काठमाडौं । बढ्दो महँगी र मुद्रास्फीतिका कारण एसियाली मुलुकका अधिकांश परिवार दीर्घकालीन वित्तीय योजना बनाउनुभन्दा दैनिक खर्च व्यवस्थापनमै केन्द्रित हुन थालेका छन् । हालै सार्वजनिक एक प्रतिवेदनअनुसार एसियाका ५५ प्रतिशत परिवारसँग दीर्घकालीन वित्तीय योजना छैन ।
योजना भएका परिवारमध्ये पनि अधिकांशले एक वर्षसम्मको मात्रै वित्तीय योजना बनाएका छन् । यसले भविष्यमा आइपर्न सक्ने आकस्मिक आर्थिक संकट तथा अवकाशपछिको जीवनका लागि परिवारहरूको आर्थिक तयारी कमजोर बन्दै गएको देखाएको छ ।
‘सन लाइफ फाइनान्सियल इन्क’ ले जुन महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार दैनिक उपभोग्य वस्तु, इन्धन र घरखर्चको बढ्दो मूल्यले मानिसहरूलाई आफ्नो पैसा व्यवस्थापन गर्ने तरिका फेर्न बाध्य पारेको छ ।
सर्वेक्षणअनुसार ८३ प्रतिशत उत्तरदाताले बढ्दो महँगीका कारण मासिक खर्च धान्न कठिन भएको बताएका छन् । सर्वेक्षणले आर्थिक रूपमा सबल महसुस गर्ने परिवारको संख्या पनि घट्दै गएको देखाएको छ। अघिल्लो वर्ष ३२ प्रतिशत रहेको यस्तो परिवारको हिस्सा यस वर्ष २५ प्रतिशतमा झरेको छ ।
त्यस्तै, आफ्नो आर्थिक अवस्थाप्रति पूर्ण रूपमा सुरक्षित महसुस गर्ने परिवार पनि १९ प्रतिशतबाट घटेर १३ प्रतिशतमा सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।
छोटो अवधिको वित्तीय योजनामा सीमित हुँदा परिवारहरूको आकस्मिक आर्थिक संकट सामना गर्ने क्षमता पनि कमजोर बन्दै गएको देखिएको छ । सर्वेक्षणमा सहभागी ६१ प्रतिशत उत्तरदाताले बिरामी वा बेरोजगारीका कारण आम्दानी गुमेमा बाह्य आर्थिक सहयोगबिना छ महिनाभन्दा बढी धान्न नसक्ने बताएका छन् । यसले अधिकांश परिवारसँग आकस्मिक अवस्थाका लागि पर्याप्त वित्तीय तयारी नभएको संकेत गरेको छ ।
खर्च धान्न बचत र अवकाश कोषमै निर्भर
बढ्दो आर्थिक दबाबका कारण धेरै परिवारले आफ्नो वित्तीय व्यवहार परिवर्तन गर्न थालेका छन् । सर्वेक्षणअनुसार २५ प्रतिशत उत्तरदाताले दैनिक खर्च धान्न आफ्नै बचत प्रयोग गरिरहेका छन् । त्यस्तै, २७ प्रतिशतले अत्यावश्यकबाहेकका खर्चमा कटौती गरेका छन् भने १० प्रतिशतले अवकाश (रिटायरमेन्ट) का लागि गर्दै आएको बचत तथा लगानीसमेत रोकिदिएका छन् ।
भारतमा एचडीएफसी लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको अर्को अध्ययनले पनि आत्मविश्वास र वास्तविक वित्तीय तयारीबीच ठूलो अन्तर रहेको देखाएको छ । अध्ययनअनुसार कामकाजी महिलाहरूले आफ्नो आर्थिक तयारीको स्तर १०० मा ८४ अंक दिए पनि वास्तविक मूल्याङ्कन गर्दा उनीहरूको तयारी मात्र ५८ अंक पाइएको छ।
महिलाहरू पुरुषको तुलनामा छोराछोरीको शिक्षा र घर जग्गा खरिदका लागि बढी बचत गर्ने गर्छन् । तर आधाभन्दा कम महिला मात्र अवकाश जीवनका लागि आर्थिक रूपमा तयार देखिएका छन् । विज्ञहरूका अनुसार कामकाजी महिलाहरूको योगदान पारिवारिक आम्दानीभन्दा धेरै माथि हुने भए पनि उनीहरूले आफ्नै दीर्घकालीन आर्थिक सुरक्षा र अवकाश पछिको आत्मनिर्भरताका लागि बेलैमा योजना बनाउनु आवश्यक छ ।