'शिखर'मा शिखर, पछ्याउँदै सलिको
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमकहरूले ५० अर्ब ६० करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकले २९ लाख ६६ हजार १९५ वटा बीमालेख जारी गरेर ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो आव २०८१/८२ को तुलनामा कम्पनीहरूको व्यापार १५.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा बीमा कम्पनीहरूले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरी ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । १ वर्षमा सबैभन्दा धेरै व्यापार भित्र्याउने बीमा कम्पनीमा शिखर इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले १ वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १२.३८ प्रतिशतले बढेको छ । १ वर्षको अवधिमा दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) अगाडि रहेको छ । गत आवमा कम्पनीले ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ८.४० प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालय एभरेष्ट इन्स्योरेन्स रहेको छ । एक वर्षमा कम्पनीले ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ३१.०६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, गत आवमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५५ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ११ करोड ६२ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यापार १७.१३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३७.३० प्रतिशत, नेको इन्स्योरेन्सको ११.३७ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको २०.२४ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ११.९५ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा जीआईजी इन्स्योरेन्सले ३ अर्ब ८ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार प्रतिशत १४.०१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ८.२१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १४.८३ प्रतिशत र नेसनल इन्स्योरेन्सको २१.५८ प्रतिशतले बढेको छ ।
बीमा कम्पनीले अंकित मूल्यमै सेयर बेच्नुपर्ने, प्रिमियम रकम जगेडा कोषमा जम्मा गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले बीमा कम्पनीहरूले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्न नपाउने स्पष्ट कानुनी व्याख्या गरेको छ । विशेष ऐनको रूपमा रहेको बीमा ऐन, २०७९ ले अंकित मूल्यमै सेयर जारी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको ठहर गर्दै अदालतले यस्तो व्याख्या गरेको हो । न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासबाट भएको फैसलाको पूर्णपाठमा, हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा सेयर जारी गरेको कार्यलाई कानुन विपरीत ठहर गरिएको छ । यद्यपि, रिट निवेदनको अन्तिम टुङ्गो लाग्नु अगावै सेयर निष्कासन, बिक्री तथा बाँडफाँडको सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको हुनाले अदालतले निवेदकको माग बमोजिमको सेयर जारी गर्ने कार्य रोक्ने वा बदर गर्ने आदेश जारी गर्न नमिल्ने भन्दै रिट निवेदन खारेज गरेको छ । अदालतले आफ्नो फैसलामा बीमा ऐन, २०७९ लाई विशेष ऐन मान्दै यसको दफा ४५(५) को व्यवस्था आकर्षित हुने प्रस्ट पारेको छ । उक्त दफामा बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा अंकित मूल्यको सतप्रतिशत रकम मात्र माग गर्नुपर्ने व्यवस्था छ । विशेष ऐनले रोक लगाएको विषयमा कम्पनी ऐन, २०६३ वा धितोपत्रसम्बन्धी ऐनका सामान्य व्यवस्थाहरू लागू हुन नसक्ने अदालतको ठहर छ । यसैगरी, नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले लगानीकर्ताको हित संरक्षण गर्ने आफ्नो कानुनी जिम्मेवारी जिम्मेवारीपूर्वक पूरा नगरेको भन्दै अदालतले आलोचना गरेको छ । कानुन विपरीत प्रिमियम मूल्यमा सेयर जारी गर्न स्वीकृति दिँदा धितोपत्र बजारप्रतिको लगानीकर्ताको विश्वासमा प्रतिकूल असर पर्नुका साथै संस्थागत सुशासनसमेत कमजोर हुने फैसलाको पूर्णपाठमा उल्लेख छ । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई आपसी समन्वय गरी उक्त प्रिमियम रकमलाई एउटा जगेडा कोष थापना गरी राख्ने व्यवस्था मिलाउन आदेश दिइएको छ । अधिवक्ता यमप्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले सर्वोच्चमा रिट दायर गर्दै हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि अंकित मूल्य रु. १०० मा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा सेयर जारी गर्ने निर्णय बदर गर्न माग गरेका थिए । विपक्षीका तर्फबाट भने धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २५ बमोजिम लगातार मुनाफा, नेटवर्थ, र क्रेडिट रेटिङजस्ता सम्पूर्ण मापदण्ड पूरा गरी नियामक निकायहरूबाट विधिवत स्वीकृति लिइएको जिकिर गरिएको थियो । अदालतले प्रक्रिया सकिएकाले लगानी भइसकेको सर्वसाधारणको हितलाई ध्यानमा राखी रिट खारेज गरे पनि भविष्यका लागि भने बीमा क्षेत्रमा प्रिमियम सेयर निष्कासनको बाटो पूर्ण रूपमा बन्द गरिदिएको छ ।
नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई सम्मान, प्रशिक्षण र सांगीतिक कार्यक्रम आयोजना
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक व्यवसायिक लक्ष्य पूरा गर्न सफल उत्कृष्ट अभिकर्ताका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले वैशाख २०८३ मा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्दै तोकिएको लक्ष्य पूरा गरेका अभिकर्तालाई लक्षित गरी ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक तथा अभिकर्तासहित करिब ३०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट नतिजा हासिल गरेको उल्लेख गर्दै त्यसका लागि नियमनकारी निकाय, ग्राहक, अभिकर्ता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ गुणस्तरीय सेवा र सुविधा प्रदान गर्न कम्पनी थप प्रतिबद्ध रहेको बताउँदै अभिकर्ता सञ्जाललाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा विशेष ध्यान दिइने बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय बीमा उपाधि एमडीआरटी हासिल गर्न आवश्यक रणनीति र कार्यशैलीबारे चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण दिएका थिए । कार्यक्रमको समापनतर्फ स्ट्यान्डअप कमेडियन सुमन कार्कीले हास्य प्रस्तुति दिएका थिए भने गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालले सांगीतिक प्रस्तुति दिएका थिए । त्यसैगरी गायक दीपक बज्राचार्य एन्ड रिदम ब्याण्डको लाइभ कन्सर्ट तथा डिजे अमुको प्रस्तुतीमा सहभागी अभिकर्ताले मनोरञ्जन लिएका थिए ।