंकास्पद देखिएका आ.व. २०७४÷०७५ देखि २०७६÷०७७ सम्मका सक्कल भरपाईहरू नियन्त्रणमा लिई राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृतको प्राविधिक परीक्षण रिपोर्टले दर्जनौं फरक–फरक महिला र वृद्धवृद्धाहरूको नाममा निकासा भएको रकमको भरपाईमा एउटै बिचौलिया वा कर्मचारीको औँठाछाप हानिएको पुष्टि ग¥यो । यसले सामाजिक सुरक्षाको भत्ता बास्तविक सर्वसाधारणसम्म नपुगी सिधै बिचौलिया र कर्मचारीको गोजीमा पुग्ने गरेको तथ्य उजागर ग¥यो । वर्षौंसम्म चलेको यो धन्दाको २०७८÷०७९ तिर गाउँभरि चर्चा हुन थालेपछि स्थानीय युवाहरू र सचेत नागरिकहरूले जिल्ला प्रशासन कार्यालय र अख्तियारमा उजुरी दिएका थिए ।  अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएपछि कारबाही र जेल सजायबाट बच्न २०८० साल ज्येष्ठमा मत्सरी गाउँका १८ भन्दा बढी महिलाहरूलाई हतार–हतार बैंक पठाएर ७५ हजार ९७३ देखि १ लाख ७ हजार रुपैयाँसम्मका दरले रकम फिर्ता जम्मा गराइयो ।  बैंकमा रकम फिर्ता बुझाएका पीडित महिलाहरूले आफूहरू अनपढ भएकाले वडाले नागरिकता माग्दा दिएको र पछि बैंकमा पैसा आउँदा बुझेको बयान दिएका छन् । गाउँमा जिउँदै श्रीमान् भएकाले भत्ता खाँदा जेल परिन्छ भन्ने हल्ला फैलिएपछि ऋण–धन खोजेर रकम फिर्ता बुझाउन बाध्य भएको उनीहरूको भनाइ छ ।  यद्यपि, सर्वोच्च अदालतको स्थापित कानुनी सिद्धान्त अनुसार अपराध घटिसकेपछि वा छानबिन सुरु भएपछि रकम फिर्ता गर्दैमा भ्रष्टाचारको दायित्वबाट उन्मुक्ति मिल्दैन ।  हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरी वडाध्यक्ष, सचिव, कार्यकारी अधिकृत र बिचौलिया÷लाभग्राहीसहित ४२ जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप–पत्र (निर्णय नं. २६, २०८३) दर्ता गराएको छ ।  आयोगले प्रतिवादीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी, हिनामिना र गलत लिखत तयार गरेको कसुरमा कडा सजाय, बिगो असुल र जरिवानाको मागदाबी गरेको छ । उनीहरुलाई अधिकतम् ६ वर्षको कैद सजाय माग गरिएको छ । 

घुस लिएर जग्गामा लगानी, श्रीमतीको नाममा कारोबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले पदमा रहँदा विभिन्न निर्माण कम्पनीलाई अर्बौं रुपैयाँका ठेक्कापट्टा दिलाएबापत घुस लिई सो रकम आफ्नी श्रीमतीको नाममा जग्गा खरिदमा लगानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध  १ करोड ७१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन तथा तहीकरण (सम्पत्ति शुद्धीकरण) को कसुरमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारको अनुसन्धान अनुसार अधिकारी क्यानको सिभिल इन्जिनियर (सातौं तह) देखि महानिर्देशकसम्मको पदमा रहँदा ’उमा एण्ड कम्पनी प्रा.लि.’ (जेभी समेत) लाई  ३ अर्ब ८ करोड ५७ लाख रुपैयाँभन्दा बढी र ठेकेदार प्रेम प्रकाश ढकाल प्रमुख रहेको ‘गायत्री निर्माण सेवा’ लाई १ करोड ११ लाख रुपैयाँभन्दा बढीका ठेक्कापट्टा पारेको अभियोगपत्रमा उल्लेख छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, गौतमबुद्ध, जनकपुर, रारा, कालिकोट तथा नलीनचोक हेलिपोर्ट लगायतका विभिन्न राष्ट्रिय आयोजनाका बोलपत्र स्वीकृत गर्ने र सहजीकरण गरिदिएबापत उनले ठेकेदारहरूसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिने सम्झौता गरेको खुलेको छ ।  