बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल सम्पन्न भएको छ । छलफलमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख तथा उपनिर्देशक प्रीति देवले चालु आर्थिक वर्षभरि प्राधिकरणले विभिन्न सरोकारवालासँग सञ्चालन गरेका अन्तरक्रिया कार्यक्रमहरूमा उठेका प्रश्न, जिज्ञासा र जनगुनासोको समीक्षा गरिएको जानकारी दिइन् । उनले बीमा सेवाप्रति सर्वसाधारणमा देखिएका अन्योल तथा बजारका व्यावहारिक समस्याको समाधानमा बीमा कम्पनीहरूले थप सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् । कार्यक्रममा सहभागी बीमा कम्पनीहरूले चालु आर्थिक वर्षमा गरेका गतिविधि, हासिल भएका उपलब्धि तथा सामना गर्नुपरेका चुनौतीबारे समीक्षा गरेका थिए । उनीहरूले आगामी आर्थिक वर्षमा बीमाको पहुँच विस्तार, सेवा गुणस्तर अभिवृद्धि, बजारलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने तथा दाबी भुक्तानी प्रक्रियालाई अझ छिटो, सहज र प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । छलफलमा बीमा क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न नियामक निकाय र बीमा कम्पनीहरूबीच प्रभावकारी समन्वय, जनचेतनामूलक कार्यक्रमको विस्तार तथा सेवामुखी कार्यशैलीलाई थप सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालिएको थियो । नेपाल बीमा प्राधिकरणले यस्ता छलफलले बीमा बजारलाई थप व्यवस्थित, उत्तरदायी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

एशियन लाइफको २५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखिएको हो ।  यो सेयरमा  कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । कम्पनीका अनुसार निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ । निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफद्वारा बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कालीकोट जिल्लाका बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीका अनुसार कर्णाली प्रदेश पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका गाउँपालिका, महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका प्रभावित परिवारलाई स्ट्यान्डर्ड डबल सिरक तथा डसना वितरण गरिएको हो । प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराई दैनिक जीवनयापनमा केही राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । स्थानीय निकाय तथा सम्बन्धित संस्थासँगको सहकार्यमा राहत वितरण गरिएको पनि कम्पनीले उल्लेख गरेको छ । राहत वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजु सिजापतिको विशेष उपस्थिति रहेको थियो। उनले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । सिटिजन लाइफले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सामाजिक उत्थानलगायत क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई लक्षित यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।