५५ प्रतिशत एसियाली मुलुकका परिवारसँग छैन दीर्घकालीन वित्तीय योजना

काठमाडौं । बढ्दो महँगी र मुद्रास्फीतिका कारण एसियाली मुलुकका अधिकांश परिवार दीर्घकालीन वित्तीय योजना बनाउनुभन्दा दैनिक खर्च व्यवस्थापनमै केन्द्रित हुन थालेका छन् । हालै सार्वजनिक एक प्रतिवेदनअनुसार एसियाका ५५ प्रतिशत परिवारसँग दीर्घकालीन वित्तीय योजना छैन । योजना भएका परिवारमध्ये पनि अधिकांशले एक वर्षसम्मको मात्रै वित्तीय योजना बनाएका छन् । यसले भविष्यमा आइपर्न सक्ने आकस्मिक आर्थिक संकट तथा अवकाशपछिको जीवनका लागि परिवारहरूको आर्थिक तयारी कमजोर बन्दै गएको देखाएको छ । ‘सन लाइफ फाइनान्सियल इन्क’ ले जुन महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार दैनिक उपभोग्य वस्तु, इन्धन र घरखर्चको बढ्दो मूल्यले मानिसहरूलाई आफ्नो पैसा व्यवस्थापन गर्ने तरिका फेर्न बाध्य पारेको छ । सर्वेक्षणअनुसार ८३ प्रतिशत उत्तरदाताले बढ्दो महँगीका कारण मासिक खर्च धान्न कठिन भएको बताएका छन् । सर्वेक्षणले आर्थिक रूपमा सबल महसुस गर्ने परिवारको संख्या पनि घट्दै गएको देखाएको छ। अघिल्लो वर्ष ३२ प्रतिशत रहेको यस्तो परिवारको हिस्सा यस वर्ष २५ प्रतिशतमा झरेको छ । त्यस्तै, आफ्नो आर्थिक अवस्थाप्रति पूर्ण रूपमा सुरक्षित महसुस गर्ने परिवार  पनि १९ प्रतिशतबाट घटेर १३ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ । छोटो अवधिको वित्तीय योजनामा सीमित हुँदा परिवारहरूको आकस्मिक आर्थिक संकट सामना गर्ने क्षमता पनि कमजोर बन्दै गएको देखिएको छ । सर्वेक्षणमा सहभागी ६१ प्रतिशत उत्तरदाताले बिरामी वा बेरोजगारीका कारण आम्दानी गुमेमा बाह्य आर्थिक सहयोगबिना छ महिनाभन्दा बढी धान्न नसक्ने बताएका छन् । यसले अधिकांश परिवारसँग आकस्मिक अवस्थाका लागि पर्याप्त वित्तीय तयारी नभएको संकेत गरेको छ । खर्च धान्न बचत र अवकाश कोषमै निर्भर बढ्दो आर्थिक दबाबका कारण धेरै परिवारले आफ्नो वित्तीय व्यवहार परिवर्तन गर्न थालेका छन् । सर्वेक्षणअनुसार २५ प्रतिशत उत्तरदाताले दैनिक खर्च धान्न आफ्नै बचत प्रयोग गरिरहेका छन् । त्यस्तै, २७ प्रतिशतले अत्यावश्यकबाहेकका खर्चमा कटौती गरेका छन् भने १० प्रतिशतले अवकाश (रिटायरमेन्ट) का लागि गर्दै आएको बचत तथा लगानीसमेत रोकिदिएका छन् ।  भारतमा एचडीएफसी लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको अर्को अध्ययनले पनि आत्मविश्वास र वास्तविक वित्तीय तयारीबीच ठूलो अन्तर रहेको देखाएको छ । अध्ययनअनुसार कामकाजी महिलाहरूले आफ्नो आर्थिक तयारीको स्तर १०० मा ८४ अंक दिए पनि वास्तविक मूल्याङ्कन गर्दा उनीहरूको तयारी मात्र ५८ अंक पाइएको छ। महिलाहरू पुरुषको तुलनामा छोराछोरीको शिक्षा र घर जग्गा खरिदका लागि बढी बचत गर्ने गर्छन् । तर आधाभन्दा कम महिला मात्र अवकाश जीवनका लागि आर्थिक रूपमा तयार देखिएका छन् । विज्ञहरूका अनुसार कामकाजी महिलाहरूको योगदान पारिवारिक आम्दानीभन्दा धेरै माथि हुने भए पनि उनीहरूले आफ्नै दीर्घकालीन आर्थिक सुरक्षा र अवकाश पछिको आत्मनिर्भरताका लागि बेलैमा योजना बनाउनु आवश्यक छ ।

१५ सय रुपैयाँमै १० लाखसम्मको सुरक्षा