अधिकारीले भ्रष्टाचारबापतको घुस सोझै नलिई सम्पत्ति शुद्धीकरण गर्ने नियतले आफ्नी श्रीमती सुफल के.सीको नाममा जग्गा खरिद गर्न प्रयोग गरेको अनुसन्धानमा देखिएको छ । ललितपुर महानगरपालिका वडा नं. ५ स्थित १३ आना (कि.नं. २२४) जग्गा जग्गाधनी रजनी श्रेष्ठबाट श्रीमतीको नाममा पास गर्दा जग्गाधनीका श्रीमान् सूर्य ताम्राकारको बैङ्क खातामा ठेकेदारहरूका खाताबाट सोझै रकम जम्मा गर्न लगाइएको उल्लेख छ ।   २ करोड ७५ लाख रुपैयाँमा तय भएको उक्त जग्गा खरिदमा राजस्व छलछाम र गैरकानुनी रकम लुकाउने उद्देश्यले लिखतमा भने ९१ लाख रुपैयाँ मात्र थैली कायम गरी मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गराइएको अभियोगपत्रमा उल्लेख छ ।  बैंक स्टेटमेन्ट र बयानका क्रममा जग्गाधनीका श्रीमान सूर्य ताम्राकारको खातामा उमा एण्ड कम्पनीको खाताबाट ५ लाख, सञ्चालक वासु खड्काको खाताबाट ४० लाख, सञ्चालकहरूको संयुक्त खाताबाट ४७ लाख, कर्मचारी राजन खड्काको खाताबाट १२ लाख र सञ्चालक प्रेम प्रकाश ढकालको खाताबाट २२ लाख रुपैयाँ दाखिला भएको उल्लेख छ ।  उमा एण्ड कम्पनीका सञ्चालकहरू वासु खड्का र ध्रुव प्रसाद तिमल्सिनाले क्यानको ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत अधिकारीले भनेकै बैंक खातामा एकाउन्ट पेयी चेक काटेर रकम दिएको अख्तियारसमक्ष स्वीकारेका छन् । यस प्रकरणमा अख्तियारले तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, उमा एण्ड कम्पनीका सञ्चालक प्रेम प्रकाश ढकाल र गायत्री निर्माण सेवालाई प्रतिवादी बनाएको छ । अधिकारीकी श्रीमती सुफल के.सी नेपाली सेनामा कार्यरत रहेकाले निजको हकमा संविधानको धारा २३९ र सैनिक ऐन, २०६३ बमोजिम आवश्यक कारबाहीका लागि जङ्गी अड्डा (सैनिक प्रहरी गण) मा फिर्ता पठाइएको छ ।  अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम१ करोड ७१ लाख रुपैयाँ बिगो, बिगो बमोजिम कैद तथा जरिवानाको माग गर्दै गैरकानुनी रूपमा खरिद गरिएको ललितपुरको १३ आना जग्गासमेत जफत गर्न मागदाबी गरेको छ ।

‘आफ्नै कमाइबाट जग्गा किनें, बैंकबाट कारोबार गरें’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का प्राप्ति तथा सहजीकरणका लागि घुस वा रिसवत बापत रकम लिएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएको बयानमा उनले आफूमाथि लगाइएका आरोपहरू असान्दर्भिक, मनोगत, तथ्यहीन र प्रतिशोधपूर्ण रहेको दाबी गरेका हुन् ।  उमा एण्ड कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले क्यानबाट सञ्चालित ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत अधिकारीको निर्देशनमा सूर्य ताम्राकारको नाममा बैंकमार्फत विभिन्न रकम रकम भुक्तानी गरेको भनी बयान दिएका थिए । सोबारे सोधिएको प्रश्नमा अधिकारीले उक्त विषयहरूसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् ।  