नेपाल पुनर्बीमाको सञ्चालकमा अर्थमन्त्रालयका उपसचिव निरौला नियुक्त
काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला नियुक्त भएका छन् । कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) को व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रतिनिधित्व गर्नेगरी निरौला सञ्चालक पदमा नियुक्त भएका हुन् । उनलाई अर्थमन्त्रालयको असोज २५ गतेको निर्णयअनुसार नेपाल रिको सञ्चालक समितिको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम चितवनको सौराहामा सम्पन्न भएको छ । कार्तिक १३, १४ र १५ गते तीन दिनसम्म चलेको उक्त कार्यक्रम मनोरञ्जन, सीप विकास र क्षमता अभिवृद्धिमूलक गतिविधिसहित सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रसाईँले कम्पनीले नियमित रूपमा गर्दै आएको स्तरीय तालिम तथा कार्यक्रमहरूले अभिकर्ता लिडरहरूको व्यवसायिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अभिकर्ताहरूको पहिचान स्थापित गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहेको मनोरञ्जनात्मक साँझले सहभागीहरूलाई थप ऊर्जावान र प्रेरित बनाएको धारणा राखे । तीन दिनसम्म चलेको कार्यक्रममा देशभरबाट २ सयभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता थियो । कार्यक्रममा 'द आर्ट अफ सेलिङ' का लागि प्रशिद्ध अन्तर्राष्ट्रिय प्रशिक्षक अरनिको सिंहले बीमा बिक्री कलासम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएका थिए, जसले सहभागीहरूमा नयाँ उत्साह र आत्मविश्वास जगाएको थियो । कार्यक्रमको मुख्य आकर्षणमा लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्याण्डको लाइभ सांगीतिक प्रस्तुति रहेको थियो, जसले कार्यक्रमलाई थप रंगिन बनाएको सहभागीहरूले बताएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको प्रेरणा, सम्मान र सीप विकासका उद्देश्य राखी विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको सफलताको सुरुवात कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न कार्यक्रमको आयोजना गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरूसहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । सीईओ खत्रीले अभिकर्ताहरूलाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुईमत नरहेका बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँनयाँ योजनाहरू प्रस्तुत गरेका थिए । यसैगरी, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गरेका थिए । कार्यक्रममा सहभागी अभिकर्ताहरूले महानायक राजेश हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।