काठमाडौं । अब निर्जीवन बीमा कम्पनीहरूले वन्यजन्तु जोखिम केन्द्रित बीमालेख जारी गर्न पाउने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले यससम्बन्धी बीमालेख जारी गरेसँगै निर्जीवन बीमा कम्पनीहरूलाई यस्तो बीमालेख बिक्री गर्ने बाटो खुलेको हो । यो बीमालेख कार्यान्वयनमा आएपछि वन्यजन्तुको आक्रमणको उच्च जोखिममा रहेका परिवारले आर्थिक सुरक्षा तथा राहत पाउने अपेक्षा गरिएको छ । नेपालमा वन्यजन्तुको आक्रमणबाट प्रत्येक वर्ष सयौं मानिसको ज्यान जाने तथा धेरै घाइते हुने घटनाहरू भइरहेका छन् ।  यस्तो अवस्थामा यो बीमालेखले पीडित तथा प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।  प्राधिकरणका अनुसार बीमितले बीमा शुल्क भुक्तानी गरेपछि र प्रस्ताव फारम स्वीकृत भएपछि यो बीमालेख प्रारम्भ हुने छ ।  प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरू लघु बीमा कम्पनीसमेतले जारी गर्न पाउनेगरी यो बीमालेख तयार गरेको छ । बीमा कम्पनीले जारी गर्ने यो बीमालेख बीमक तथा बीमितबीच द्विपक्षीय करार हुनेछ ।  बीमकले बीमालेख मुद्रित वा विद्युतीय रुपमा जारी गर्न पाउनेछन् । बीमालेख जारी भएको मिति र समयबाट जोखिमको रक्षावरण प्रारम्भ भएको मानिनेछ । यो बीमालेख एकीकृत बीमालेख हुनेछ र बीमालेखको अवधि एक वर्षको हुनेछ । रक्षावरण सम्बन्धी व्यवस्था  यो बीमालेखले तोकिएका  १८ प्रकारका वन्यजन्तुका कारणबाट भएको क्षति रक्षावरण गर्नेछ । यो बीमालेखअनुसार हाती, गैंडा, बाघ, भालु, चितुवा प्रजाति, स्याल, मृग प्रजाति, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, अजिंगर, बाँदरलगायत वन्यजन्तुबाट बीमितलाई क्षति पुर्‍याएको अवस्थामा यो बीमालेखले जोखिम कभर गर्नेछ ।  यो बीमालेखअनुसार बीमितले १ हजार ५ सय रुपैयाँ मात्रै बीमा शुल्क तिरे पुग्छ । यति तिरेपछि बीमितले अधिकतम १० लाख रुपैयाँसम्मको सुरक्षा पाउनेछन् । यो बीमालेख अनुसार वन्यजन्तुको आक्रमणबाट बीमितको मृत्यु भएमा वा स्थायी रुपमा पूर्ण अशक्त भएमा १० लाख रुपैयाँसम्ममको रक्षावरण हुने व्यवस्था छ । अस्थायी रूपमा पूर्ण अशक्तता भएमा ५ लाख रुपैयाँसम्म बीमितले पाउनेछन् ।  औषधी उपचार  बीमालेखमा उल्लेख गरेअनुसारको वन्यजन्तुको आक्रमणबाट बीमित गम्भिर घाइते भएको अवस्थामा १ लाख रुपैयाँसम्म र सामान्य घाइतेको हकमा २० हजार रुपैयाँसम्मको उपचार खर्च उपलब्ध गराइने छ ।  त्यसैगरी, वन्यजन्तुले घर वा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएमा ५ लाख रुपैयाँ, कृषि प्रयोजनका लागि पालिएका पशुधनको क्षतिमा १ लाख रुपैयाँ र कृषि बालीको क्षतिमा ५० हजार रुपैयाँसम्मको दाबी भुक्तानी पाउने व्यवस्था यो बीमालेखले गरेको छ ।  दुर्घटना खर्च सुविधा बीमित परिवारका अधिकतम दुईजना सदस्यले मात्रै पाउनेछन् ।  वन्यजन्तुको आक्रमणबाट क्षति भएमा बीमितले ४८ घण्टाभित्र बीमकलाई जानकारी गराउनुपर्ने हुन्छ ।  आवश्यक कागजात  बीमा दाबीको लागि दाबी फारम, अस्पतालको बिल, मृत्यु भएको हकमा मृत्युदर्ताको प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र र वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको भनी विवरण खुल्ने प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । यी कागजात प्राप्त भएको ७ दिनभित्र बीमकले दाबी फर्स्याैट गरिसक्नुपर्नेछ  ।  