काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूले गत आर्थिक वर्ष २०८२÷८३ मा करिब ७ अर्ब रुपैयाँ ब्रोकर कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ९२ वटा ब्रोकर कम्पनीले समीक्षा अवधिमा कुल ६ अर्ब ९० करोड १३ लाख ९३ हजार रुपैयाँ कुल कमिसन आर्जन गरेका हुन् ।
नेप्सेका अनुसार सबैभन्दा बढी कमिसन साउन र चैत महिनामा संकलन भएको छ । साउनमा १ अर्ब २६ करोड ४ लाख १३ हजार रुपैयाँ तथा चैतमा १ अर्ब १७ करोड २५ लाख ९२ हजार रुपैयाँ कमिसन आर्जन भएको छ ।
अन्य महिनाको विवरणअनुसार माघमा ८९ करोड ४२ लाख ५९ हजार रुपैयाँ, वैशाखमा ४८ करोड ८३ लाख ४७ हजार रुपैयाँ, फागुनमा ४६ करोड ४ लाख ७३ हजार रुपैयाँ, मंसिरमा ४३ करोड ४७ लाख ७५ हजार रुपैयाँ, पुसमा ४२ करोड २ लाख ८० हजार रुपैयाँ, भदौमा ४२ करोड ४६ लाख ८ हजार रुपैयाँ, असारमा ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ, जेठमा ३६ करोड ६२ लाख २९ हजार रुपैयाँ, कात्तिकमा ३२ करोड ७७ लाख १५ हजार रुपैयाँ र असोजमा २७ करोड ११ लाख ८ हजार रुपैयाँ कमिसन आर्जन भएको नेप्सेले जनाएको छ ।
ब्रोकर कम्पनीमध्ये नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) सबैभन्दा बढी कमिसन आर्जन गर्ने कम्पनी बनेको छ । कम्पनीले ४७ करोड १८ लाख ४० हजार रुपैयाँ कमिसन आर्जन गरेको छ । त्यसपछि भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले २५ करोड ८६ लाख ५० हजार रुपैयाँ, सनी सेक्युरिटिज (ब्रोकर नं. ४२)ले २४ करोड ८६ लाख ३७ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५)ले २४ करोड ५२ लाख ६१ हजार रुपैयाँ, अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९)ले २२ करोड २३ लाख २० हजार रुपैयाँ तथा त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १९ करोड ९९ लाख ५५ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
त्यस्तै, आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ५७)ले १८ करोड २९ लाख ३१ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले १८ करोड १२ लाख ६७ हजार रुपैयाँ, दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८)ले १६ करोड २० लाख २ हजार रुपैयाँ, एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७)ले १४ करोड ७९ लाख ५७ हजार रुपैयाँ र क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नं. ६२)ले १४ करोड ६४ लाख २७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
यसैगरी कोहिनूर इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ३५)ले १३ करोड ६२ लाख ९९ हजार रुपैयाँ, श्री हरि सेक्युरिटिज (ब्रोकर नं. ५६)ले १३ करोड ४२ लाख ६८ हजार रुपैयाँ, नेपाल स्टक हाउस (ब्रोकर नं. १४)ले १३ करोड १६ लाख १३ हजार रुपैयाँ, प्रिमियर सेक्युरिटिज (ब्रोकर नं. ३२)ले १२ करोड ५३ लाख ६० हजार रुपैयाँ, अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ६)ले ११ करोड ७९ लाख ३९ हजार रुपैयाँ, श्री कृष्ण सेक्युरिटिज (ब्रोकर नं. २८)ले ११ करोड ६६ लाख ३० हजार रुपैयाँ, सुमेरु सेक्युरिटिज (ब्रोकर नं. ३९)ले ११ करोड ५६ लाख २६ हजार रुपैयाँ, दक्षिणकाली इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं. ३३)ले ११ करोड ५४ लाख ६३ हजार रुपैयाँ तथा लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले ११ करोड ४१ लाख ८७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
