नेपाल लाइफले जित्यो उत्कृष्ट वार्षिक प्रतिवेदनको गोल्ड अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा यो उपलब्धि हासिल गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आयोजना गरेको विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ । अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गौरवको विषय भएको बताउँदै यसले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । उनले बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् । कम्पनीका अनुसार चैत मसान्त २०८३ सम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ । नेपाल लाइफले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गर्दै हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ । त्यसैगरी कम्पनीले नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाइसकेको छ । साथै, इक्रा नेपालबाट ‘डबल ए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको दाबी गरेको छ । हाल कम्पनीका ७७ वटै जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेको छ । नेपाल लाइफले आगामी दिनमा पनि ‘विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा’लाई प्राथमिकतामा राख्दै नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएको छ ।

यूनाइटेड अजोडको सेयर कट-अफ मूल्य ४४७.५० रुपैयाँ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लिलाम बढाबढमार्फत बिक्री गरिएको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहअन्तर्गतको अवितरित हकप्रद सेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरी बाँडफाँड गरिएकाे हाे । प्राप्त शिलबन्दी बोलपत्रहरू असार ११ गते खोलिएको र प्रचलित कानुन तथा धितोपत्रसम्बन्धी नियम-निर्देशिकाअनुसार असार १६ गते सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बाँडफाँडमा नपरेका आवेदकहरूको रकम असार १८ गते (बिहीबार)देखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने जनाएको छ । कम्पनीका अनुसार लिलामको अन्तिम मूल्य (कट(अफ प्राइस) प्रतिकित्ता ४४७.५० रुपैयाँ कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । 

विश्वभरका पाँचमध्ये दुई बीमा कम्पनीले मात्रै गर्छन् ‘अन्डरराइटिङ’ मा एआई प्रयोग

काठमाडौं । विश्वभरका बीमा कम्पनीहरूले बढ्दो प्रतिस्पर्धा र बजारमा घट्दो नाफाको दबाबबीच अन्डरराइटिङ (जोखिम मूल्याङ्कन) प्रक्रियालाई स्वचालित बनाउन एआईको प्रयोग बढाइरहेका छन् । यद्यपित हालसम्म विश्वभकरका ५ मध्ये २ वटा बीमा कम्पनीले मात्रै अन्डरराइटिङमा एआई प्रयोग गरिरहेको पाईएको छ । सोलर्स कन्सल्टिङले सार्वजनिक गरेको अध्ययनअनुसार १० प्रमुख अन्तर्राष्ट्रिय बजारमा बीमा क्षेत्रमा एआईका १२६ वटा क्षेत्र पहिचान गरेका छन् । जसमध्ये १३ वटा अन्डरराइटिङ विभागमै सञ्चालनमा रहेका छन् ।  अध्ययनले विगतमा दाबी व्यवस्थापन र वितरण भन्दा डिजिटल रूपान्तरणमा पछाडि रहेको अन्डरराइटिङ विभागमा अहिले एआई लगानी तीव्र रूपमा बढ्न थालेको देखाएको छ । एआईको बढ्दो प्रयोगसँगै बीमा कम्पनीहरूको जनशक्ति संरचनामा पनि परिवर्तन देखिएको छ । सन् २०२५ मा अन्डरराइटिङसम्बन्धी ज्ञान भएका आईटी विज्ञको माग दोब्बरले बढेको छ । अध्ययनअनुसार हाल २० प्रतिशत व्यवसायिक रुपमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले  एआईमार्फत नयाँ व्यवसायका प्रस्तावहरू स्वतः वर्गीकरण गर्ने, विभिन्न ढाँचाका कागजातबाट आवश्यक विवरण निकाल्ने तथा प्रारम्भिक जोखिम विश्लेषण गर्ने काम गरिरहेका छन् । विश्लेषकहरूका अनुसार आगामी १२ देखि २४ महिनाभित्र एआईले जोखिम व्यवस्थापन, मूल्य निर्धारण  तथा अन्डरराइटिङको दैनिक कार्यशैलीमा उल्लेखनीय परिवर्तन ल्याउनेछ ।  हाल एआई मुख्यतः डकुमेन्ट प्रोसेसिङ र प्रारम्भिक छनोटमा सीमित भए पनि कम्पनीहरूले यसलाई मूल्य निर्धारण प्रणाली र डिजिटल अन्डरराइटिङ प्लेटफर्मसँग प्रत्यक्ष जोड्ने तयारी गरिरहेका छन्  । यसले विद्यमान बीमा पोर्टफोलियोको विश्लेषण तथा जोखिम मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसबाट नियमित र दोहोरिने काम एआईले गर्ने तथा जटिल निर्णयमा भने मान्छेले नै बढी समय दिन सक्ने वातावरण बन्ने अध्ययनले उल्लेख गरेको छ । क्षेत्रअनुसार एआईको प्रयोग विधि फरक फरक देखिएको छ । अस्ट्रेलियामा कम्पनीहरू मर्जरपछि पुराना प्रणाली आधुनिकीकरण गर्दै व्यावसायिक अन्डरराइटिङलाई पूर्ण रूपमा डिजिटल बनाइरहेका छन् ।  लन्डन बजारमा स्प्रेडसिटमा आधारित कार्यप्रणाली हटाएर मूल्य निर्धारण प्लेटफर्मलाई अन्डरराइटिङ प्रणालीसँग जोड्ने काम गरिरहेका छन् । उत्तर अमेरिकामा व्यक्तिगत बीमाका लागि प्रयोग भइरहेका एआई प्रणालीलाई व्यावसायिक तथा  जोखिममा विस्तारमा भइरहेको छ ।