अधिकारीका अनुसार ललितपुर महानगरपालिका–५ स्थित कित्ता नम्बर २२४ को १३ आना जग्गा उनका तर्फबाट श्रीमती सुफल केसीको नाममा सरकारी मूल्य अनुसार ९१ लाख रुपैयाँमा खरिद गरिएको हो । उक्त जग्गा खरिदको भुक्तानी बैंकिङ प्रणालीमार्फत नै गरिएको र त्यसको स्रोत दुवै जनाको नोकरीको आम्दानी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, कार्यालयको कल्याणकारी कोष, पूर्व जग्गा बिक्री तथा पारिवारिक वैधानिक आम्दानी रहेको उनले बयानमा उल्लेख गरेका छन् ।  जग्गाधनी रजनी श्रेष्ठ (ताम्राकार) र उनका श्रीमान् सूर्य ताम्राकारसँग आफ्नो कुनै व्यक्तिगत नजिकको चिनजान नरहेको र करिब ८–९ वर्षअघि टोलमा डेरा गरी बस्ने व्यक्तिको माध्यमबाट जग्गा खरिद–बिक्रीको कुरा अघि बढेको उनले बताएका छन् ।  उमा एण्ड कम्पनीका सञ्चालकहरू वासु खड्का, ध्रुवप्रसाद तिमल्सिना र कर्मचारी राजन खड्काले ठेक्का सहजीकरणका लागि अधिकारीकै निर्देशनमा सूर्य ताम्राकारको खातामा लाखौं रुपैयाँका चेकहरू काटिदिएको बयान दिएका छन् ।  यसबारे टिप्पणी गर्दै अधिकारीले भनेका छन्, ‘असम्बन्धित व्यक्तिहरूबीच भएको आन्तरिक वा आपसी आर्थिक कारोबारको विषयमा मलाई जानकारी हुने कुरा भएन । उनीहरूबीचको कानुनी पक्षको जिम्मेवारी उनीहरू स्वयंको हो । असम्बन्धित व्यक्तिको मनोगत, तथ्यहीन र प्रतिशोधपूर्ण ढङ्गबाट लेखाइएको बयानका आधारमा ममाथि प्रश्न उठाउनु असान्दर्भिक छ ।’  साथै, प्राधिकरणबाट हुने सम्पूर्ण खरिद कार्यहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको नियम, खुला प्रतिस्पर्धा, अनलाइन बोलपत्र र मूल्याङ्कन समिति मार्फत पारदर्शी रूपमा हुने गरेको दाबीसमेत उनले गरेका छन् । वैधानिक स्रोत र बैंकिङ माध्यमबाटै जग्गा खरिद कार्य सम्पन्न भएकाले आफूमाथि कुनै कारबाही हुनुपर्ने आधार नरहेको जिकिर अधिकारीले आयोगसमक्ष गरेका छन् ।  यस्तो छ अधिकारीको बयान उमा एण्ड कम्पनीका संचालक प्रेम प्रकाश ढकालसंग चिनजान छ । व्यक्तिगत रुपमा मेरो कुनै आर्थिक कारोबार छैन । कामको सिलसिलामा ७/८ वर्ष देखि चिनजान भएको हो । उमा एण्ड कम्पनीका संचालक÷अध्यक्ष वासु खड्का र ध्रुव प्रसाद तिमल्सिनासंग व्यक्तिगत रुपमा नजिकको चिनजान छैन। भेट भैरहने व्यक्ति पनि होइनन् । व्यक्तिगत आर्थिक कारोबार छैन । उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्कासँग मेरो चिनजान छैन । जिल्ला भक्तपुर साविक भक्तपुर गाउँ पंचायत ५ भई हाल सुर्य विनायक ५ कटुन्जे बस्ने राम बहादुर ताम्राकारको छोरा सूर्य ताम्राकार र निजकी श्रीमती रजनी श्रेष्ठ (ताम्राकार) सँग मेरो व्यक्तिगत रुपमा दुवै जनासँग नजिकको चिनजान छैन ।  जग्गा खरिदको क्रममा आर्थिक कारोबार भएको छ । मिति २०७५/०३/०४ मा सुर्य ताम्राकारको श्रीमती रजनी श्रेष्ठ (ताम्राकारको) नाममा रहेको जिल्ला ललितपुर, ललितपुर नगर ५ क्ष स्थित कि.नं.२२४, क्षेत्रफल ०-१३-०-० (तेह आना) को जग्गा मेरो श्रीमती सुफल के.सी.