बीमामा सानो गल्ती ठूलो समस्या, ध्यान दिनैपर्ने यी १० कुरा

काठमाडौं । बीमा अनिश्चित जोखिमबाट सुरक्षित हुने माध्यम हो । तर, धेरैले बीमाको वास्तविक फाइदा के हो भनेर बुझेका छैनन् । अरूले भनेको र सुनको आधारमा बीमा गर्ने धेरै जना छन् । धेरैजसो बीमितले नबुझीकन पोलिसी किन्छन् । तर सर्त, विवरण र दाबी प्रक्रिया बुझ्दैनन् । यसले पछि समस्यामा पार्छ । बीमाबाट वास्तविक फाइदा लिनको लागि बीमा गर्दा नै बीमित सचेत हुनुपर्छ । सही जानकारी र सावधानीले मात्रै बीमाबाट फाइदा लिन सकिन्छ । नेपाल बीमा प्राधिकरणले आफ्नै वेबसाइटमा बीमा सचेतनासम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनामा बीमितले बीमा गर्नुअघि ध्यान दिनुपर्ने थुप्रै विषय स्पष्ट गरिएको छ ।  प्रस्ताव फाराम स्पष्ट र सही भर्नुपर्ने  बीमा प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले सम्पूर्ण विवरण  स्पष्टसँग खुलाई भर्नुपर्छ । फाराममा पेसा, व्यवसाय, उमेर, स्वास्थ्य अवस्था र आम्दानीका स्रोतहरू खुला रूपमा उल्लेख गर्नुपर्ने हुन्छ । यदि गलत वा अपूर्ण जानकारी फारममा उल्लेख गरेको छ भने बीमा दाबी अस्वीकृत हुन सक्छ । बीमा सम्बन्धी प्रस्ताव फाराम स्वयंले भर्ने  प्राधिकरणका अनुसार बीमाको प्रस्ताव फाराम बीमितले स्वयंले सही र पूर्ण विवरणसहित भर्नुपर्छ । यदि बीमित निरक्षर छ वा फाराम भर्न सक्दैन भने, तोकेको व्यक्तिले मात्र फाराम भर्न सक्ने व्यवस्था हुन्छ । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमालेखमा उल्लेखित सर्त एवं सुविधा बुझेर मात्रै बीमा गर्ने  धेरै जनाले बीमा गर्दा बीमा पोलिसी नबुझीकन बीमा गर्ने गरेको पाइन्छ । कस्तो अवस्थामा दाबी पाइन्छ, पाइँदैनदेखि लिएर सबै सर्तहरु पोलिसीमा उल्लेख गरिएको हुन्छ । तर, बीमितले कुन-कुन अवस्थामा के-के जोखिम कभर हुँदैन भन्ने कुरा नबुझ्दा पछि समस्या आउने गरेको थुप्रै उदाहरणहरू छन् । प्राधिकरणले बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त, सुविधा बुझेर मात्र बीमा गर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यकता र आम्दानीअनुसार बीमा गर्ने बीमितले आफ्नो आवश्यकता, पेशा व्यवसाय एव आम्दानीको स्रोत समेतलाई मध्यनजर गरी बीमा गर्नुपर्दछ, प्राधिकरणले भनेको छ, ‘ अन्यथा समय अवधि नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन्छ ।’ धेरैले बीमालाई नाफा कमाउने माध्यमको रुपमा बुझ्ने गरेका छन् । वास्तवमा बीमाको उद्देश्य जोखिम कभर हो । नाफा कमाउने माध्यमको रुपमा बुझेर कतिपय बीमितले आफ्नो आर्थिक हैसियत भन्दा माथि रहेर बीमा गर्ने गर्छन् र पछि निरन्तरता दिन नसक्दा बीचमै पोलिसी सरेण्डर गर्ने गरेका छन् । यसलाई न्यूनीकरण गर्नकै लागि प्राधिकरणले यस्तो आग्रह गरेको हो । बीमा शुल्क, नवीकरण र दाबीबारे स्पष्ट जानकारी बीमा गरेपछि बीमितले आफ्नोतर्फबाट सबै काम सकियो भनेर चुपचाप बस्ने गरेको पनि पाइन्छ । तर बीमा शुल्क बुझाउने समय, नवीकरण, दाबी प्रक्रियाबारे भने राम्रोसँग बुझेका हुँदैनन् । प्राधिकरणका अनुसार बीमालेख खरिद गर्नु अघि बीमा शुल्क बुझाउने समय, नवीकरण मिति, इच्छाएको व्यक्तिको नाम र दाबी रकम पाउने वा नपाउने अवस्था बारे स्पष्ट हुनुपर्छ । त्यस्तै बीमा शुल्क बुझाएपछि अनिवार्य रुपमा आधिकारिक रसिद लिनु बिर्सनु हुँदैन । बीमा कम्पनीको बारेमा स्पष्ट जानकारी बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ । प्राधिकरणका अनुसार बीमा अभिकर्ता वा अरूले भनेको आधारमा मात्रै विश्वास गरेर पोलिसी लिनु हुँदैन । आफूले कुन कम्पनीमा बीमा गर्न लागेको हो त्यसबारे बीमित आफै स्पष्ट हुनुपर्छ ।  सम्पूर्ण कागजातहरू सुरक्षित राख्ने बीमा सम्बन्धी नीति-नियमबारे सामान्य जानकारी बीमितले राखि राख्नुपर्छ । प्राधिकरणका अनुसार बीमालेख, भुक्तानी रसिद र सम्पर्क विवरणहरू सुरक्षित रूपमा राख्नुपर्दछ । प्रविधिको विकाससँगै विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमा शुल्क बुझाउन सकिने भएको हुँदा सो सम्बन्धी यथेष्ट जानकारी लिएर मात्र बीमा गर्नुपर्ने प्राधिकरणको सल्लाह छ । परिवारलाई जानकारी  बीमा गरेपछि आफ्नो परिवार वा इच्छाइएको व्यक्तिलाई बीमाको प्रकार, कम्पनीको नाम, पोलिसी नम्बर र दाबी प्रक्रिया बारे जानकारी गराउनुपर्छ । कतिपय अवस्थामा परिवार वा इच्छाएको व्यक्तिले यसबारे जानकारी नपाउँदा बीमाबाट पाउने सुविधा गुमाइरहेका हुन्छन् । 