समीक्षा अवधिमा सबैभन्दा कम कमिसन मनी वल्र्ड सेयर एक्सचेन्ज (ब्रोकर नं. ७३)ले ४८ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले १२ लाख २२ हजार रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले ३५ लाख ५ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ९६ लाख ५६ हजार रुपैयाँ र सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले १ करोड ५ लाख ९२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका उपाध्यक्ष नितेश अग्रवालका अनुसार अहिले ब्रोकरहरूको आम्दानी मुख्य रूपमा क्यास मार्केटमा निर्भर छ । बजारमा कारोबार रकम अत्यधिक उतारचढाव हुने भएकाले व्यवसायको दिगोपनमा चुनौती रहेको उनको भनाइ छ ।
उनका अनुसार ब्रोकर उद्योगबाट लगानीकर्ता र नियामक निकायले गुणस्तरीय प्रविधि र सेवा अपेक्षा गरेका छन् । तर त्यसका लागि आवश्यक लगानी उठाउन व्यवसायको दायरा विस्तार गर्नुपर्ने उनी बताउँछन् । ब्रोकर कमिसन मात्रै पुनरावलोकन गर्दै जाने हो भने उद्योग प्रतिस्पर्धी बन्न नसक्ने उनको तर्क छ ।
अग्रवालले कमिसन पुनरावलोकनसँगै नयाँ वित्तीय उपकरण र सेवा पनि ल्याउनुपर्ने बताए । प्रविधिमा लगानी गर्न लागत कम हुनुपर्ने र त्यसका लागि आवश्यक नीतिगत सहजीकरण हुनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार कुल ब्रोकर कमिसनबाट २० प्रतिशत नेप्सेलाई जाने भएकाले वास्तविक रूपमा ब्रोकर कम्पनीको आम्दानी निकै सीमित हुन्छ । ९२ वटा ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ रहेकामा केही कम्पनीको पुँजी ६० करोडदेखि १५० करोड रुपैयाँसम्म पुगेको छ ।
अग्रवालका अनुसार करिब १ हजार ८४० करोड रुपैयाँ बराबरको पुँजी लगानी भएको उद्योगले अहिले प्राप्त गरिरहेको प्रतिफल सन्तोषजनक छैन । कम्प्लायन्स खर्च, प्रविधि, जनशक्ति र सञ्चालन खर्च कटाउँदा व्यवसाय टिकाउनै कठिन हुने अवस्था रहेको उनको भनाइ छ ।
उनले ब्रोकरको भूमिका केवल अनलाइनबाट सेयर किनबेच गराउने मात्र नभई कारोबारको सेटलमेन्ट सुनिश्चित गर्ने र बजारप्रतिको विश्वास कायम राख्ने भएको बताए । लगानीकर्ताले समयमै पैसा र सेयर प्राप्त गर्ने व्यवस्था ब्रोकरमार्फत नै सम्भव भएको उनको दाबी छ ।
अग्रवालले घाटा हुँदा कमिसन छुटको माग गर्ने हो भने नाफा हुँदा त्यसको केही हिस्सा पनि ब्रोकरलाई दिनुपर्ने व्यवस्था हुनुपर्ने तर्क गरे । बजार विकासका लागि ब्रोकरलाई प्रविधि र जनशक्तिमा लगानी गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
‘विगतमा ब्रोकर कमिसन पटक(पटक घटाइएकाले अब नयाँ सेवा र व्यवसायिक दायरा विस्तार भएपछि मात्रै कमिसन पुनरावलोकन गर्न सकिन्छ। पोर्टफोलियो म्यानेजमेन्टलगायत सेवा सञ्चालनको आशमा धेरै कम्पनीले पुँजी वृद्धि गरे पनि अहिलेसम्म अनुमति पाएका छैनन् । अब नियामक निकायले पहिले प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
लगानीकर्ता राजु पौडेलले ब्रोकरलाई इन्ट्रा-डे ट्रेडिङ, सर्ट सेलिङ, मार्जिन लेन्डिङलगायत नयाँ सेवा सञ्चालन गर्न अनुमति दिएपछि वैज्ञानिक आधारमा ब्रोकर कमिसन पुनरावलोकन गर्नुपर्ने बताए । धितोपत्र बोर्डको मार्गचित्रमा उल्लेख गरिएका योजना कागजमै सीमित नराखी कार्यान्वयनमा लैजानुपर्ने उनको आग्रह छ ।
पौडेलले धितोपत्र बोर्डको नेतृत्वमा सेयर बजार बुझेको व्यक्ति आएकाले सुधारको अपेक्षा रहेको बताए । उनका अनुसार लगानीकर्ताको हितसँगै ब्रोकर कम्पनीको दिगोपनलाई पनि ध्यानमा राखेर सबै पक्षलाई लाभ हुने गरी कमिसन संरचना तय गर्न आवश्यक छ ।
उनले हालको कमिसन संरचनाबाट ठूला ब्रोकर कम्पनीलाई बढी फाइदा भए पनि साना कम्पनीलाई व्यवसाय सञ्चालन गर्न कठिन भएको बताए । बजार घट्दा कतिपय ब्रोकर कर्मचारीको तलबसमेत व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