दुर्घटनाको कारण बीमित व्यक्ति वा परिवारका सदस्यको मृत्यु भएको अवस्थामा बीमाङ्क रकमको सीमा भित्र रहने गरी बीमकले घटना भएको सात दिनभित्र शव व्यवस्थापन तथा काजक्रिया खर्चवापत पचास हजार रुपैयाँ भुक्तानी दिनु पर्नेछ । घर तथा भौतिक संरचनाको क्षति भएको हकमा बीमितले दाबी भुक्तानीको लागि  दाबी फारम, सर्जमिन मुचुल्का, दुर्घटनासम्बन्धी प्रहरी प्रतिवेदन, सम्पत्तिको क्षति भएको स्पष्ट देखिने फोटो, स्थानीय तहको सम्बन्धित प्राविधिकको मूल्यांकनसहितको सिफारिस पत्र बुझाउनुपर्ने हुन्छ । बीमालेखका थप सर्तहरू केही विशेष अवस्थाहरूमा भने बीमा दाबी पाउने छैनन् । यो बीमालेखअनुसार प्रचलित कानुनले निषेध गरेका क्षेत्रमा भएको गतिविधि, निषेधित बाली, वा तीन महिनाभन्दा कम उमेरका पशुधनको क्षतिमा यो बीमाले रक्षावरण गर्दैन ।  यस बीमालेख बमोजिम वन्यजन्तुको आक्रमणबाट भएको क्षतिबाहेक अन्य क्षति रक्षावरण गरिने छैन । बीमालेखले रक्षावरण गरिएको जोखिममध्ये बीमा अवधिभित्र सबै जोखिम एकै साथ नभएको अवस्थामा समेत बीमालेखको अवधिभर यो बीमालेख जारी रहनेछ । कृषि प्रयोजनको लागि पालन गरिएका पशुधनको मात्र यस बीमालेखले रक्षावरण गरिनेछ । त्यसैगरी, घर तथा भौतिक संरचनामा थपघट वा स्वामित्व परिवर्तन भएमा बीमितले बीमकलाई सोको जानकारी दिनु पर्नेछ  । बीमकले उक्त बीमालेख नयाँ धनीको नाममा नि:शुल्क नामसारी गरिदिनु पर्नेछ । पशुधन थपघट वा स्वामित्व परिवर्तन भएमा सोको विवरण बीमकलाई तत्काल जानकारी गराउनु पर्नेछ । बीमित स्थायी/अस्थायी पूर्ण अशक्त भएको कुरा मान्यता प्राप्त चिकित्सकबाट प्रमाणित हुनु पर्नेछ । यस बीमालेखले बीमालेखको अवधिभित्र बीमितले लगाएको कृषिबालीहरूको बीमाङ्क रकमको सीमासम्म रक्षावरण गर्नेछ । बीमितले क्षतिको विवरण सुरक्षित साथ राख्नुपर्छ । साथै सर्जमिन मुचुल्का तयार भएपश्चात मात्र क्षतिको विवरण क्षति भएको स्थानबाट हटाउन सक्नेछ । बीमितबाट बीमालेख हराएको अवस्थामा समेत बीमकले दाबी भुक्तानीमा सहजीकरण गर्नु पर्दछ । बीमकले मानव मृत्यु दाबी भुक्तानी बाहेक अन्य दाबीमा पाँच प्रतिशत रकम कट्टा गरी दाबी भुक्तानी गर्नु पर्नेछ । वन्यजन्तुको आक्रमणबाट बीमितले बसोवास गर्ने प्रयोजनका लागि तयार गरिएका पक्की, कच्ची. फुस, टिन वा माटोको घर तथा सोको परिसरभित्र रहेका गोठ, भान्साघर, शौचालय, पर्खाल जस्ता संरचनाहरूमा क्षति भएमा अधिकतम बीमाङ्ङ्कसम्म रक्षावरण हुनेछ ।

लिबर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा मंगलबार आयोजित कार्यक्रममा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष पुण्यप्रसाद पराजुली तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिकी नवनियुक्त अध्यक्ष बेगम केसी लाई अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा दुवै माइक्रो इन्स्योरेन्स कम्पनीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। शपथसँगै दुवै नवनियुक्त अध्यक्षले सम्बन्धित कम्पनीको सञ्चालक समितिको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन् ।