काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्य रूपमा सम्पन्न गरेको छ ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिपमा आयोजित समारोह कम्पनीको ‘क्लब योजना’मा सफलता हासिल गर्न सफल देशभरका बीमा सल्लाहकारको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको हो ।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरतकुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसहित उच्च व्यवस्थापनको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारलाई बधाई तथा शुभकामना दिँदै कम्पनीप्रति देखाएको विश्वास र व्यवसाय वृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकार कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।
कम्पनीका डेपुटी सीईओ निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमको महत्वबारे चर्चा गर्दै सहकार्य र टिमवर्कबाट सफलता हासिल गर्न सकिने बताए ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कसमस क्लब सञ्चालन गरेको छ ।
क्लबमा सहभागी हुन वैयक्तिक कोड तथा टिम व्यवसायमार्फत संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्ने बीमा सल्लाहकार क्लबको सदस्य बन्न योग्य हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा सबै क्लब सदस्य तथा देशभरबाट वैयक्तिक कोड र टिम व्यवसायतर्फ उत्कृष्ट तीनमा पर्न सफल बीमा अभिकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् । चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालले विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नृत्य प्रस्तुतिसमेत राखिएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै आएको सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमा जोड दिँदै आएको जनाएको छ ।
कम्पनीले हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा दिइरहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा १७ हजारभन्दा बढी बीमा अभिकर्ता सक्रिय रहेको जनाएको छ ।