को नाममा खरिद गर्दा मालपोत रजिष्ट्रेशन अनुसार रु.९१,००,०००।– (एकानब्बे लाख) मा खरिद गरिएको हो । बैंकिङ्ग कारोबार थैली बराबरको रकम भुक्तानी भएको छ । खरिद प्रकृयाको प्रमाणहरु सम्मानित आयोग समक्ष पहिला नै पेश गरेको छु । उमा एण्ड कम्पनीका संचालक वासु खड्काले यस आयोगसँगको मिति २०८३/०२/०६ गतेको बयानमा नेपाल नागरिक उड्डड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले भने बमोजिम प्राधिकरण तथा मातहत निकायबाट संचालन हुने ठेक्काको प्राप्ति र संचालनमा सहजीकरणको लागि घुस÷रिसवत बापत नेपाल बंगलादेश बैंकको वासु खड्काको आफ्नो नेपाल बंगलादेशमा बैंकमा रहेको खाता नं.५०००१६ को चेक नं.३४७३०८२ बाट रु.४०,००,०००।, उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्काको नेपाल बंगलादेशमा बैंकमा रहेको खाता नं.५०००२७क्प्को चेक नं.३१११७३४ बाट रु.१२,००,०००।–, वासु/ध्रुब/प्रेम प्रकाशको संयुक्त नाममा रहेको नेपाल बंगलादेश बैंक लि. रहेको खाता नं. ५०००३१ बाट रु.२७,००,०००।– र रु.२०,००,०००।– बराबरका चेकहरु दुईपटक गरी जम्मा रु.४७,००,०००।–, उमा एण्ड कम्पनीको नाम रहेको नेपाल बंगलादेश बैंक लिमिटेडको खाता नं.५०९५२११८ को चेक नं.३१११०६७ बाट मिति २०७५÷०३÷०३ (१७ व्गलभ २०१८) गते रु.५०,००,०००।– तपाई प्रदीप अधिकारीले भने अनुसार सूर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा चेक काटिदिएको हो भनि खुलाईदिनुभएको विषय म सँग सम्बन्धित नै छैन ।  उमा एण्ड कम्पनीका संचालक ध्रुव प्रसाद तिमल्सिनाले यस आयोगसँगको मिति २०८३÷०२÷०५ को बयानमा नेपाल नागरिक उड्डड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले भने बमोजिम प्राधिकरण तथा मातहत निकायबाट संचालन हुने ठेक्काको प्राप्ति र संचालनमा सहजीकरणको लागि नेपाल बंगलादेश बैंकको वासु/ध्रुब/प्रेम प्रसादको संयुक्त खाता नं.५०००३१ को चेक नं.३५६६३९२ बाट मिति २०७५/०३/०१ (१५ जुन २०१८) गते रु.२७,००,०००/– (सत्ताईस लाख) र चेक नं.३५६६३९३ बाट मिति २०७५/०३/०३ (१७ जुन २०१८) गते रु.२०,००,०००.– (बीस लाख) गरी जम्मा रु.४७,००,०००।, प्रदीप अधिकारीले भने अनुसार सूर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा चेक काटिदिएको हो भनि खुलाईदिनुभएको विषय मसँग सम्बन्धित छैन ।  उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्काले संचालक प्रेम प्रकाश ढकालले भने बमोजिम आफ्नो व्यक्तिगत नेपाल बंगलादेश बैंकमा रहेको खाता नं५०००२७ को चेक नं.३१११७३४ बाट रु.१२,००,०००।– (बाह लाख) निजले भने अनुसार सूर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा चेक काटिदिएको हो र उक्त रकम नेपाल नागरिक उड्डड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले भने बमोजिम प्राधिकरण तथा मातहत निकायबाट संचालन हुने ठेक्काको प्राप्ति र संचालनमा सहजीकरणको लागि घुस रिसवत बापतको रहेछ भनि सुनि थाहा पाएँ भनि यस आयोगसँगको मिति २०८३÷०२÷०७ गतेको बयानमा खुलाएको विषय मसँग सम्बन्धित छैन ।  