आइजीआई प्रुडेन्सियल र काठमाडौं नेशनल मेडिकल कलेजबीच क्यासलेस सेवा सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल (एसबी हेल्थ केयर प्रालि) बीच नगदरहित (क्यासलेस) सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, आइजीआई प्रुडेन्सियलका बीमितहरूले अस्पतालमा उपचार गर्दा नगद रकम तिर्नु नपर्ने र बीमा कम्पनीले सो रकम सिधै अस्पताललाई भुक्तानी गर्ने व्यवस्था हुनेछ । यसले बीमितहरूलाई आकस्मिक अवस्थामा सहज उपचार प्राप्त गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ । सम्झौतामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका तर्फबाट जनरल म्यानेजर तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) शरण रेग्मी  र काठमाडौं नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहान्गिर अन्सारीले हस्ताक्षर गरेका हुन् । आइजीआई प्रुडेन्सियलले देशभरका विभिन्न अस्पतालहरूसँग यस किसिमका सम्झौताहरू गर्दै आएको छ । जसको उद्देश्य बीमित ग्राहकहरूलाई सहज, द्रुत र विश्वासिलो स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताइएको छ ।

सूर्यज्योति लाइफले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा सहयोग गर्‍यो डेढ करोड रुपैयाँ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले राष्ट्र र समुदायका लागि आवश्यक परेको हरेक समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा भएको ठूलो क्षतिपछि नेपाल सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ । राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सहभागी हुँदै सूर्यज्योति लाइफले उक्त कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका छन् । कम्पनीले विगतमा पनि विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रका लागि निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले हाल गरिएको यो योगदानले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।