बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा उजुरी दिन प्राधिकरणको आह्वान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा उजुरी दिन आह्वान गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । प्राधिकरणका अनुसार बीमाको दायित्व निर्धारण एवं दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा सर्भेयरले बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिताविपरीत कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा विभिन्न गुनासा प्राप्त भएकाले यस्तो आह्वान गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘ बीमाको दायित्व निर्धारण एवं दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकका कर्मचारी तथा सर्भेयरले बीमासम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिताविपरीत कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा गुनासोहरु प्राप्त भइरहेको सन्र्दभमा यदि कुनै बीमक, बीमकका कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुखः दिएमा, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्यांकन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुनविपरीत कार्य गरेको भए त्यस्तो कार्यमा संलग्न व्यक्तिका विरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाहीका लागि सम्बन्धित सबै सरोकारवालालाई प्रमाणसहित उजुरी पेस गर्न आग्रह छ ।’ प्राधिकरणले उजुरी पेस गर्दा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको व्यहोरा, बीमा दाबी नम्बर तथा बीमालेख नम्बर, पुष्टि हुने कागजात, फोटो, भिडियो वा अन्य विवरण पेश गर्न भनेको छ । उजुरी नेपाल बीमा प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष दिन सक्नेछन् । हुलाकमार्फतः नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुर म. न.पा. १०, कुपण्डोल, ललितपुरमा पठाउन आग्रह गरेको छ । प्राप्त उजुरी तथा प्रमाणको गोपनीयता कायम राखी बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
व्यतित बीमालेख नवीकरणमा ब्याज–जरिवानामा ५० प्रतिशत छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क अर्थात् ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भई व्यतित भएका बीमालेखहरूमा असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण वा पुनर्जागरण गर्दा उक्त छुट सुविधा उपलब्ध गराइने जनाएको हो । जतिसुकै अवधिदेखि व्यतित भएका बीमालेख भए पनि नवीकरणका क्रममा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । कम्पनीले भने यस्तो सुविधा बीमाको अवधिभर एकपटक मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ । यस्तै, ब्याज-जरिवाना छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बीमालेख बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित वा प्रस्तावकले समर्पण (सरेंडर) गर्न चाहेमा नवीकरणका क्रममा छुट दिइएको ब्याज तथा जरिवाना बराबरको रकम कम्पनीले कट्टा गर्ने जनाएको छ ।
रिलायबल नेपाल लाइफको ३ करोड ७१ लाख कित्ता सेयरको लक-इन अवधि सकिँदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लक-इन अवधि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक-इन अवधि साउन ३० गते समाप्त हुने भएको हो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता रहेको कुल ५ करोड १९ लाख ६८ हजार कित्ता सेयरमध्ये संस्थापक सेयरधनी तथा कर्मचारीको नाममा रहेको सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो । कम्पनीका अनुसार लक-इन अवधिमा रहेको संस्थापक सेयरधनीको सेयर संख्या ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता रहेको छ । यस्तै कर्मचारीलाई बाँडफाँट गरिएको ७ लाख ७९ हजार ५२० कित्ता सेयरको पनि लक-इन अवधि सोही मितिमा समाप्त हुनेछ । सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ ।