हिमालयन लाइफको कामु सीईओमा कपिल कुमार दाहाल नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कपिल कुमार दाहाललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ । यसअघि कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि, सञ्चालक समितिले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दाहाललाई कार्यबाहक सीईओको जिम्मेवारी सुम्पिएको हो । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ईश्वर कुमार सेडाईले जानकारी दिएका छन् । दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध रहँदै आएका छन् र हिमालयन लाइफ इन्स्योरेन्समा डीसीईओको रूपमा संस्थागत सञ्चालन तथा व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएका थिए।
हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन् । बीमा अभिकर्ताहरूले प्रतिहजार ५० रुपैयाँ बोनसको माग गर्दै आएकोमा आफूले त्यसलाई सम्बोधन गर्न नसक्ने भएपछि विधानअनुसार नै राजीनामा दिएको सीईओ कर्णले विकासन्युजलाई जानकारी दिए । अभिकर्ताहरूले केही समयअघिदेखि बोनस, सुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दै आएका थिए । हिमालयन लाइफकी सिनियर एजेन्सी म्यानेजर एवं पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय सचिव अम्बिका गौतमले बोनससम्बन्धी माग सम्बोधन गर्न नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएको बताइन् । सीईओले राजीनामा दिएसँगै अब अभिकर्तालाई गरेको व्यवहार, बीमितको बोनस दरमा सुधार आउने र सुशासन भएपछि बीमा कम्पनीले लय समात्ने उनको भनाइ छ ।
नेपाल पुनर्बीमाले बीमा कम्पनीहरूलाई भुक्तानी गर्यो डेढ अर्ब रुपैयाँ
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई सुरु गरेको छ । कम्पनीका अनुसार हालसम्म बीमा कम्पनीहरूमा डेढ अर्ब रुपैयाँभन्दा बढी रकम एडभान्स स्वरूप गइसकेको छ । कम्पनीले शुक्रबारदेखि बीमा कम्पनीहरूलाई दाबीबापतको भुक्तानी दिन सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार ठूला दाबी परेका कम्पनीहरू सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)लाई भुक्तानी दिइसकेको छ । कम्पनी स्रोतका अनुसार पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरूलाई भुक्तानी भइसकेको र दोस्रो चरणमा साना दाबी परेका कम्पनीहरुलाई पनि भुक्तानी दिन सुरु भइसकेको छ । ‘पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरुलाई हामीले भुक्तानी दिइसकेका छौं । अब दोस्रो चरणमा अरु दाबीहरुलाई पनि भुक्तानी दिन सुरु गरेका छौं, तिहारसम्मसबै कम्पनीहरुलाई एडभान्स बाँड्छौं,’ कम्पनी स्रोतले भन्यो । नेपाल बीमा प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ । प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो । नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । ‘बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरूको रिपोर्ट आएपछि बिना झन्झट अगाडि बढाउने हाम्रो तयारी छ ।