भौतिक पूर्वाधार पुनर्निर्माण कोषलाई एनएलजी इन्स्योरेन्सले दियो २५ लाख

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको 'भौतिक पूर्वाधार पुनर्निर्माण कोष' मा २५ लाख रुपैयाँ सहयोग गरेको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको संरचनाको पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । सोही निर्णयअनुसार २५ लाख रुपैयाँको चेक मंगलबार कम्पनीका सञ्चालक भरतबहादुर बस्नेत र प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अर्थमन्त्री रामेश्वर खनाललाई अर्थ मन्त्रालयमै आयोजित कार्यक्रममार्फत औपचारिक रुपमा हस्तान्तरण गरे । कम्पनीले राष्ट्रको पुनर्निर्माण र समृद्धिको यात्रामा निरन्तर साथ रहन्छ भन्ने विश्वास व्यक्त गरेको छ ।

जेनजी प्रदर्शनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि नेशनल लाइफको १ करोड सहयोग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । जेनजी आन्दोलनका क्रममा देशभरका सार्वजनिक संरचनामा भएको क्षति, पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका लागि यो सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ । उक्त रकम बराबरको चेक प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई मंगलबार एक विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगबारे सीईओ खत्रीले कम्पनीले विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । कम्पनीका अनुसार नियामक निकायको निर्देशनअनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आइरहेको छ ।

सन नेपाल लाइफको आई.एस.ओ/आई.ई.सी २७००१ः२०२२ प्रमाणपत्र नवीकरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ । कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।  आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।