ग्लोबल आईएमई बैंक र कतारको कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र कतारस्थित कमर्सियल बैंकबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पश्चात कमर्सियल बैंकको कतारमा रहेका ३० भन्दा बढि शाखाहरु मार्फत पठाएको पैसा ग्लोबल आईएमइको जुनसुकै शाखाबाट लिन सकिने छ । बैंकले हाल १२९ शाखाहरु, ५ वटा एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित बैंकिङ्ग सेवा, ७००० भन्दा बढि एजेन्ट मार्फत सेवा दिँदै आइरहेको छ ।  ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । कतार स्थित कमर्सियल बैंक, कतारमा रहेका वाणिज्य बैंकहरु मध्यको अग्रणी स्थानमा रहेको बैंक हो जसको धेरै शाखा संजाल रहेको छ । ग्लोबल आइएमई बैंकले रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

नाडेप लघुवित्तमा २२ गुणा बढी आवेदन, मागेको ४ करोड ८० लाख, आवेदन पर्यो १ अर्ब ३ करोड

काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आइपिओ) २२ गुणा बढि आवेदन परेको छ । संस्थाले गत आइतबारदेखि निष्कासन गरेको आईपीओमा बुधबार अन्तिम दिनसम्म १ अर्ब ३ करोड रुपैयाँको आवेदन परेको छ । संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । आईपीओमा २ लाख १९ हजारले आवेदन दिएका थिए । जसमा १० करोड ३५ लाख कित्ताको लागि आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । नविल इन्भेष्टमेन्टका अनुसार अनलाइन मार्फत १ लाख ११ हजार आवेदकले ४७ लाख ९८ हजार कित्ताको लागि आवेदन दिएका छन् ।

एनएमबी बैंकको एफपीओमा साढे २ अर्ब रुपैयाँको आवेदन

काठमाडौं । संस्थागत र सर्वसाधारणको गरी एनएमबी बैंकको एफपीओमा साढे २ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबारसम्म ६१ हजार ४५० आवेदकबाट २ अर्ब ४५ करोड ५० लाख रुपैयाँको एफपीओ खरिदका लागि आवेदन परेको हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । असार २८ गतेसम्म पनि एफपीओ बिक्री नभए संस्थापक लगानीकर्ता अवसर पाउने र त्यसपछि पनि बिक्री नभए अण्डरराइटले सकार्ने छन् । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।