सुर्य ताम्राकारले यस आयोगसँगको मिति २०८३÷०२÷१९ गतेको बयानमा रजनी श्रेष्ठ (ताम्राकारको) नाममा रहेको जिल्ला ललितपुर, ललितपुर नगरस्थित कि.नं. २२४, क्षेत्रफल ०–१३–०–० (तेह आना) को जग्गा अधिकृत वारेशनामा मार्फत मिति २०७५÷०२÷२७ गते आनाको रु.३०,५०,०००।– (तिस लाख पचास हजार) का दरले बैना गरी फिल्डमा नाप्दा एकीन भए बमोजिमको क्षेत्रफल मान्ने सहमति अनुसार बिक्री गरेको हो । सो बापतको पैसा निजको तर्फबाट उमा एण्ड कम्पनी, उमा एण्ड कम्पनीका संचालकहरु वासु खड्का, प्रेम प्रकाश ढकाल, ध्रुव प्रसाद तिमल्सिना र उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्का समेतबाट चेक मार्फत प्राप्त गरिसकेको छु भनि खूलाई दिनुभएको विषयमा असम्बन्धित व्यक्तिहरुको बिच भएको कारोबारको विषयमा मलाई जानकारी हुने कुरा भएन र उनीहरु बिचको आपसी कारोबारहरुको कानूनी पक्षहरुको जिम्मेवारी निजहरुको नै हुने हो । जग्गा खरिद गर्दा पारदर्शी हिसाबले आफ्नो स्रोत देखाई बैंकिङ्ग कारोबार मार्फत उक्त जमिन लिईएको हो । सुर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा नेपाल बंगलादेश बैंकमा प्रेम प्रकाश ढकालको नाममा रहेको नेपाल बंगलादेश बैंकमा रहेको खाता नं.००५००५१८४७९२ को चेक नं.००००५६५४१७ बाट मिति २०७५÷०३÷०३ (१७ जुन २०१८) मा रु.२२,००,०००÷– (बाईस लाख मात्र) कारोबार मसँग सम्बन्धित छैन ।  रजनी श्रेष्ठ ताम्राकारको नाममा रहेको कि.न.२२४, को १३ आना जग्गा खरिद गर्दा थैली रकम रु.९१,००,०००।– (एकानब्बे लाख मात्र) बराबरको रकम चेक मार्फत भुक्तानी गरिएको हो । उक्त भुक्तानीको स्रोत दुवै जनाको नोकरीबाट प्राप्त आम्दानी, नागरिक लगानी कोष, कर्मचारी संचयकोष र कार्यालयको कर्मचारी कल्याण कोष, जग्गा बिक्री एवं पारिवारिक आम्दानीबाट बैधानिक रुपमा बैंकमा जग्गा भएको मौज्दात हो । जग्गा धनीसँग मेरो त्यतिवेला चिनजान सम्पर्क केही थिएन । करिब ८–९ वर्ष अगाडी आफ्नो टोलमा डेरा गरी बस्ने ब्यक्ति मार्फत जग्गाको कारोबार भएको हो निजको नाम सम्पर्क हाल थाहा छैन ।  प्रेम प्रकाश ढकाललाई जग्गा, घर र फर्निसिङ्ग समेतको घर रु.२,५०,००,०००।– मा नियमानुसार थैली कायम गरी रजिष्ट्रेशन पास गरेको हो । जग्गा खरिदको सम्बन्धमा थैली रकम ९१ लाख राखी नेपाल सरकारको प्रचलित ऐन अनुसार बैध स्रोतबाट आर्जित रकम बैंक कारोबार मार्फत खरिद गरिएको हो । विभिन्न मितिमा भएका खरिद कार्यहरु खुल्ला प्रतिस्पर्धा मार्फत सार्वजनिक खरिद अनुगमन कार्यालय सम्बन्धित बिड डकुमेन्ट, अनलाइ खरिद, खरिद इकाई, मुल्याङ्कन समिति मार्फत भएको कार्यहरु हुन् । म सँग असम्बन्धित कारोबारहरु, असम्बन्धित व्यक्तिका मनोगत तथ्यहीन, काल्पनिक, प्रतिशोधपूर्ण परिचालित ढंगबाट लेखाइएको बयानमा समेत भनेको देखिएको भनी व्यहोरा रहेको प्रश्नहरु नै असान्दर्भिक छन् । नेपाल सरकारको प्रचलित कानून अनुसार जिम्मेवार निकायबाट बैधानिक श्रोत मार्फत जग्गा खरिद भएको हुनाले कुनै कारवाही गर्नुपर्ने देखिँदैन ।  सम्बन्धित सामग्री : प्रदीप अधिकारीलाई १० वर्षको कैद माग, पौने २ करोड बिगो