काठमाडौं । अब विदेशी पुनर्बीमा ब्रोकरले सूचीकरण नम्बर प्राप्त भएको १ वर्षभित्र नेपालमा कार्यालय स्थापना गर्नुपर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा चौथो संशोधन गर्दै यस्तो समयसीमा तोकिदिएको हो ।
संशोधित व्यवस्थाअनुसार विदेशी पुनर्बीमा दलालले सूचीकरण नम्बर प्राप्त गरेको एक वर्षभित्र नेपालमा शाखा, सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्नेछ ।
विदेशी पुनर्बीमक र पुनर्बीमा दलालहरूले नेपाल बीमा प्राधिकरणमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने व्यवस्था छ ।
सूचीकरणका लागि आफ्नो देशको नियामकबाट प्राप्त इजाजतपत्र, अद्यावधिक वित्तीय विवरण र रेटिङ्ग प्रमाणपत्र जस्ता कागजातहरू पेस गर्नुपर्छ ।
विदेशी पुनर्बीमकले प्रत्येक वर्ष आफ्नो सूचीकरण नम्बर प्राधिकरणबाट नवीकरण गराउनुपर्छ । त्यस्तै, विदेशी पुनर्बीमकसँग कारोबार गर्दा तोकिएको न्यूनतम रेटिङ्ग अनिवार्य गरिएको छ ।
नेपालमा प्रधान कार्यालय नभएका विदेशी बीमक (विदेशी बीमा कम्पनीका शाखा कार्यालय) को हकमा नेपालस्थित कार्यालयले नै पुनर्बीमा नीति तयार गरी व्यवस्थापन समूहबाट पारित गराई लागू गर्नुपर्नेछ ।
त्यस्तै, तोकिएको रेटिङ्ग नभएका तर नेपाली बीमकसँग लामो समयदेखि कारोबार गरिरहेका विदेशी पुनर्बीमकहरूसँगको कारोबार दुई आर्थिक वर्षभित्र क्रमशः घटाउँदै लगेर बन्द गर्नुपर्ने व्यवस्था छ ।